समृद्ध ‘कर्णाली प्रदेश’को ‘बेसक्याम्प’ सुर्खेत

deepakहिजो आज नेपाली शब्दसागरमा बहुप्रचलित बनेको शब्द छ, समृद्धि । प्रस्तावित कर्णाली प्रदेशमा त भन् तीव्र रूपमा अभ्यासमा छ । धनी हुनु समृद्धिको अर्थ हैन । विकास, सुधार, प्रगति, उन्नति, रूपान्तरण पनि हैन समृद्धिको यथार्थ अर्थ । समृद्धिको अर्थ शान्ति, सद्भाव, एकता र सम्पन्नतामा आधारभूत रूपमा अडिएको छ । मानवअधिकार, उच्चमानवता र विवेकपूर्ण प्रयोगको जगमा समृद्धि उभिन्छ । हामीलाई सिंगापुर, मलेसिया, स्वीजरल्याण्ड चाहिएको हैन, बरु हाम्रै सगरमाथा नेपाल चाहिएको छ, जहाँबाट संसार देख्न पाइयोस् । समृद्धिका आफ्नै भू–धरातलहरू छन् र चरणहरू हुन्छन् । हाम्रो प्रदेशको समृद्धिले व्यवहारतः विकास, बजार, श्रम, प्रविधि, सीप, स्वभाव, पूर्वाधार, भेद्भाव, सुशासन, प्रशंसा, सम्मानबाट यात्रा प्रारम्भ गर्दछ । यस प्रदेशका जिल्ला–जिल्लाका निजी पहिचानका धर्तीबाट अघि बढ्छ । यस आलेखमा सुर्खेत जिल्लाको समृद्धिका धरातलहरू चिनाउने प्रयास गरिएको छ ।

अब हामी लागौं विकास र सुर्खेतको वस्तुस्थितिमा । विकास निरन्तर चलिरहने प्रक्रिया हो । अर्थात् चालीसको दशकमा रत्नराजमार्ग धुलेबाटो थियो, अहिले डबल लेनको स्तरमा उक्लिएको छ । समयक्रममा चारलेनको माग उठ्नेछ । विकास न्यूनतम साझा स्वार्थ र आधारभूत आवश्यकता हो । विकास प्रकृतिक साधन स्रोत तथा मानव चेतना विना असम्भव प्रायः छ । अर्थात् धुलियाविट बाङ्गेसिमलका चारलेनको बाटोमा नदीजन्य पदार्थहरू बिछ्याइएको छ । डोजर, जेसीभी, लोडर र प्रविधिहरू लागेका छन् । विकास वातावरणमैत्री दिगो, भरपर्दो, गुणस्तरीय, पहुँचयुक्त, सुरक्षित, समर्पित, तीव्रगामी हुनुपर्छ भन्ने मान्यता छ । विकास सन्तुलित, संयमित, शिष्ट र शालिन पनि हुनुपर्छ भनिदैं छ । तर जनताको त्रयशक्ति नभएका कारण २०३४/०३५ सालमा वीरेन्द्रनगर वडा नम्बर ६ मा आएको बिजुली अहिलेसम्म पनि जोड्न नसक्ने मनिसहरू थुप्रै छन् । टुक्की बालेर बत्तीमुनीको अँध्यारो जीवनस्तर गुजार्न बाध्य छन् । यसकारण विकास विकासमा नै सीमित राख्नाले सामाजिक भेद बढ्दैछ । यसप्रकारको सामाजिक अनुभवबाट अबको विकासको पहुँच सिमान्तकृत समुदायमा नपुगेमा विश्वमै सर्वाेत्कृष्ट नेपालको संविधान–२०७२ विकल्प खोजिने निश्चित छ ।

सुर्खेत जिल्लाको समृद्धिका सन्दर्भमा आजको दिनसम्म सुर्खेत खाद्यान्नमा आत्मनिर्भर जिल्ला हो । अदुवा, बेसार, मासु, दुग्धजन्य उत्पादन सुर्खेतबाट बाहिर जान्छ । बार वण्डाल, अठार खण्डाल या जर्बुटा, बावियाचौर, दमार, करैखोला सिम्ता, गुराँसे जस्ता स्थान नामहरूले सुर्खेत जैविक विविधता सम्पन्न जिल्ला हो मात्र भन्न सकिदैंन ठूला नदीहरू कर्णाली, भेरी तथा बबईसहित अन्य खोला खाल्सी, फाँट, काठ, सिमसार, ताल ओस्यानले पनि सुर्खेतलाई जैविक विविधताको क्षेत्र हो भन्ने सूचकांक उपलब्ध छन् । पुच्मा, रेम्चा, तेलपानी, धनबोट, गोठीकाँडा, गर्पन, सलकोट, भोक्तडी, गाइनेकाँडा, लखरपाटा पश्चिमी सुर्खेतका पूराना बस्तीहरू हुन् । बोल, बासपानी, तातापानी, घाटगाउँ, जामुकुइने, चेपाङ, तरंगा, बावियाचौर, बड्डिचौर पश्चिमी सुर्खेतका ठूला–ठूला फाँटहरू हुन् । वीरेन्द्रनगर, कल्याण, दशरथपुर, रामघाट, छिन्चु, मेहेलकुना, सहारे, राकम पूर्वी सुर्खेत ठूला वस्तीहरू हुन् । गुर्भाकोटको प्रभावित क्षेत्र तथा फलाँटे, गोठीकाँडा, वीरेन्द्रनगर धुम्नेकाण्ड यहाँका ठूला राजनैतिक घटनाहरू छन् ।

