जाँगर हुनेलाई आँगनमै जागिर

जुम्ला घर भएकी ५५ वर्षीया कलमदरी बुढालाई घरखर्च चलाउन निकै मुस्किल भयो । अक्षर नचिनेकाले उनले भनेजस्तो जागिर पाउन सम्भव भएन । उमेर ढल्कदैं जाँदा भारी बोक्न नसक्ने भइन्, कमाईकाज पनि हुन छोड्यो । छाक टार्ने उपाय खोज्न उनी सुर्खेत झरिन् । सुर्खेत आएपछि उनका दिन फेरिए, छाक टार्न मुस्किल हुने उनी अहिले भने बचत गर्न थालेकी छन् ।

काम खोज्दै जाँदा उनी वीरेन्द्रनगरको चिसापानीस्थित रामजानकी दुना–टपरी लघुउद्यमी समूहको सम्पर्कमा पुगिन । बुढेसकालमा पनि काम गर्ने जाँगर देखर समूहले उनलाई काम दियो । हिजोआज बिहानै उठेर कलमदरी त्यही टपरी उद्योगमा जान्छिन् । जंगलबाट टिपेर ल्याएको पातबाट आकर्षक दुना र टपरी बनाउँछिन् । त्यसवापत समूहले उनलाई मासिक सात हजारसम्म तलब दिन्छ । कलमदरी भन्छिन्, ‘जाँगर भए जागिर खोज्न टाढा जानुपर्दो रहेनछ, आँगनमै बसेर पनि मज्जाले आम्दानी भएकै छ । काममा पनि दुःख छैन, अहिले त घरखर्च कटाएर समूहमा पनि बचत गरेकी छु ।’ दुना र टपरी बनाउने काममा लागेपछि आफ्नो जीवन नै फेरिएको उनले बताइन् ।

ठूलो रकम लगानी गर्न नसक्ने र कमजोर आर्थिक अवस्था भएकाहरूका लागि यो टपरी उद्योगले रोजगारी दिने गरेको छ । उद्योगले स्थानीय सामुदायिक वनसँग १० वर्षका लागि सम्झौता गरेर जंगलबाट निःशुल्क पात संकलन गर्दै आएको छ । जंगलबाट संकलन भएको सालको पातबाट उद्योगले विभिन्न आकारका दुना र टपरीहरू उत्पादन गरिरहेको छ । उद्योगमा २ जना पुरुष र ११ जना महिलाहरू कार्यरत छन् । दिन प्रतिदिन दुना र टपरीको माग बढ्दै गएको र माग अनुसार उत्पादन गर्न नसकिएकाले थप कर्मचारी भर्ना गर्ने तयारी उद्योगले गरेको छ । उद्योग सञ्चालक समितिका सचिव रामबहादुर गुरुङ भन्छन्, ‘जंगलमा खेर जाने पातले धेरैको चुल्हो बलेको छ, दुना र टपरी बनाएरै धेरैले परिवारको खर्च धानेका छन् । उद्योगले रोजगारी दिएपछि महिलाहरू बढी लाभान्वित भए, हामी अरु पनि कर्मचारी थप्ने तयारीमा छौं ।’

उद्योगमा हाल पाँच वटा टपरी बनाउने मेशिन छन् । यो उद्योगले उत्पादन गरेका दुना र टपरी म्याग्दी, कोहलपुर, कालिकोट र जिल्लाभित्रै पनि खपत हुने गरेका छन् । मागअनुसार उत्पादन गर्न नसकिएको भन्दै उद्योगले दुना र टपरीको बजार राम्रो रहेको जनाएको छ । विवाह, व्रतबन्ध, मृत्युसंस्कार र अन्य समारोहमा पछिल्लो समय पातबाट बनेका दुना र टपरीको माग बढ्दै गएको हो । यस्तै चाट पसल र होटेलहरूलेसमेत दुना र टपरीको अग्रिम माग गर्दै ग्राहकहरू उद्योगमै आउने गरेको सचिव गुरुङको भनाइ छ । उद्योगले दैनिक चार हजार थान दुना र टपरी उत्पादन गर्दछ । उद्योगमा काम गर्नेले प्रतिव्यक्ति कम्तीमा पनि ६ हजारसम्म आम्दानी गरिरहेका छन् । यस्तै मासिक करिब ६० हजार भन्दा बढी मूल्यको दुना र टपरी बिक्री हुने गरेको उद्योगले जनाएको छ । २०७१ सालमा स्थापना भएको यो उद्योगले थप २० जना कर्मचारी राख्ने तयारी गरेको छ । यसले न्यून आय भएका र काम गर्ने जाँगर भएका स्थानीय महिलाहरूलाई रोजगारी उपलब्ध हुनेछ ।

उद्योगमा काम पाएपछि आफूलाई घरखर्च चलाउन सजिलो भएको स्थानीय शोभा नेपालीले बताइन् । उनले भनिन्, ‘आँगनमै उद्योग छ, कामका लागि टाढा जानु पर्दैन । घरको काम गर्दै उद्योगमा काम गर्न पाएका छौं, यसले हाम्रो घरखर्च पनि चलेको छ ।’ पहिला आफूहरू कामको खोजीमा भौंतारिएको स्मरण गर्दै उनले हिजोआज सहज भएको बनाइन् । शोभा जस्तै उद्योगमा कार्यरत अन्य महिलाहरूले रोजगारी पाएका छन् । काम गर्ने जाँगर भए रोजगारी घरमै पाउन सकिने भन्दै उनीहरूले जंगलका पातबाटै परिवारको खर्च टरेको र कसैसँग सहयोग माग्नु नपरेको सुनाए । स्थानीय महिलाहरूलाई रोजगारी दिएको यो उद्योगले अब जेनेरेटर किन्ने योजना बनाएको छ । लोडसेडिङका कारण मेशिन चलाउन समस्या भएपछि जेनेरेटर खरिद गर्न लागिएको हो । सुर्खेतमा यो बाहेक अन्य पनि टपरी उद्योगहरू छन् । जहाँ आर्थिक अवस्था कमजोर भएका तर काम गर्ने जाँगर भएका व्यक्तिहरूले कम परिश्रममा नै आम्दानी गर्न सफल भएका छन् ।

प्रकाशित मितिः   २० पुष २०७३, बुधबार ११:५४