कांग्रेस महाधिवेशन: कर्णालीको ध्यान सहमहामन्त्रीमा
सुर्खेत: नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा जान कर्णालीबाट करिब आधा दर्जन बढी नेताहरूले आफ्नो दावी प्रस्तुत गरेका छन् । पार्टीको १५औँ महाधिवेशन अन्तर्गत आज (मंगलवार) उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ ।
कर्णाली प्रदेशबाट कांग्रेसको पदाधिकारीमा आधा दर्जन नेताहरूले आकांक्षा देखाएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा कर्णालीबाट एक जना पदाधिकारी छन् । डोल्पाका कर्णबहादुर बुढा सहमहामन्त्री छन् । उनी पिछडिएको क्षेत्रअन्तर्गत सहमहामन्त्री बनेका हुन् । नियमित १५ औँ महाधिवेशनबाट पनि सोही पदमा दोहोरिन खोजेको बुझिएको छ ।
त्यसैगरी कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पनि पदाधिकारीमा दावी पेस गरेका छन् । उनले सहमहामन्त्री पदकै लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी १४औँ महाधिवेशनमा सोही पदमा पराजित भएका थिए । त्यतिबेला सभापति शेरबहादुर देउवा समूहबाट उम्मेदवार भएका उनलाई शेखर कोइराला प्यानलका बद्री पाण्डेले पराजित गरेका थिए । शाही यसपटक पनि सोही पदमा उम्मेदवार बन्न चाहेका छन् ।
विशेष महाधिवेशनमा सहभागी नभएका शाही केही समयअघि मात्रै देउवा खेमा छोडेर गगन थापा नेतृत्वको संस्थापन समूहमा समाहित भएका हुन् । बुझिएअनुसार कर्णालीबाट पूर्वउपसभापति पूर्णबहादुर खड्का समूहको नेतृत्व उनै शाहीले गरिरहेका छन् । खड्का आफू भने महाधिवेशनमा सहभाीग छैनन् ।
कर्णालीबाट पदाधिकारी दावी गर्ने सबैजसो नेताहरूले सहमहामन्त्रीमै आकांक्षा देखाएका छन् । अर्का केन्द्रीय सदस्य नारायणप्रसाद भट्टराईले पनि पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । कालीकोटका भट्टराई विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए ।
यसैगरी चलचित्र निर्देशक मीन भामले पनि नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मुगुबाट महाधिवेशन प्रतिनिधि चयन भएका भामले ‘पिछडिएको क्षेत्र’बाट सहमहामन्त्रीमा उम्मेदवारी दिने जानकारी दिएका छन् । भाम चलचित्र निर्देशनसँगै लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय छन् । उनले कांग्रेसको सूचना, सञ्चार तथा प्रचारप्रसार विभागमा केन्द्रीय सदस्यका रूपमा काम गरिसकेका छन् । उनी २०७८ को स्थानीय तह निर्वाचनका लागि कांग्रेसको घोषणापत्र लेखन समितिमा बसेर काम गरेका थिए ।
सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने कर्णालीका अर्का नेता हुन् मानबहादुर नेपाली । उनी यसअघि १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । समावेशी दलित क्लस्टरतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने उनले बताएका छन् । रूकुमपश्चिमका उनी राष्ट्रिय दलित आयोगका पूर्वअध्यक्षसमेत हुन् ।
यसअघि कर्णालीबाट कांग्रेसको सबैभन्दा माथिल्लो तहमा पुगेका नेता हुन्, सुर्खेतका पूर्णबहादुर खड्का । उनी यसपटक महाधिवेशनमा सहभागी छैनन् । पछिल्लो समय इतर समूहबाट समेत टाढिएका खड्काले आफू निकट नेता तथा कार्यकर्ताहरूलाई भने १५औँ महाधिवेशनमा सहभागी गराएका छन् ।
यसैबीच नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । १५ महाधिवेशनअन्तर्गत दोस्रो दिन खुलामञ्चमा भएको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेस गरेको संशोधित विधान पारित गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनकाअनुसार संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति दुई सय ९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ ।
त्यस्तै महामन्त्री तीन जना रहने छन् । जसमा एक जना महिला अनिवार्य गरिएको छ । त्यस्तै सहमहामन्त्रीमा १५ जना रहने छन् । कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट एक जना हुनेछन् । प्रवक्ता एक जना हुनेछन् भने सहप्रवक्ता पनि हुनेछन् । केन्द्रीय सदस्यहरूमा खुलामा ४५ जना रहने छन् । महिला खुलामा १५ जना हुनेछन् । हरेक प्रदेशबाट एक महिलासहित चार जना हुनेछन् । साथै उपत्यकाबाट एक महिलासहित दुई जना अनिवार्य गरिएको छ ।
त्यस्तै दलिततर्फ पाँच महिला र एक मधेसीसहित १४ जना रहने छन् । जनजातितर्फ आठ महिलासहित २० जना हुनेछन् भने खस आर्यबार्ट आठ महिलासहित १८ जना हुनेछन् । मधेसीतर्फ पाँच महिलासहित १३ जना हुनेछन् । त्यस्तै जनसम्पर्क समितिबाट दुई महिलासहित सात जना हुनेछन् । पिछडिएको वर्गबाट तीन जना हुनेछन् । थारूबाट दुई महिलासहित ६ जना रहेका छन् । श्रमिकबाट एक महिलासहित तीन जना, पेसागत विज्ञबाट दुई महिलासहित सात जना रहेका छन् । सातै प्रदेशबाट २१ जना ३५ वर्ष मुनिका युवा रहने छन् । त्यस्तै अपाङ्गता भएकाबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना हुनेछन् । केन्द्रीय कार्यसमितिले पछि ६६ जना मनोनित गर्नेछ । मंगलवार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन हुने जनाइएको छ ।
प्रकाशित मितिः २० आश्विन २०८३, मंगलवार १०:४०

साझा बिसौनी ।