सम्भव छ, समृद्ध ‘कर्णाली प्रदेश’

deepakभेरी नदीको किनारै किनार उभो र उधो लाग्दा बाल्यकालदेखि नै नदी किनारका विराट बगर, काँठ, बालुवा, ढुङ्गामै उम्रिएको काँसघारी र बाँसघारीलाई बासस्थान बनाएका चराचुङ्गी अनि प्राणीहरूले सधैं म जस्तालाई प्रेरित गर्दै ल्याए । छांगाछुर स्वतन्त्र जलप्रवाह, पगार, खाेंच र समथल भेरीका रूपहरू । भेरीकै छातीमा पौडी खेल्दाको, माछा मार्दाको, जंघार तर्दाको, घाट झर्दाको कैयन घटनाहरू भेरीका किनारका बासिन्दामा रोमाञ्चित संस्मरणहरू खोपिएका हुनसक्छन् । जलयात्रा आफैमा उत्तेजक यात्रा हो ।

कञ्चन, स्थायी, सदावहार, विशाल नदी हो, भेरी । तिब्बतको दक्षिणधारलाई मुहान बनाएर हिमाल, पहाड, तराई भइ तातापानी–घाटगाउँमा मुख खोल्छ, भेरीले । मैले भेरी र कर्णालीको देभानलाई पूर्व, पश्चिम र उत्तर दिशाबाट गहिरिएर हेरेको छु । सबैभन्दा आकर्षक, रोमाञ्चक र प्रेरक लाग्दछ भेरीका दोभानको पश्चिमी दृश्य । कैलाली सीमान्तकृत जंगलबीच कुहिरोले छोपिएको बिहानी क्षणमा मुम्बई र चेन्नाइको किनारा लाग्छ, भेरी दोभान । काँडाघारी, सदाबहार जंगल छिचोल्दै पतझड र मदेशी सदाबहारको जंगल नाप्छ भेरी नदी । माछा, दाउरा, दृश्य, जलचरप्राणी, उभयचर प्राणी, जलजंगल भेरीका अफ्नै अन्तछातीहरू हुन् । कतिले भेरीको गीत गाएका छन्, नाचेका छन् र सिकेका छन् । नन्दराम लम्सालको ‘भेरीको किनारै किनार’ र ‘काँक्रेविहारकी किन्नरकिन्नरी’ उम्दा रचनाहरू हुन् । दीपक गौतमको भेरीको किनार माथी निबन्ध संग्रह हो । माओवादी युद्धकालमा भेरी त्रास र आशको विषय थियो । भेरी कर्णाली क्षेत्र माओवादीको सैन्य टुकडी सबैभन्दा उम्दा थियो । यी त भेरीका किनारका विषय परे । यिनको वैज्ञानिक उपयोग गरेको खण्डमा पर्यापर्यटन, जैविक विविधता, भौगोलिक, भौगर्भिक विषमताका दिगो विषय बन्न सक्छन् । यस आलेखको उद्देश्य भावी कर्णाली प्रदेशको खाद्य सुरुक्षा, खाद्य समस्या सम्बन्धी उठाइएका कपोकल्पित प्रश्नहरू तथा तिनको व्यवहारिक प्रयोगका बारेमा पारिकल्पना प्रस्तुत गर्नु रहेको छ ।

केही आकासे विद्वान्हरू कर्णाली प्रदेश तराईसँग नजोडिएकाले खाद्य समस्या भीषण पर्नेछ लेख्दैछन् । केही पश्चगामी विद्वानहरू तराईले खाद्यान्न रोकिदिए भावी प्रदेश भोकभोकै मर्ने छ लेख्छन् । वस्तुगत आधार र प्रमाणविन लेख्नु हाम्रा केही नेपाली लेखकको एउटा विशेषता हो । पृथ्वीनारायण शाहले यस प्रदेशका बाइसे राज्यहरू एकीकृत राज्यमा मिसाएयता नेपाल विशाल बन्यो तर आन्तरिक जीवन परनिर्भर बन्दै आयो । सबै कुरा दरवार सिंहदरवारबाट चल्न थालेयता डोरबहादुर विष्ट र नरहरिनाथ योगी बोहक अरु सबै नीति निर्माता, अन्वेषक, विज्ञ तथा पत्रकारहरूको मूल धारण आउन सकेन । पछिकाले राख्दा सहजै नपचाउने नेपाली आफ्नै प्रवृत्ति छ । यहाँ कुरा राख्ने खिल्लीको पात्र बन्छ, नराख्ने सद्दे बन्छ । यसकारण पनि भेरी र कृषिको सम्बन्धलाई कार्यकारण श्रृंखलामा राख्दा मात्र आधुनिक कृषिको दिगो विकास हुनसक्छ ।

