जलवायु परिवर्तनले बढ्दो संकट

सुर्खेत: जलवायु परिवर्तनका असरहरू कर्णालीमा द्रुतगतिमा देखिन थालेको भन्दै सरोकारवालाहरूले सरकार र निजी क्षेत्रले यसको नियन्त्रणमा हातेमालो गरेर अघि बढ्नु पर्ने बताएका छन् । मंगलवार वीरेन्द्रनगरमा भएको कृषि मौसम सल्लाह सम्बन्धी प्रदेश स्तरीय कार्यशालाका सहभागीहरूले यस्तो बताएका हुन् ।

मौरीपालक व्यवसाय महासंघ कर्णालीका अध्यक्ष लिलाराम ढकालले जलवायु परिवर्तनको सोझो असर कृषि क्षेत्रमा परेको बताए । सरकार र निजी क्षेत्रले जलवायु परिवर्तनको मुद्दा तत्काल सम्बोधन हुनेगरी योजना निर्माण गर्नुपर्नेमा उनको जोड थियो । जलवायु परिवर्तनका बारेमा सार्वजनिक सचेतना फैलाउने काम गर्नुपर्ने भन्दै उनले सचेतना अभाका कारण पनि थप चुनौती थपिदँै गएको सुनाए । अनुमान गरेकोभन्दा धेरै छिटो तापक्रम बढ्दो क्रममा रहेको मौसम तथा जलवायु कार्यालय वीरेन्द्रनगरकी प्रमुख डा. इन्दिरा कँडेलले बताइन् । हिमालयको परिवर्तन बढ्दै गएको तथा हिम नदीहरू सुक्दै गएकाले धेरै छिटो तापक्रम बढ्दो क्रममा रहेको उनले जानकारी दिइन् ।

तीन सय ६५ दिनमा ८० दिन वर्षा हुने त्यसमा वर्षा हुने क्रममा पनि घटबढ रहेको उनले बताइन् । विश्वको तापक्रम बढेको बताउँदै उनले कर्णाली प्रदेशले पनि त्यसका आधारमा वातावरणीय प्रभावका क्षेत्रमा काम गर्नुपर्ने सुझाव दिएकी छन् । उनले सरकार र निजी क्षेत्रको साझेदारीमा वातावरणीय प्रभावका रणनीति र कार्यक्रमहरू अघि बढाउनु पर्नेमा जोड दिइन् । अनियमित पानी पर्ने, दिउँसोको तापमान बढ्दो र रातीको तापमान घट्दो छ, यसले कृषि उत्पादनमा असर गरेको चर्चा गरिन् ।

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड)का केशव पौडेलले जलवायु परिवर्तनले मानिसको जीवनका हरेक पलहरूलाई खतरातर्फ धकेलिरहेको बताए । मौसम परिवर्तनले समेत कृषि उत्पादनमा असर परिरहेको भन्दै अबका योजना जलवायु परिवर्तनसँग जुध्ने खालका बनाउनुपर्नेमा जोड दिए । जलवायु परिवर्तनसँग जुध्न कृषिका कार्यक्रम ल्याइएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डां. चन्द्रप्रसाद रिसालले बताए । प्रदेशको माटो र हावापानीअनुसार विभिन्न कृषिवस्तु र फलफूल उत्पादनको सम्भावनालाई प्रदेशको समृद्धिसँग जोडेर कार्यक्रम ल्याइएको उनले जानकारी दिए ।

यस्तै, कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामाले मानवीय गतिविधिका कारण भइरहेको जलवायु परिवर्तन, त्यसले कृषिमा पारेको असर र प्रकृति विरुद्धका क्रियाकलापबाट निम्तिएका विपद्ले मानव जीवन खतरामा पुगेको बताइन् । अग्रानिक प्रदेश निर्माणको लक्ष्यमा लिएको कर्णालीका भन्सामा आयातित तरकारी पाक्न नहुने तर्क गर्दै उनले स्वस्थ जीवनका लागि स्वस्थ माटो र वनस्पति अनिवार्य शर्त हुनुपर्नेमा जोड दिइन् । कृषिलाई अर्थ र उत्पादनसँग जोडेर लैजानुपर्ने उनको भनाइ छ ।

 

‘कृषि बालीमा हुने क्षति रोक्न कृषि मौसम सल्लाह’

कृषि बालीमा हुने क्षति रोक्न कृषि मौसम सल्लाहलाई प्रभावकारी बनाउन सरोकारवालाहरूले जोड दिएका छन् । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) को आयोजनामा वीरेन्द्रनगरका भएको कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् । पछिल्लो समय जलवायु परिवर्तनको चपेटामा कृषि क्षेत्र परिरहेको अवस्थामा यसको न्यूनिकरण गर्न प्रदेश र स्थानीय सरकार र विभिन्न मन्त्रालय तथा मनत्रालय मातहतका शाखा प्रमुख र सरोकारवालाहरूसँग बृहत् छलफल गरिएको (लि–बर्ड) का कार्यक्रम अधिकृत प्रतिभा गैरेले बताइन् ।

यो बहस कर्णालीमा पहिलो पटक गरिएको छ । कृषि बालीको क्षति न्यूनिकरण गर्नका लागि पहिलो चरणमा सुझाव माग गरिएको छ । आउँदो चरणमा प्रदेश र स्थानीय तहसँग मिलेर कार्यक्रम कार्यान्वयन गरिने उनले जानकारी दिइन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाले यस कामको थालनि गरेको छ भने दैलेखका केही पालिकाले पनि छलफल चलाइरहेका छन् ।

कर्णाली प्रदेश जलवायु परिवर्तनको चपेटामा छ । कृषि, जलस्रोत, वनस्पतिमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव देखिएको छ । कृषि र वनस्पतिमा मात्र नभइ प्रदेशका नागरिकको जीवनयापनमा समेत असर देखिन थालेको विज्ञहरू बताउँछन् । अनुसन्धानकर्ता भुपेन्द्र शाहीले पछिल्लो समय हिमाली क्षेत्रका नदिनाला सुक्दै जानु, हिउँ पर्ने क्रम पनि कम हुनु, खेतिबालीमा रोगकिराको प्रकोप बढ्नु जलवायु परिवर्तनको असर भएको बताए । उनले भने, ‘हिमालको हिउँ पग्लने क्रम बढ्दैछ, हिउँ पर्ने क्रम रोकिएको छ । सानातिना नदिनाला सुक्दै गइरहेका छन् । बढ्दो तापक्रमले परिवर्तन ल्याएको छ । यसमा कर्णाली जलाधारमा पनि प्रत्यक्ष प्रभाव देखिन्छ ।’

प्रकाशित मितिः   २१ आश्विन २०८३, बुधबार १२:०१