समृद्ध ‘कर्णाली प्रदेश’को परिकल्पना

deepak

नेपालको संविधान २०७२ अनुसार प्रदेश नम्बर ६ मा १० वटा जिल्ला समावेश छन् । संविधानको अनुसूची ४ ले प्रदेश नम्बर ६ मा राप्तीका रुकुम (आधा), सल्यान, भेरीका जाजरकोट, सुर्खेत, दैलेख र कर्णाली अञ्चलका सबै जिल्लाहरू संलग्न गरे यता अनेक कोणहरूबाट प्रदेशको समृद्धिका परिकल्पना र प्रयासहरू हुन लागेका छन् । नेकपा एमालेले अघिल्लो साता आफ्ना झण्डै पाँच सय कार्यकर्ताबीच यो प्रदेशको समृद्धिको परिकल्पना र प्रयासका गतिविधि सार्वजनिक ग¥यो । यसका लागि एमालेले तीन महिनाअघिदेखि नै अभ्यास गरेको थियो । सम्भवतः प्रदेशका सबैको प्रतिनिधित्व हुने गरी विभिन्न दश उप–शीर्षकमा विषयविज्ञ मनोनयन गरियो । विज्ञहरूको सुझाव र पार्टी नेताहरूबीचको छलफलबाट आएको निश्कर्षलाई समृद्धिको प्रारम्भिक घोषणापत्रमार्फत् सार्वजनिक भयो ।

घोषणापत्रले क्रान्तिको राजनीतिक चरण मूलतः सम्पन्न भइसकेको र आर्थिक, सामाजिक रूपान्तरण नै क्रान्तिको भावी कार्यभारको रूपमा यस प्रदेशको आर्थिक विकास तथा समृद्धिको लक्ष्यमा अघि बढ्ने उद्घोषका लागि प्रदेशको नाम र राजधानी, प्रदेश निर्माण सन्दर्भ, वर्तमान अवस्था, चुनौती र सम्भावना, समृद्धि सम्बन्धी एमालेको कार्यक्रमभित्रै यातायात, सहरी तथा बस्ती विकास, उद्योग, पर्यटन, ऊर्जा, कृषि तथा पशुपंक्षी विकास, स्वास्थ्य, शिक्षा, भाषा सहित्य र संस्कृति विकासको संक्षिप्त तर सघन कार्यसूची उल्लेख गरेको छ । विभिन्न जिल्लाका पार्टी प्रतिनिधि कार्यकर्ताहरूले परिशोधन गरेको घोषणापत्र उल्लेख्य घटना हो ।