विगत २०४८ र २०६४ साल वरपर मैले करिब भेरीको पुछारदेखि टुप्पोसम्म दुई पटक पैदलयात्रा गरेको छु र भेरीको तलतल अध्ययनमा पुगेको छु । सम्भवतः नेपालकै कर्णालीपछिको सबैभन्दा लामो नदी भेरी हो । कर्णाली ६०० किमी लामो छ भने भेरी नदी ५०० किमीभन्दा कम लामो छैन । भेरी नदी सम्भवतः नेपालकै सबैभन्दा बढी बालुवा बोक्ने नदी हो । यसकारण नेपालबाट बगेका नदीले बोकेर बंगालको खाडीमा थुपारेको बनाएको न्यूमरे टापुमा भेरी नदीको बेसिनबाट बगेर गएको माटोको मात्रा बढी छ । माटो परीक्षण गर्दा पनि पत्ता लाग्नसक्छ । यस कारण न्यूमरे टापु कर्णाली प्रदेशको बेसी माटोको टापु हो । हकदावी यस प्रदेशको अधिकारको विषय हो । यथास्थितिमै भेरी बेसिनमा गरिने विकास निर्माणका हरेक प्रयासहरूले दिगो फल दिने देखिन्न । दिगो विकास तथा फल प्राप्तीका लागि त्यसमा पनि कृषिको आधुनिक विकासका लागि यो तथ्य जान्नु केन्द्रमा राख्नु र व्यवहारमा ल्याउन अति आवश्यक छ । कुरा यो हो । भेरीका ठूली र सानी भेरी दुईवटा मूल शाखाहरू छन् । ठूलो भेरी र सानो भेरी रिम्नामा भेटिन्छन् । रिम्ना यसकारण पर्यटकीय यस्तो आकर्षक क्षेत्र हो जो भेरी र कर्णालीको मिल्दाको दृश्य बराबर छ । सानो भेरी म्याग्दीको जलजला मूल बनाएर बाग्लुङ्ग ढोरपाटन हुँदै रुकुम निस्किएर पश्चिम बग्दछ । सानी भेरीमा मूलदेखि यता हिमालको पानी बोकेर ल्याउने रङ्ग खोलाका पानी नमिसिउन्जेल सानी भेरीको नाम उत्तरगंगा हो । यो करिब उत्तरबाहिन जलाधार हो । यसपछि सानोभेरीे बनेको नदी जाङप्वाङ गाविसको सीमान्तकृत क्षेत्रमा आउँदा लाँचेबाहुले खोलासँग मिल्दछ । लाँचेले माटोको लाचा र बाहुलेले ढुंगा बोकेर ल्याउँछ । बाहुलेको काम बहुलाहा जस्तो छ । विकृत भएर बाहुले खोलाको प्रारम्भिक नाम बहुलाहा खोला हो ।

