राष्ट्रिय खेलकुदको तयारी
कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अघि बढाइएको छ । आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि तयारीलाई तीव्र पारिएको हो । यसपटक प्रतियोगिता तोकिएकै समयमा हुने सरकारी प्रतिबद्धता पनि आएको छ । पटक–पटक मिति तोक्ने र सार्ने विगतको अभ्यासका कारण स्वाभाविक रूपमा उत्पन्न भएको आशंकाबीच आएको यस्तो प्रतिबद्धता सकारात्मक छ । तर अब प्रतिबद्धता मात्र पर्याप्त छैन, त्यसलाई व्यवहारमा प्रमाणित गर्नुपर्ने चुनौती आयोजकसामु छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो हुन लागेको हो । २०८१ मंसिरमै आयोजना गर्नेगरी तय गरिएको प्रतियोगिता आवश्यक तयारी पूरा नभएको भन्दै हुन सकेन । त्यसयता पटक–पटक मिति तोकिए र सारिए । राष्ट्रियस्तरको यति ठूलो प्रतियोगिताको मिति नै पटक–पटक अनिश्चित हुनु नेपाली खेलकुदको व्यवस्थापकीय कमजोरीको एउटा गम्भीर उदाहरण हो । यसले खेलाडीको तयारी, प्रशिक्षकको योजना, खेल संघको व्यवस्थापनदेखि प्रतियोगिताप्रतिको सार्वजनिक विश्वाससम्म प्रभावित गर्छ । अब भने फेरि मिति सार्ने अवस्था सिर्जना हुनु हुँदैन । प्रतियोगिता आयोजना गर्नु आफैंमा उपलब्धि होइन; पूर्वनिर्धारित समय, गुणस्तरीय पूर्वाधार, पारदर्शी व्यवस्थापन र खेलाडीमैत्री वातावरणसहित प्रतियोगिता सम्पन्न गर्नु मुख्य उपलब्धि हो । त्यसैले बाँकी समयलाई औपचारिक बैठक, निर्णय र घोषणामा होइन, मैदानस्तरको तयारीमा केन्द्रित गर्न आवश्यक छ । प्रतियोगिताका लागि खेल पूर्वाधार निर्माण तथा मर्मतसम्भार अहिलेको पहिलो प्राथमिकता बन्नुपर्छ । कुन खेल कुन जिल्लामा सञ्चालन गर्ने, सम्बन्धित खेलस्थलको अवस्था कस्तो छ, आवश्यक मर्मत वा निर्माण कहिलेसम्म सकिन्छ भन्ने विषयमा स्पष्ट कार्यतालिका सार्वजनिक गरिनुपर्छ । अन्तिम समयमा हतार–हतार काम गर्ने प्रवृत्तिले गुणस्तरमा सम्झौता गर्ने जोखिम बढाउँछ । सार्वजनिक स्रोतबाट हुने खर्च भएकाले पूर्वाधार निर्माणमा पारदर्शिता र जवाफदेहिता पनि उत्तिकै आवश्यक छ ।
प्रतियोगितालाई कर्णालीका लागि केही दिनको खेल उत्सवमा सीमित गर्नु हुँदैन । राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना हुनु प्रदेशको खेलकुद पूर्वाधार, पर्यटन, स्थानीय अर्थतन्त्र र राष्ट्रिय पहिचान प्रवद्र्धनका दृष्टिले महङ्खवपूर्ण अवसर हो । बाहिरबाट आउने खेलाडी, प्रशिक्षक, पदाधिकारी र दर्शकलाई कर्णालीको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनासँग जोड्न सकिए यस प्रतियोगिताको प्रभाव खेल मैदानभन्दा धेरै परसम्म पुग्न सक्छ । यसका लागि निजी क्षेत्रको सहभागिता पनि अर्थपूर्ण ढंगले सुनिश्चित गर्नुपर्छ । सबैभन्दा महङ्खवपूर्ण कुरा भनेको अब मिति नसर्ने गरेर निर्धारित समयमै प्रतियोगिता आयोजनाको सुनिश्चितता अपरिहार्य छ । अब भने हुन सकेन भने त्यसले खेल क्षेत्रमा ठूलो क्षति पु¥याउन सक्नेछ ।
प्रकाशित मितिः २० आश्विन २०८३, मंगलवार १०:४३
सम्पादकीय ।