त्यसलगत्तै अर्को साता सुर्खेत उद्योग वाणिज्य संघले वीरेन्द्रनगरमा कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना ग¥यो । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको मेला मंसिर २३ गतेदेखि सञ्चालन भइरहेको छ । कलाका सामग्री तथा औद्योगिक वस्तुहरू प्रदर्शन गरी व्यापार अभिवृद्धि गर्न तथा बजारीकरण बढाउन यस्ता एक्स्पोहरू गरिदैं छन् । आर्थिक क्रियाकलाप सञ्चालनका लागि यस्ता एक्स्पोहरू गरिए पनि सामाजिक रूपान्तरणका लागि पार्टीहरू नै केन्द्रमा रहेका हुन्छन् । व्यवहारतः पार्टी नै सरकार सञ्चालन तथा नेतृत्वको प्रमुख साधन हो । उद्योग वाणिज्य संघले अघिल्लो साता एमालेले सम्पन्न गरेको घोषणापत्रको अन्तरवस्तुलाई समर्थन गरेको अवस्था हो भन्न सकिन्छ । यस आधारबाट एमाले नै नेपालको नेपाली जनता र जीवनपद्दतिको नजिकको दूरद्रष्टा र भरपर्दो अनि व्यवहारिक साथी हो भन्न सकिन्छ । वर्तमान नेपाली भाषाको समृद्धि सबैभन्दा बहुप्रायोगिक शब्द बनेको छ । एमाले कर्णाली प्रदेशले पनि ‘नेकपा एमालेको उद्घोषः सुन्दर र समृद्ध ६ नम्बर प्रदेश’को नारा बनाएको छ । त्यसो भए के हो त समृद्धि ? समृद्ध नाम हो समृद्धि विशेषण पद हो । समृद्ध प्रदेश बनाउने कर्तालाई सम्वद्र्धक भनिएको छ । राम्ररी बढाउने सम्वद्र्धक हो । कर्णाली एक्स्पोले औद्योगिक सामग्री तथा कलात्मक वस्तुहरूको बजार अभिवृद्धि गरी आर्थिक समृद्धिका पाइला चलाउन सक्छ । यसले प्रधानमन्त्रीसँग राखेका १४ वटा मागहरू एमाले प्रदेश नम्बर ६ को घोषणापत्र भन्दा बाहिरका क्षेत्रहरू केही छैनन् । तिनै यातायात, पर्यटन, धार्मिकस्थल, चौकुने सिमेन्ट उद्योग, लखरपाटा चुन उद्योग, मेडिकल कलेज, औद्योगिक ग्राम, कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन, अपर कर्णाली र तिलाकर्णाली, मुगु रारा ताल भन्दा बाहिर मागपत्र गएन मात्र हैन रुकुम जिल्लालाई त छोएकै छैन । सम्भवतः रुकुम जिल्ला पनि कर्णाली प्रदेशमा छ भन्ने हेक्का सुर्खेत उद्योग वाणिज्य संघलाई थाहा पनि छैन होला ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भाषणका क्रममा त्यो भन्दा कम सूचनाहरू दिनाले माओवादी झन् प्रदेश समृद्धिका लागि अनभिज्ञ लाग्यो । क्षेत्रगत व्यवसाय तथा राज्यको बागडोर समातेका पार्टी तथा पार्टी कार्यकर्ताहरूका बीच ज्ञान न्यूनताले एमाले नै जनताबीच छ । अबको समृद्धि र सुन्दरताको मियो एमालेले नै गर्न सक्छ भन्ने नजिर राख्न सकिन्छ । यति हुँदाहुँदै पनि एमालेको प्रदेश नम्बर ६ को घोषणापत्रमा केही कमी भएका सूचनाहरू रहेका छन् । समृद्ध प्रदेशका सन्दर्भमा समाजवादी युग नआउञ्जेलसम्म त्यस लक्ष्य प्राप्तिका लागि एमालेले आधारभूत सकारात्मक कामहरू गर्नेछ । एमालेको समृद्धि केवल आर्थिक विकास मात्र होइन, समाजको राजनैतिक, आर्थिक, सामाजिक, संवेगात्मक, सुरक्षात्मक प्राप्ति र स्थापना हो । यसका लागि सीमान्तकृत समुदायका मानिसहरूका सर्वाङ्गीण विकास, समृद्धिको पहिलो खुड्किलो हो । प्रदेशका उपलब्ध प्रचूर सम्भावनाहरूको समान वितरण तथा पहुँच हो । सबै सूचकाङ्कहरू घोषणापत्रमा अटाउन नसके पनि केही मूलभूत प्राथमिक रूपान्तरणहरू परेको देखिएका छैनन् ।

सबभन्दा पहिलो त कर्णाली प्रदेश नेपालकै बहुपति, बहुपत्नी प्रथा रहेको क्षेत्र हो । बालविवाह, अनमेल विवाह र जारीप्रथा यो प्रदेशमै कायम छ । महिलाहरू पशुसरह जारी प्रथामा किनबेच भइरहेको मध्यकालीन समाज व्यवस्था अन्त्य पहिलो आवश्यकता हो । यतिमात्र हैन कर्णाली क्षेत्रमा सरदर ४० वर्षमा कुपोषितका कारण महिला मर्न गइ नाबालक केटाकेटी टुहुरा बन्न गएका छन् । आमा सानैमा गुमाउनु त छँदैछ टुहुरा बालबालिकाले सहनुपरेको भेद्भाव र आमा टोकुवाको कथित अमानवीय लाञ्छना सहन बाध्य बालबालिकाको लागि विशेष थप कार्यक्रम ल्याउनै पथ्र्यो ।

दोस्रो, तत्कालीन जुम्ला बाइसे राज्यमा विश्वमै नपाइने भोटे जातको कुकुर उपलब्ध हुँदैछ । र विश्वमा पैठारी हुने अवस्था छ । कस्तुरी, झारल, नाउर, घोरल जस्ता वन्य पशुहरू तथा डाँफे, मुनाल, हाब्रे, लुइचे जस्ता पंक्षीहरूको विकसित स्थितिमा वैज्ञानिक तरिकाले पालनपोषण, संरक्षण, सम्वद्र्धन र विकास प्रदेश समृद्धिको थप कार्यभार बन्नुपर्छ । बाइसेराज्य मध्येका उन्नाइस राज्यहरू वर्तमान प्रदेश नम्बर ६ मै रहेकाले यिनको राजनैतिक, आर्थिक, सामाजिक, न्यायिक, प्रशासनिक अध्ययन अध्यापनका लागि घोषणापत्र मौन रहेको छ । यसैगरी देउडा गीतको राजधानी मानिने प्रदेशमा यसैलाई छुटाइएको छ ।