यी दुवै खोलाका सिरानमा सिस्ने हिमाल छ । सिस्ने हिमाल श्रृंखला मौराखाराबाट उठेको छ । यस श्रृंखलामा ६ महिना पशुवस्तु छाडिन्छ । खुला चरिचरणले, स्वच्छन्द घाँसडाला काट्नाले संवेदनशील भू–बनौटको माथिल्लो सतह पानीले बोकेर ल्याउँछ । लाँचेबाहुलेमा पु¥याएपछि खोलाको बेसिन बढ्न जान्छ । भिरालो खोलाले अनियमित आकार लिन्छन् । सानी भेरीका मुहान खोलारु सदाबहार तर भिराला भएकाले सानी भेरीको बेसिनमा माटो, बालुवा र ढुंगा थुप्रिन गइ जलाधार परिवर्तन भइ तीव्र गतिमा बग्दा यो साल यो किनारा, त्यो साल त्यो किनारा हान्न गइ भेरीले ठूला–ठूला बृहत बगर बनाएको छ । भेरी बेसिनका बृहत बगरहरू तातापानी घाटगाउँदेखि लाँचेबाहुलेसम्म सैयौं छन् । यी सैयौं बगरलाई कृषिजन्य भूमि बनाउनका लागि सानी भेरी नदीका स–साना खोला जमिन स्थलहरूमा सिस्नेहिमालसहित शिकार आरक्षणको व्यवस्था गरी छाडा चरिचरण प्रथा अन्त्य गरेको खण्डमा भेरी नदीको सही, दिगो र भरपर्दो व्यवस्थापन हुनसक्छ भने तटीय मरुभूमिको झल्को दिने बगरहरूमा औद्योगिक, व्यवसायिक, प्राविधिक कृषि उद्योगहरू सञ्चालन गरी प्रदेशबाट खाद्यान्न, फलफूल, तरकारी, माछाहरू, जडिबुटी, उत्पादनका साथै प्रादेशिक उत्पादन, कलासंस्कृति एकीकृत रूपमा पैठारी गर्न सकिन्छ ।

यस प्रकारको दिगो, भरपर्दो र वातावरणमैत्री गुरुयोजना कार्यान्वयनपछि अहिलेको कर्णाली अञ्चलमा आपूर्ति गरिने २ अर्ब बराबरको खाद्यान्न कटौती हुन जानेछ । यस प्रदेश भोकै पर्छ भन्नेलाई मुखभरी जवाफ मिल्नेछ, तराईको अन्न के स्थिति रहन्छ थाहा हुनेछ । जनाधार नभएका तराईका जमिन्दार नेताका लागि के हुनेछ ? यही मात्र हैन भेरी बेसिनका मेघा परियोजनाहरूको कार्यक्षमता पनि दिगो, भरपर्दो, जनमैत्री र विश्वासिलो बन्नेछ । अन्यथा आकासे विकासका कारण भेरी–बबइ ड्राइभर्सन भोलि अभिशाप किन बन्नेछ भने भेरीको बालुवा बाँके–बर्दियाका उर्भरशील जमिनमा गएर थुप्रिएमा विरोध हुनेमात्र छैन कृषिको परनिर्भरता एकातिर झन् बढ्नेछ भने परियोजना आजका नेता, विज्ञ, अभियान्ताले भनेको जस्तै नहुँदा जनआक्रोश बढ्नेछ ।

यसर्थ भेरीको दिगो गुरुयोजना पहिले बनाउमात्र हैन प्रदेशकै एकीकृत जलाधार गुरुयोजना बनाऊ, खोलाखाली, सिमसार, पहाड, खोचँ, फाँट, काँठ, ज्युला, लेकलाई त्यसैभित्र पारेर जलयातायात, जलउत्पादन, बहुउद्देश्यीय परियोजना, कृषिको औद्योगिकरण गरी उच्च समृद्ध कर्णाली प्रदेश बनाउन सकिन्छ । जलाधारमै मत्स्यपालन फस्टाउने माछाका भूरा छाडिदिउँ । हामीले अहिले खाद्यान्न मै प्राथमिकता दिँदै आएको सेतो चामलको भातका स्थानमा उवा, गहुँ, जौं, फापर, मकै, कोदो, लट्टे, माटे, कागुनो, चिनो, गिठा, भ्याकुर, स्कुस, आलु, पिंडालु, तरुल, गाजर, मूला, फर्सी, काँक्रो, सागलाई स्थापित गरौं । रेसायुक्त पोषणयुक्त भिटामिनयुक्त, स्वास्थ्यवद्र्धक खाने आदतको रूपान्तरण गरौं । थोरै खाउँ, घरिघरि खाउँ, झोलिलो खाउँ र अहिलेसम्म दृष्टिमै नपरेको भेरीको गुरुयोजना बनाइ एकीकृत विकास गरी सबैभन्दा समृद्ध आधुनिक ‘कर्णाली प्रदेश’ निर्माण गर्न आजैदेखि सबै लागौं र स्थलगत अध्ययन गरौं ।

प्रकाशित मितिः   ५ पुष २०७३, मंगलवार १२:१३