जलवायु अनुकूलित खानेपानी योजना

२० करोड ७५ लाख बजेट विनियोजन

सुर्खेत: कर्णाली प्रदेश सरकारले जलवायु अनुकूलित खानेपानी योजना ल्याएको छ । बढ्दो जलवायु परिवर्तनको असरलाई ध्यानमा राखेर जलवायु अनुकूलित कार्यक्रम ल्याएको हो । पछिल्लो समय पूर्वाधार निर्माण गर्दा खानेपानीका मुहान सुक्दै गइरहेका छन् । जसले गर्दा ग्रामीण क्षेत्रका नागरिकलाई थप समस्या भइरहेको छ । प्रदेश सरकारले निर्माण गर्ने संरचनाहरूलाई कसरी जलवायु अनुकूलन बनाउन सकिन्छ भन्ने विषयमा योजना कार्यान्वयन गरिने प्रदेश सरकारले जनाएको छ ।

जलवायु परिवर्तनका चुनौतीहरू र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित खानेपानी योजना कार्यान्वयन गर्न लागिएको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । यो वर्ष कार्यक्रम कार्यान्वयनका लागि २० करोड ७५ लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता सिनियर डिभिजन इन्जिनियर रमेह सुवेदीले बताए । जलवायु उत्थानशील भू–परिधि तथा जीविकोपार्जन परियोजनामार्फत प्रारम्भिक चरणमा काम गर्न लागिएको उनले जानकारी दिए । यो वर्ष सल्यान, रुकुमपश्चिम र मुगु जिल्लामा जलवायु अनुकूलित खानेपानी योजना कार्यान्वयन गर्न लागिएको मनत्रालयले जनाएको छ । बढ्दो जलवायुको असरसँग जुध्नका लागि उक्त योजना कार्यान्वयन गर्न लागिएको हो ।

कर्णाली प्रदेश जलवायु परिवर्तनको चपेटामा छ । कृषि, जलस्रोत, वनस्पतिमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव देखिएको छ । कृषि र वनस्पतिमा मात्र नभइ प्रदेशका नागरिकको जीवनयापनमा समेत असर देखिन थालेको छ । पछिल्लो समय हिमाली क्षेत्रका नदिनाला सुक्दै जानु, हिउँ पर्ने क्रम पनि कम हुनु, खेतिबालीमा रोगकिराको प्रकोप बढ्नु जलवायु परिवर्तनको असर भएको विज्ञहरूले बताउने गरेका छन् । यही अवस्थालाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न जलवायु अनुकूलित कार्यक्रममा जोड दिएको छ । सञ्चालन भइरहेका कार्यक्रममा समेत जलवायु न्यूनीकरणका विषय समावेश गरेर कार्यक्रम कार्यान्वयन गरिने भएको हो ।

प्रदेश सरकारले सञ्चालन गर्ने हरेक कार्यक्रम जलवायु अनुकूलनमा जोडेर कार्यान्वयन गर्ने गरिएको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । यो वर्ष जलवायु उत्थानशील भू–परिधि तथा जीवीकोपाजर्न परियोजनामार्फत प्रथम चरणमा तीन जिल्लामा कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । जलवायु अनुकूलित खानेपानी आयोजना सञ्चालन गर्ने भएको छ ।

जलवायु परिवर्तनले समेत पानीको परिमाणमा असर नपर्ने स्रोतहरूको खोजी गर्नेगरी कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । यो वर्ष पाइलट प्रोजेक्टका रूपमा तीन जिल्लामा जलवायु अनुकूलित खानेपानी आयोजना सञ्चालन गरिनेछ । जनताको खानेपानी तथा सरसफाइमा सहज पहुँचको संवैधानिक हक सुनिश्चितताका लागि ‘जलवायु अनुकूलित खानेपानी आयोजना’ तीन जिल्लामा कार्यान्वयन गर्न लागिएको हो । अघिल्ला वर्षहरूबाट नै उक्त कार्यक्रम कार्यान्वयन भइरहेको छ । सशर्त अनुदानमार्फत् कार्यक्रम कार्यान्वयन भइरहेको हो । कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा २० करोड ७५ लाख बजेट विनियोजन गरिएको छ ।

नयाँ खानेपानीका मुहानको खोजी र पुराना मुहानको संरक्षण गरिने छ । जलवायु परिवर्तनको न्यूनिकरणका लागि सोही बमोजिमका कार्यक्रम मन्त्रालयले सञ्चालन गर्न लागेको हो । सरकारले खानेपानीका मुहान संरक्षण गर्नेछ । नयाँ सम्भावनाको खोजी तथा भइरहेका संरचनाको पुननिर्माण गर्ने योजना प्रदेश सरकारले राखेको छ । गतवर्ष पनि कार्यक्रम कार्यान्वयन गर्नका लागि प्रदेश सरकारले ६ करोड बजेट विनियोजन गरेको थियो । यो वर्षबाट थप प्रभावकारी रूपमा कार्यान्वयन गर्नेगरी योजना कार्यान्वयन गर्न लागेको छ । प्रतिफल राम्रो आएको खण्डमा प्रदेश सरकारले दशवटै जिल्लामा काम गर्नेछ ।

प्रकाशित मितिः   १७ आश्विन २०८३, शनिबार ११:५०