पश्चिमदरा, चिङ्गाडदरा तथा सिम्तादराको आ–आफ्नै भाषा, भेषभूषा, संस्कृतिकला चार्डवार्डहरू छन् । पश्चिमको भोस्सो आफ्नै परम्पराको संस्कृति हो । सुर्खेतमा अहिले पनि छाउपडि प्रथा कायमै छ । सामाजिक क्यान्सरको रूपमा रहेको छुवाछुत, भेदभाव तथा हेलोहोचीमा सुर्खेती समाज विभक्त छ । सिम्ताली लोकगीत, भाषा, लोकनाटकमध्येको सतिकलसाको नाटक नेपालकै प्रतिनिधि सम्पदाहरू हुन् । एक्काइस, बाइस, तेइस साल अघिका सुर्खेती काठका बस्तीहरू औंलो उन्मूलनपछि फाँटमा झरेपछि खोच, उपत्यका र सहरमा बस्ती बाक्लिदै आएको छ । जलयातायात, प्याराग्लाइडिङ रकक्लाइमिङ, पर्यटन, पर्यापर्यटन, गढी, कोट, राज्य, काँडा सुर्खेतका विविध खालका अध्ययन भ्रमण क्षेत्रहरू हुन् । सिम्तादह, भोक्तडीताल, बुलबुलेताल, जाजुरादह, बराहतालका आफ्नै आकर्षणका केन्द्रहरू छन् । नेपालकै वनक्षेत्रमा दोस्रो ठूलो जिल्ला सुर्खेत बन्नुले मात्र हैन तीन सय पैंसठ्ठी किसिमका प्रजातिका बोटबिरुवा जडिबुटी पाइनुले सुर्खेत वनमा सम्पन्न छ मात्र भन्न सकिन्न पश्चिम गुठुसम्म इष्टइन्डिया कम्पनीले रेल ल्याएर ठूला–ठूला गावका कडीहरू इन्डिया हुँदै बेलायत लाग्नुले सुर्खेतले बेलायतको समृद्धिमा योगदान पु¥याएकाले त्यसको क्षतिपूर्ति बेलायतसँग माग्नुपर्ने ऐतिहासिक तथ्यहरू छन् ।

‘सुर्खेत बुलबुले ताल, मै सानी हुनाले छुट्यो माया जाल’, ‘घर त मेरो जर्बुटा’, ‘सलल बगेको भेरी दोभान’, ‘ख्यालख्यालैमा बित्यो जीवन’, ‘आँप खोली बगर’ जस्ता रेडियो नेपालका बज्ने गीतका पृष्ठभूमि तथा सन्देशहरूमा सुर्खेतले योगदान गरेको छ । प्रेमदेव गिरी, महेशप्रसाद गिरी, बालकृष्ण मानन्धर, भीमबहादुर कार्की, कुलमान नेपाली, गणेशभक्त गौतम, लीलाघर गौतम, दिनेश गौतम, गंगा केसी जस्ता सुर्खेती कलाकारहरूले सुर्खेतका समृद्धिको सम्वद्धकको काम गरेका छन् ।

