समृद्ध ‘कर्णाली प्रदेश’को आधार सुर्खेत

karnali-pradesh

नेपालको संविधान २०७२ ले अबको विकासको ढाँचालाई प्रादेशिक स्वरूप दिएर पुरानो परम्परित काठमाडौं–सिंहदरवार केन्द्रित ढाँचालाई विस्थापन गर्ने सुनिश्चितता दिएको छ । यस खालको नविनतम नेपाली विकास ढाँचाप्रति शंका उपशंकाहरू पनि उब्जिरहेका छन् । केहीले नेपाली राष्ट्रियता, अखण्डता, राष्ट्रिय एकता झन् समृद्ध बन्ने आशाहरू पनि देखाउँदै आएका छन् । देशभर जिल्लागत, प्रदेशगत विशिष्टताका आधारमा समृद्धिका नाराहरू बनिरहेका छन् । नेपालभर यस मौसममा महोत्सव लागेका छन् । ‘समृद्ध सिन्धुलीको निर्माणको आधारः कृषि, पर्यटन र उद्योग क्षेत्रको लगानीमैत्री वातावरण सुधार’ यसै श्रंखलाको एउटा नारा हो । सुर्खेतमा मात्रै विविध सीमा र चुनौतीका साथ भर्खरै कर्णाली एक्स्पो–२०१६ मंसिर २३ गतेदेखि पुस ३ गते समाप्त भएको छ । यहाँ प्रस्तुत दृष्टान्तहरूले समृद्धिका आ–आफ्ना आधारहरू प्रस्तुत हुँदैछन् ।

यस आलेखमा यहाँ प्रस्तावित कर्णाली प्रदेशको राजधानी सुर्खेतको समृद्धिका गोरेटाहरूका पूर्वाधारहरू उल्लेख गर्न आवश्यकता देखिएको छ । यसका विविध पक्ष पक्षान्तरहरू छन् र विभिन्न कोणबाट बहस पैरवी गर्न सकिन्छ । सर्वप्रथम सुर्खेत तत्कालीन कर्णाली अञ्चलका पाँच जिल्ला, सेतीका अछाम र बाजुरा, राप्तीका सल्यान र रुकुम जिल्लाको प्रवेशद्धार हो । डोटी, कैलाली, बर्दिया, दाङसँग सुर्खेत सीमाना र सडकहरूले जोडिएको छ । प्रतिदिन सुर्खेत बजारघुम्दै पाँच हजार मानिसहरू पाँच सयभन्दा बढी सवारीका साधनहरूको ट्रान्जिट पोइन्ट बनेको छ । पश्चिमको चौकुने सिमेन्ट कारखाना सञ्चालनमा आएमात्र प्रतिदिन एक हजार गाडीहरू आवतजावत गर्ने मात्र छैनन्, छिमेकी जिल्लासँग मोटरबाटो जोडिएमा यो संख्या झन् बढ्नेछ । बाँकेसँग त रत्नराजमार्गले जोडेकै छ र स्तरबृद्धिमा पारिएको छ ।

रुकुम, दैलेख, जाजरकोट जत्तिकै प्राकृतिक विविधता नभए पनि सुर्खेतको समृद्धिको आधार पछिलाई उद्योग र हाललाई कृषि, पशुपालन, वन, फलफूल, बेसार, अदुवा, वनजन्य उत्पादन नै समृद्धिको आधार हो । यसअघि नै स्थापित वीरेन्द्रनगर उद्योगलाई आधुनिकीकरण, सहरीकरण तथा परिणाममुखी बनाइ ठूला उद्योगको आधार बनाउँदा सही बाटो समात्न सकिनेछ । वर्तमान स्वरूपको सुर्खेतको उद्योगक्षेत्र नामका लागि मात्रै सीमित छ । व्यापार, होटल, विद्यालय, व्यवसाय, औषधालय, जलविद्युत, पर्यटन, साना मझौला तथा लघुउद्यमीहरूलाई प्रगतिशील अवस्थामा रूपान्तरण सुर्खेत समृद्धिका आधारभूत प्रारम्भ विन्दुहरू हुन् । सिद्धार्थ होटेल र शुभ होटलले तीनतारे होटेल स्वरूप पाउँदै छन् भने होटेल नमस्तेले प्रारम्भ गरेको आधुनिक होटेल व्यवसायले विभिन्न नाममा विकसित रूप पाउँदैछन् । यसअघि सुर्खेतमा गर्न नसकिएका सभा, गोष्ठी, सेमिनार, अब सम्पन्न हुँदैछन् । पर्यटन विकासका लागि थप नयाँ गन्तव्य स्थलहरू धमाधम पहिचानमा आउँदैछन् र कुनाथरी, नयाँ गाउँ र छिन्चुमा होमस्टेहरू खोलिन पुगेका छन् ।