माइनस १० डिग्री सेल्सियसमा बस्नसक्ने जातिको व्यापक अध्ययन आवश्यक छ । ओली, खड्का र डाँगी, क्षेत्री आदिको उद्गमस्थल मात्र हैन प्रदेश नम्बर ६ सापकोटा, गौतम, लम्साल, खनाल, दाहाल, चालिसेका आदि पुर्खा बसेको क्षेत्र पनि यही भएकाले शाही रुलेल, रास्कोटी, सूर्यवंशी लगायत सबै शाही ठकुरी तथा मल्ल ठकुरीको उद्गमस्थल पनि यही प्रदेश भएकाले समाजशास्त्रीय, मानवशास्त्रीय कोणबाट पार्टीले अध्ययनको थालनी गर्नुपर्छ । यसैगरी लोकसाहित्यलाई रूपान्तरण, सञ्चालन र प्रदर्शन गर्ने अन्तरआत्मादेखि नै लागेका लोक कलाकार साहित्यकारको समाजमा उल्लेख्य भूमिका रहँदै आएको छ । तिनीहरूले बुढो छिमललाई आनन्द र बालो छिमललाई सीप, ज्ञान, प्रविधि निःशुल्क सिकाउँदै आएका छन् । ती मादले गीतांगे, नचारुलाई पहिचानका आधारमा निःशुल्क औषधि, आर्थिक वृत्ति दिँदा केही बिग्रदैन । सांस्कृतिक क्षेत्रका पूजारीहरूलाई जबसम्म सम्मान गरिदैंन तबसम्म प्रदेशको पहिचान क्रमशः घट्नेछ । पहिचानका आधारमा समाज समृद्ध बन्न जानेछ । प्रदेशको समृद्धि भू–उपयोग परम्परामा पनि निर्भर छ । यस प्रदेशका गुठीमा रहेका अधिकांश जग्गा जमिनहरू कि त टाँठाबाठाहरूले उपयोग गर्दैछन् कि त देवताका नाममा उपयोगमा आइरहेका छैनन् । प्रभावकारी उपयोगका व्यवहारहरू कृषि विकासको आधार बन्न सक्छ । खारा, पाटन वा उच्चसमस्थली क्षेत्रमा फागुनदेखि भाद्रसम्म आलुखेती गरी बगरमा बगरखेती र डाँडापाखामा आधुनिक फलफूल खेती गरी वस्तुगत उद्यमहरू चलाएको खण्डमा समृद्ध प्रदेश बन्नसक्छ ।

भेरी नदी क्षेत्रको एकीकृत विकास गरी यस नदीमा मिसिने भिराला खोलाखोल्सीहरूको वैज्ञानिक व्यवस्थापन र प्रयोग नल्याउँदासम्म प्रदेश कृषिमा आत्मनिर्भर बन्नैसक्ने छैन । यसका लागि थप आरक्षणको आवश्यकता देखिन पुगेको छ । यतिमात्र होइन खासगरी यसअघि प्रयोगमा आइ अहिले स्थगित भएका र केही भइरहेका दशरथपुरको कृषि अनुसन्धान केन्द्र, सल्यानको सुरो र फलफूलखेती, रुकुमको तरकारी बीऊ उत्पादन केन्द्र, पशुपालन, फलफूलखेती, कमलको अन्तर्राष्ट्रिय प्रचारप्रसार, डोल्पाको चौंरीफर्म, जुम्लाको भेडी फर्म, दैलेखको बागवानी केन्द्रलाई यथाशीघ्र प्रयोगमा ल्याइनुपर्छ भने जाजरकोटको भू–बनौट अति संवेदनशील भएकाले फलफूलखेती पशुपालनलाई प्राथमिकतामा पारी खेतीपाती प्रणालीलाई हतोत्साही बनाइनुपर्छ । धार्मिक पर्यटन विकासमा हुम्लाको थिर्पुनाथ छुटाइएको छ । यसका अतिरिक्त १० जिल्लाका एमालेका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको व्यापक सम्पर्कका कारण सुर्खेत एमालेको व्यवहार शैली पद्धति तथा बानी व्यहोरा अरु जिल्लाको भन्दा प्रभावकारी र व्यावहारिक नभएमा पक्कै पनि भावनामा ठेस लाग्नसक्छ । यसका लागि तिनीहरूको सम्पर्कलाई प्रभावकारी तथा सरल बनाउनका लागि एउटा स्तरीय प्रदेशस्तरीय सम्पर्क कार्यालयको भवनको नितान्तः आवश्यकता देखिएको छ । यथाशीघ्र अहिलेकै कार्यालय माथिका तलाहरू बढाइ प्रदेशस्तरीय पार्टीका सम्पर्क सहकार्य गतिविधि सञ्चालनविना पार्टी जीवन गतिशील बन्न सक्ने छैन ।

प्रकाशित मितिः   २७ मंसिर २०७३, सोमबार १२:४२