स्वास्थ्यकर्मी आन्दोलित

सुर्खेत: कर्णालीमा छात्रवृत्ति करारका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । कर्णाली प्रदेश सरकारले प्रोत्साहन भत्ता कटौती गरेपछि उनीहरू आन्दोलित भएका हुन् । भत्ता कटौतीको विरोधमा शुक्रवार स्वास्थ्यकर्मीहरूले एक घण्टा सेवा अवरूद्व गर्नुका साथै हातमा कालोपट्टी बाँधेर काम गरे ।
त्यसअघि बुधवार उनीहरूले सामाजिक विकासमन्त्री जीतबहादुर मल्ललाई ध्यानाकर्षण पत्र पनि बुझाएका थिए । स्वास्थ्यकर्मीहरूले गठन गरेको प्रोत्साहन भत्ता उपलब्ध गराउन गठित संघर्ष समितिका संयोजक डा. विशाल कार्कीले समान कामको समान सुविधा पाउनुपर्ने माग गरे । ‘अन्य कर्मचारीसरह काम गर्दै आए पनि सेवासुविधामा विभेद गरियो । हाम्रा माग सम्बोधन नभए चरणबद्व रूपमा आन्दोलन गर्ने अवस्था आउनेछ’ उनले भने ।
सामाजिक विकास मन्त्रालयले बजेट भारको कारण प्रोत्साहन भत्ता वितरण गर्न नसकेको जनाएको छ । मन्त्रालयका प्रवक्ता वृषबहादुर शाहीले मन्त्रालयले भत्ता रोक्ने निर्णय गरिनसकेको तर यो आर्थिक वर्षबाट भत्ता दिन नसकिएको जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले छात्रवृत्ति करारका चिकित्सकलाई दिने बजेट संघ सरकारबाट आउँथ्यो तर संघले दिने रकम प्रदेशले निर्णय गरेर दिन नमिल्ने भएपछि रोकिएको छ ।
नेपाल चिकित्सक संघ सुर्खेतले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आएको छ । संघका सचिव डा. किशोर बिष्टले समान प्रकृतिको काम गराएपछि अधिकार र सेवासुविधामा पनि समान व्यवहार हुनुपर्ने भन्दै सरकारलाई तत्काल समस्या समाधान गर्न आग्रह गरे ।
प्रकाशित मितिः १७ आश्विन २०८३, शनिबार ११:५१
साझा बिसौनी ।