यसअघिका सरकारले सुर्खेतमा कर्णाली र भेरी करिडोर, प्रदेश स्तरको सुर्खेत औद्योगिक ग्राम, क्षेत्रीय अस्पताल, प्रदेश स्तरको कवर्ड हल, जडिबुटी प्रशोधन केन्द्र, मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई २३ करोड रकम विनियोजन, वीरेन्द्रनगर नगरपालिकाको व्यापक क्षेत्रविस्तार, अन्तर्राष्ट्रिय क्षेत्रीय हवाइमैदानको सम्भाव्यता अध्ययन, वर्तमान सुर्खेत विमानस्थललाई रेस्क्यु केन्द्रका रूपमा स्वीकृति, चत्रपथ निर्माण, भेरी लिफ्ट प्रणालीको अध्ययन, रत्नराजमार्गको दुईलेनमा स्तरोन्नति, धुलियाबिट–बांगेसिमल सडकलाई चारलेनमा स्तरोन्नति, सुर्खेत–दाङ, सुर्खेत–डोटी, सुर्खेत–तेलपानी–भुरिगाउँ सडक, रातानांला धमरपोखरा हुँदै जुम्ला जाने सडक, थप दुईवटा नगरपालिका, जामुकुइने पुल, हरिहरपुरमा पुल, भेडावारी सडकमा पुल, सुवाघाट पुल, निर्माणाधीन रामघाट पुलका लागि आवश्यक रकम विनियोजन गरी समृद्धिको पूर्वाधार सडक, स्वास्थ्य, सिँचाइ, शिक्षा, यातायात, पर्यटनलाई अगाडि बढाइरहेको छ ।

समयानुकुल एफएम, टेलिभिजन, समाचारपत्र प्रकाशित हुने क्रम बढोत्तरी छ । यसै क्रममा सुर्खेत, दैलेख, जुम्ला, मुगुको नाम्चेनाकासम्म जोडिने सडकलाई प्रादेशिक सडकको रूपमा रातो पुस्तकमा राखिएको छ । यस लोकमार्ग चीनसँगको व्यापारलाई विविधिकरण, सहजीकरण गर्नेछ । अपर कर्णालीसम्मको १३२ केभी विद्युत प्रसारण लाइन व्यवहारमा आएपछि सुर्खेत त्यसबाट मात्र लाभान्वित हुनेछैन । नलसिंगाडका लागि पनि बनाइने त्यस अगाडि भविस्यमा बन्ने जलविद्युतहरूमा समेत जोडिने प्रसारणलाइनले सुर्खेतलाई लाभ मिल्नेछ । पञ्चायतको अन्त्यतिर सुर्खेत–जुम्ला ८० किमी लामो रोपवे मार्ग अहिले अँध्यारोमा पारिएको छ । प्रदेश नम्बर ६ सबैभन्दा डाँडैडाँडा, काँडैकाँडा, भिरालो, पातलो बस्तीले बनेको प्रदेश हो । यो प्रदेश सबैभन्दा बढी पहाड हिमाल र अति कम समतल भूमिले बनेको छ । यसको आफ्नै विविधताका कारण सुर्खेतबाट केवलकार लगायत रोपवे सञ्चालन गरी यात्रालाई विविधिकरण गर्नु, वातावरणमैत्री तथा रोमान्चित बनाउनु पुगिन विशेषता बनेकाले पञ्चायतिकालीन अध्ययन भएको फ्रान्सले बनाइदिने भनिएको त्यो रोपवे यथासिघ्र कार्यान्वयनमा ल्याएको खण्डमा सुर्खेतको सूचकांक बढ्ने थियो ।

पर्यटन तथा धार्मिक महत्व र सम्भावना बोकेको बुलबुले उद्यानलाई सुविधा सम्पन्न नबनाउँदासम्म सुर्खेतको समृद्धि तुलनात्मक रूपमा कम हुन सक्छ । अहिलेको स्वरूप हेर्दा बुलबुलेमा भएको शौचालयहरू प्रभावकारी छैनन् । फोहोर, पानी नभएका, अपर्याप्त भएकाले तिनीहरूको आधुनिकीकरण तथा व्यावसायीकरण गराउनु प्राथमिक आवश्यकता बनेको छ । प्रवेशद्वारमा राखिएको घुम्तीले बुलबुलेको शोभालाई घटाएका छन् भने अनावश्यक झन्झटिलो व्यवहार भइरहेको छ । यसको प्रभावकारी तारवारबिना प्रभावकारी सुरक्षा हुन सकेको छैन । टाँठाबाठालाई निःशुल्क र सोझासिधालाई शुल्क भइरहेको छ । तलाउका लागि आवश्यक डुंगाहरू उपलब्ध नहुँदा जलपर्यटनको ढोका बन्द भएका छन् । अनावश्यक मात्रामा पिकनिक र ड्राइ पार्टीका कारण बुलबुले उद्यान फोहोरको डंगुर बन्न पुगेको छ ।

