राष्ट्रिय खेलकुदका लागि सचिवालय

सुर्खेत: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक तयारीलाई तीव्रता दिन सचिवालय सञ्चालनमा ल्याइएको छ । प्रतियोगिता आयोजक मूल समितिको सचिवालय सोमवारदेखि सञ्चालनमा ल्याइएको हो ।

आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । त्यसका लागि आवश्यक समन्वय र व्यवस्थापनका कामलाई तीव्रता दिने तयारी गरिएको छ । खेलस्थल, खेलाडी तथा पदाधिकारीको आवास, यातायात, सुरक्षा र स्वास्थ्यलगायत व्यवस्थापन सचिवालयमार्फत समन्वय गरिने आयोजकले जनाएको छ ।

सचिवालय उद्घाटनका क्रममा कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुदलाई कर्णालीले खेल उत्सवका रूपमा लिन थालेको बताए । उनले प्रतियोगिता खेलाडीबीचको प्रतिस्पर्धामा मात्र सीमित नभइ कर्णालीको खेल गतिविधि विस्तार र विकासका निम्ति महŒवपूर्ण अवसर भएको उल्लेख गरे ।

प्रतियोगिता सफल बनाउन प्रदेश सरकार, स्थानीय तह, खेलकुदसँग सम्बन्धित निकाय तथा सरोकारवाला सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेकामा उनले जोड दिए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन चन्दले सचिवालय सञ्चालनमा ल्याइएसँगै दशौँ राष्ट्रिय खेलकुदको तयारीले थप गति लिने विश्वास व्यक्त गरे ।

प्रकाशित मितिः   २० आश्विन २०८३, मंगलवार १०:४२