सुर्खेतबाट प्रकाशित साझा बिसौनी, काँक्रेविहार, युगआव्हान, सुर्खेतपत्र, लोकमञ्च लगायत १० भन्दा बढी पत्रिकाहरू, रेडियो नेपाल क्षेत्रीय प्रसाण केन्द्र सुर्खेत, समावेशी , सुनगाभा लगायतका टेलिभिजन, बुलबुले, जागरण लगायतका एफएमहरूले सुर्खेती प्रतिष्ठामा महत्वपूर्ण योगदान त गरेका छन् । हर्रेदेखि तेलपानी हुँदै गाइनेकाँडाको जंगल यात्रा पर्यटन विकासको थप साधन बन्नसक्छ भन्ने देउतीबज्यै, सिद्धपाइला, लाटीकोइली लगायतका थुप्रै देवीमन्दिरहरूले धार्मिक काँक्रेविहारले, पुरातात्विक ऐतिहासिक, धार्मिक, पर्यटनमा महत्वपूर्ण योगदान गर्न सक्छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षा क्याम्पस तथा आधा दर्जनबढी निजी स्रोतका क्याम्पसका साथै करिब सयबढीका निजी बोर्डिङ्ग स्कुलहरूले अनि तीनसयबढी सामुदायिक विद्यालयहरूले सुर्खेतको पहिचान दिने मात्र हैन, समृद्धिको जगहरू बनाइदिएका छन् । प्राविधिकस्तरमा निजीस्तरका सेडा लगायत थुप्रै प्रविधि र शिक्षालयहरूले सुर्खेती कनेक्टीभिटीको काम गरेर सुर्खेतमा स्तरीय शिक्षालयहरूले खोल्न सकिने प्रचूर सम्भावना दिएका छन् । भाषिक विविधता, सांस्कृतिक सम्पन्नता, जैविक विविधता प्राकृतिक सौन्दर्यता, १२ घण्टा दिन र रातका स्थितिले सुर्खेतलाई वायुऊर्जा, जलऊर्जा, जैविकऊर्जा, वायोऊर्जाको विकासको सम्भावना दिएका छन् । विश्वसनीय सहकारी आन्दोलन, वित्तीय बैंकहरूको स्थापना, सामुदायिक तथा कबुलियति वन र निजी वन तथा खेलकुदको उत्कृष्ट सम्पादनले समृद्ध सुर्खेत बनाउन सक्ने सूचकहरू उपलब्ध छँदैछन् ।

सुर्खेतमा सबै प्रकारका दलहन, तेलहन, खाद्यबाली मात्र लाग्दैन चैते धान, घैया धान तथा आयमा आत्मनिर्भर बन्दैछ । टिमुर, ओखर, रिठ्ठा, चिउरी, साल, साज, मेवा, अम्बा, कटहर, किमु, सुन्तला, बाँस विशेषमा आधारित लघु, साना तथा मझौला उद्योगहरू खोलेर रोजगारीको अवसर अभिवृद्धि गर्न सकिनेछ । यहाँको कला, संस्कृति, भाषा, लिपी, साहित्य, भूगोल प्रयोग गरी आयआर्जनको बढोत्तरी गर्न सकिनेछ ।

आजभन्दा आठ सय वर्ष अगाडि काँक्रेविहारमै लेखिएको भनिएको हाल चीनमा रहेका अभिरामयलङ्कार नामक ग्रन्थको शोधखोज गरी सिंजा राज्यको हिउँदराज्यकालीन तलीचौहानचौर अर्थात् हालको वीरेन्द्रनगरको तत्कालीन राजनैतिक, आर्थिक, साहित्यिक, कानुनी, प्रशासनिक, सैनिक, धार्मिक, भाषिक विषयमा प्रशस्त खोज्न सकिने सूचकांकहरू छन् । कानुनका क्षेत्रमा सुर्खेतीहरू वरिष्ठ वकिलसम्म पुगिसकेका छन् भने राजनीतिक क्षेत्रमा महत्वपूर्ण मन्त्रालयसमेतको सफल नेतृत्व गरिसकेका आगामी संघीय संरचनालाई सफलतापूर्वक समृद्ध प्रदेश बनाउने संकेतहरू मिलेका छन् । यसरी आधुनिक नेपालको विकासमा सुर्खेती पार्टी, संस्था, व्यक्ति लगायत सबै क्षेत्रबाट सक्रिय भूमिका खेलेको कुरामा दुई मत छैन । अब नेतृत्वले प्राकृतिक, सांस्कृतिक, भावनात्मक क्षितिजलाई उदार, विराट, खुल्ला, व्यवहारिक, समसामयिक बनाइ आफूलाई अपटुडेट नबनाएको खण्डमा भावी संवेदनशील, तार्किक, बौद्धिक नवीन समाजको सफल नेतृत्व दिन सकिने छैन । यहाँ उल्लेख गरिएका राजनैतिक, आर्थिक, प्राकृतिक, पर्यापर्यटन, साहित्यिक, शैक्षिक, विकासका सुर्खेती धरातललाई विकसित गरी प्रबद्र्धन गरी, प्रचारप्रसार र न्यायिक वितरणलाई व्यवहारिक रूप दिएको खण्डमा यसले बाँकी जिल्ला, प्रदेश र नेपाललाई नै माथि उठाउन सक्छ । अन्यथा बढ्दो जनसंख्याको परिवर्तनशील चाहनाको सम्बोधन नभए सुर्खेत पनि पत्रपत्रिकामा समाचार बनेर देखिने विदेशका अशान्त स्थान हुन केही समय लाग्ने छैन ।

(लेखक नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद हुन् ।)

प्रकाशित मितिः   १२ पुष २०७३, मंगलवार १२:३७