पक्की सडकको क्षेत्र मिचेर आफूखुशी सडकमा राखिएका घुम्ती, पसल, घर निर्माण, संरचना, सटर, भण्डार यथास्थानमा नराख्दा सुर्खेतमा कुरूपता दिनदिनै बढ्दै जाँदैछन् । महिनैपिच्छे लाग्ने खुलामैदान तथा खेलमैदानमा लाग्दै आएका मेला, महोत्सवले पार्ने नकारात्मक प्रभावप्रति जनचेतना बढ्न आवश्यक छ । यसको रखवारी गर्ने सरकारी संस्था अदालत नगरपालिका, जिविस, क्लबहरू मौन प्रायः छन् र प्लास्टिकको डंगुर बढेर प्लास्टिकको बगैंचा बन्दै छ सुर्खेतको कुहिनेपानी क्षेत्र । यसले सुर्खेती स्वभावलाई देखाउँछ । समस्या यतिमात्र होइन । माग्ने मात्र तर व्यवस्थापन गर्न नसक्ने सुर्खेती विशेषता बन्दैछ । खुला चौरमा गरिदै आएका ड्राइभिङ लाइसेन्सका हर्कतले आम नागरिकहरूको स्वास्थ्यप्रति नकारात्मक प्रभाव पारिरहेको छ । सम्बन्धित सरोकारवाला प्रहरी, नगरपालिका, जिल्ला प्रशासन, खेलकुद संस्था, अदालत सबै मौन छन् । जथाभावी गाडी चलाउन दिने क्षेत्र होइन, सार्वजनिक खेल मैदान । कमाइजत्ति व्यक्तिले खाइ मोटाउने तर राष्ट्र र नागरिक कमजोर बन्ने परिपाटी सुर्खेती भविश्यका लागि आशालाग्दा कामहरू होइनन् । पवित्र उर्भरशील जमिन जहाँ मानवता रहन्छ, त्यहाँ प्राप्ती गरी जग्गा बेच्दा भौतिक तथा पूर्वाधार अनि आवासहरू आधुनिक बन्न सकिरहेका मात्रै छैनन् भू–माफियाहरू मोटाउने र राज्य दुब्लाउने बन्दै छ । कृषिको उत्पादकत्वबाट उत्पादन बढाई देशलाई आत्मनिर्भर बनाउनै पर्ने स्थितिमा प्रतिकृल हर्कतहरू भइरहेका छन् ।

डाक्टरहरू अस्पतालमा भन्दा निजी क्लिनिकमा समय बिताउने, स्वास्थ्यकार्यकर्ताहरू संस्थामा नवसी आफ्ना निजी कामहरू गर्ने, कर्मचारीहरू सेवाग्राहीलाई बेवास्ता गरी राजनीतिक पार्टीका नेता वरपर घुम्ने चलनले सुर्खेतलाई समृद्धितिर नलगी गरिबीतिर लैजाने निश्चित प्रायः छ । विद्यालय क्षेत्र हिजोको जस्तो आस्थाको केन्द्र बन्नसकिरहेको छैन । निजी स्कुल मोटाउने सरकरी स्कुल दुब्लाउने यथार्थ परिस्थिति छ । सार्वजनिक क्षेत्र, सम्पत्ती ,साधन, मन्दिर र चिन्तनमा स्खलन आए पनि सकारात्मक क्षेत्रहरू अगाडि देखिएका छन् । नेपालकै राष्ट्रिय गौरवको निर्माणाधीन भेरी–बबइ ड्राइभर्सनको पूर्वाधार निर्माणले निर्माण स्थलको समाजमा स्वरोजगारी, आयआर्जन, कृषि उत्पादन, होटल व्यवसाय, शान्ति सुरक्षा, सामाजिक विकासका स्तरहरू उन्नतितिर लागेका छन् । यस उत्तरका एक सय पाँच किलोमिटर क्षेत्रसम्म सामाजिक विकासको क्रियाकलापहरू गरिने प्रतिबद्धता भएबाट करिब रुकुम चौरजहारीसम्म भेरी बेसिनका बस्तीको विकासमा सकारात्मक परिवर्तन भइ जीवनस्तर उकासिन पुग्नेछ । यसले पूर्वाधारको विकास गर्नेछ । पूर्वाधारको विकासले उत्पादन, उत्पादकत्व, कम लगानी, स्थानीय बजारीकरण भइ अनियन्त्रित बढ्दो सहरीकरणलाई नियन्त्रण गर्न पुगेर सन्तुलित विकास भइ प्रादेशिक विकास हुन पुग्नेछ । यसरी परियोजनाका विकासले वस्ती वस्तीले सहर र प्रदेश हुँदै नेपालकै शान्ति, उन्नति, प्रगति समृद्धि हुनपुग्नेछ ।

यो पनि पढ्नुहोस् :

सम्भव छ, समृद्ध ‘कर्णाली प्रदेश’

समृद्ध ‘कर्णाली प्रदेश’को ‘बेसक्याम्प’ सुर्खेत

समृद्ध ‘कर्णाली प्रदेश’को परिकल्पना