एक वर्षमा डेढ सय नवजात शिशुको मृत्यु

सुर्खेत जिल्लामा गत आर्थिक वर्ष २०७२/०७३ मा मात्रै एक सय ५० जना शिशुहरूले मृत्युवरण गरे । जसमा एक सय ३१ जना शिशुको जन्मने बित्तिकै मृत्यु भयो । त्यस्तै जन्मेको २८ दिनभित्रमा मृत्यु शिशुको संख्या १९ छ । यो तथ्यांकले जिल्लामा नवजात शिशुमृत्युको डरलाग्दो अवस्थालाई चित्रित गर्दछ ।

जिल्लामा पछिल्लो समय बालबालिकाको स्वास्थ्यमा सुधार भएको तथ्यांक सार्वजनिक भइरहँदा नवजात शिशुमृत्यु दरमा भने उल्लेखनीय सुधार हुन सकेको छैन । अध्ययनहरूका अनुसार नवजात शिशु मृत्युको प्रमुख कारणमध्ये एक संक्रमण हो । त्यसैगरी बालविवाहले पनि शिशु मृत्युदर बढाएको चिकित्सकहरू बताउँछन् । बालविवाहले गर्दा उमेर नपुग्दै बालिकाहरू बच्चा जन्माउँदा शिशु मृत्युको सम्भावना अधिक हुने उनीहरूको भनाइ छ । सुर्खेत पनि अधिक बालविवाह हुने जिल्लाहरूमा पर्दछ । बालविवाहले आमा र शिशु दुवैको स्वास्थ्य जोखिममा पार्ने बताइन्छ । खासगरी नवजात शिशुहरू बिरामी हुँदा स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसम्म जाने प्रचलन नभएको उनीहरू बताउँछन् ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका खेमराज उपाध्याय जनचेतनाको कमीका कारण पनि शिशुमृत्यु हुने गरेको बताउँछन् । उपाध्यायले शिशु मात्र होइन आमाको ज्यान पनि जोखिममा रहेको हुँदा प्रभावकारी कार्यक्रम ल्याउन जरुरी रहेको उल्लेख गरे । यस्तो जोखिम न्यूनीकरण गर्न अबका कार्यक्रमहरू शिशु र आमाको स्वास्थ्यका लागि हुनुपर्ने उनको भनाइ थियो । उनले सुर्खेत जिल्लामा शिशु मृत्युदरलाई अपेक्षा गरे अनुरूप घटाउन नसकिएको बताए । यद्यपि विगतकोभन्दा घटेको उनको भनाइ थियो । उनले भने, ‘नेपालमा प्रत्येक वर्ष प्रतिहजार २३ शिशुको मृत्यु हुने गरेको छ, सुर्खेतमा पनि शिशुमृत्युको संख्या ठूलो छ तर यसलाई न्यूनीकरण गर्दै लैजान जरुरी छ ।’

नेपालमा प्रतिवर्ष प्रति एक हजार नवजात शिशुमध्ये २३ को मृत्यु हुने गरेको छ । यो दर कम गरी सन् २०३५ सम्ममा प्रतिहजार १३ भन्दा पनि थोरै पुयाउने उद्देश्यका साथ परिवार स्वास्थ्य तथा बाल स्वास्थ्य महाशाखाको संयुक्त नेतृत्वमा कार्ययोजना तयार पारिसकेको छ । मुख्य चार वटा रणनीतिमा आधारित कार्ययोजनामा स्वास्थ्य सेवाको समतामूलक सदुपयोग, बहुक्षेत्रीय पहुँच, गुणस्तरीय सेवा र सुधारमा जोड दिइएको छ । नवजात शिशुमृत्युदर घटाउन खोपमा सबै क्षेत्र र वर्गका बालबालिकाको सहज पहुँच, मातृ शिशु स्याहार लगायतका विषयमा जोड दिने लक्ष्य कार्य योजनाले राखेको छ ।

सुर्खेतमा सेभ द् चिल्ड्रेन र जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा समुदायमा आधारित नवजात शिशु तथा पाँच वर्षमुनीका बालबालिकाका निम्ती विपद् परिस्थितिको व्यवस्थापन र तयारी कार्यक्रम लागू समेत गरिएको छ । उक्त कार्यक्रम लागू भएपछि बालबालिकाको स्वास्थ्यमा सुधार आएको दाबी समेत गरिएको छ । सेभ द् चिल्ड्रेनका दिपेन्द्रसिंह ठकुरीले बाढी प्रभावित क्षेत्र लगायत सुर्खेतका १५ वटा गाविसमा कार्यक्रम सञ्चालन गरिएको बताए । कार्यक्रम लागू भएका गाविसमा पहिलेको तुलनामा अहिले बालबालिकाको स्वास्थ्यमा सुधार आएको उनको भनाइ थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका बालस्वास्थ्य कार्यक्रम संयोजक अमर रानाले कार्यक्रम लागू हुनुभन्दा पहिले श्वासप्रश्वास सम्बन्धीका बालबालिका एक हजार ८८ थिए भने कार्यक्रम लागू भइसकेपछि त्यो संख्या घटेर आठ सय पाँच भएको बताए । त्यस्तै झाडापखालाले बिरामी हुने बालबालिकाहरू पहिले आठ सय २४ थिए भने अहिले त्यो संख्या घटेर सात सय २२ भएको छ । निमोनियाबाट बिरामी हुने बालबालिकाको संख्या पहिला दुई सय ८० थियो भने अहिले एक सय ४८ भएको छ । यो तथ्यांकलाई हेर्ने हो भने पनि जिल्लामा बाल स्वास्थ्यमा सुधार हुँदै गएको देखिन्छ । रानाले बाल स्वास्थ्यमा सुधार आउनु नै कार्यक्रमको उपलब्धि रहेको बताए ।

प्रकाशित मितिः   १२ पुष २०७३, मंगलवार १२:१०