टपक्क टप्पा–सपक्क सिंगारू
कर्णाली उत्सवको सातौँ संस्करणमा आयोजित ‘खसकुडा खासकुडाःटपक्क टप्पा–सपक्क सिंगारु’ सत्रमा कर्णालीका विभिन्न भूगोलमा प्रचलित स्थानीय भाषा, लवज, लोकगीत तथा सांस्कृतिक अभिव्यक्तिका विविध पक्षबारे छलफल गरिएको थियो । सत्रको सहजीकरण डिल्ली वि.सी.ले गरेका थिए भने छलफलमा साहित्य, गीत तथा स्थानीय भाषिक र सांस्कृतिक अभ्याससँग जोडिएका पृथ्वीबहादुर सिंह र निर्मला गिरी सहभागी भएका थिए । छलफलका क्रममा कर्णालीका विभिन्न ठाउँमा बोलिने भाषाका लवज, शब्द तथा उच्चारणमा देखिने भिन्नता, स्थानीय भाषामा रहेका मौलिकता तथा तिनको संरक्षणको आवश्यकता, साथै टप्पा र सिंगारुजस्ता स्थानीय लोकसांस्कृतिक अभिव्यक्तिका विषयमा कुराकानी गरिएको थियो । सल्यान, रुकुम र सुर्खेतलगायत भूगोललाई जोडेर स्थानीय भाषा र संस्कृतिका साझा तथा फरक पक्षलाई बुझ्ने प्रयाससमेत गरिएको थियो । सत्रले कर्णालीको मौलिक भाषिक तथा सांस्कृतिक सम्पदालाई पुस्तान्तरण, संरक्षण र अभिलेखीकरण गर्दै यसको महŒवलाई व्यापक रूपमा चिनाउने विषयमा संवादको आधार तयार गरेको थियो ।

हाम्रा पालामा सिंगारु नाच्दा पनि आफ्नै पोसाक हुन्थ्यो, आफ्नै गहना हुन्थ्यो, आफ्नै तयारी हुन्थ्यो । चुरा, डाट, बाड र टिगुली–पोत्या लगाएर नाच्ने चलन थियो । अहिले त समय फेरिएको छ । गाउँघरमा पनि ग्यास आयो, ग्यासमा खाना छवास्स बनाउने चलन भयो । दाउराको खल्ले लाउने कुरा कति जनाले अहिले सम्झनुहुन्छ होला ? यी सामान्यजस्ता लाग्ने कुरा पनि वास्तवमा हाम्रो जीवनशैलीका हिस्सा हुन् । अहिले हामीले प्रयोग गर्ने सामान, खाने तरिका र बस्ने शैली फेरिँदै गए पनि पुरानो जीवनशैली र त्यससँग जोडिएका ज्ञान, सीप र परम्परालाई सबै बिर्सनुपर्छ भन्ने होइन । आज हामी विशेषगरी आफ्नै भेगका कुरा गर्दैछौँ । सिस्ने हिमालदेखि पश्चिम, कपुरकोटदेखि उत्तर–पूर्वतिर, गुमिचुलादेखि पूर्वपट्टिको क्षेत्र, सिम्ता, दरा, वनगाड, कुपिण्डे हुँदै चौरजहारीसम्मका ठाउँलाई जोडेर हेर्दा यहाँको भाषा, शैली र संस्कारमा धेरै समानता पनि छन् र ठाउँअनुसार आफ्नै फरकपन पनि छन् । तर यस्ता भाषा, शैली र परम्पराका विषयमा सार्वजनिक रूपमा बसेर यसरी छलफल भएको खासै पाइँदैन । हामीले बोल्ने, खेल्ने, नाच्ने, गाउने र खाने आफ्नै परम्परागत कुराहरू सबै नराम्रा थिए र सबै बिर्सिनुपर्छ भन्ने होइन । कतिपय कुरा संरक्षण गर्नुपर्ने पनि छन् ।
सिंगारु गीतमा पनि हाम्रा आफ्नै शब्द र भाका छन् । हामीले सिंगारु गाउँदा ‘पातलैका गंगटीले उप फाल्यो खारा’ भन्ने खालका गीतहरू सुन्थ्यौँ । ‘सुभ्य भए चौक थली थली नमस्कार’ भन्ने जस्ता शब्द र भाका पनि आफ्नै ठाउँका हुन् । अब पृथ्वी दाइहरूको पालामा यस्ता गीतहरू अरू कस्ता गाइन्थे, कसरी गाइन्थे भन्ने कुरा सुन्न पनि हामीलाई चासो छ । हाम्रो नाचगान, लाउने–खाने, बस्ने–उठ्ने कुरामा पनि संरक्षणको अभाव देखिन्छ । कुनै समय हाम्रो ठाउँमा जरधानो, लहर्या मास, माट्या, कागुनुजस्ता राम्रा स्थानीय उत्पादन र खानेकुरा हुन्थे । अहिले तीमध्ये धेरै कुरा हराउँदै गइरहेका छन् । त्यसैले पुराना खानेकुरा, स्थानीय उत्पादन र जीवनशैलीलाई पनि संरक्षण गर्नुपर्ने देखिन्छ । पृथ्वी दाइहरूको पालामा जरधानाको भात कस्तो हुन्थ्यो, कस्तो स्वाद लाग्थ्यो, कसरी खाने गरिन्थ्यो भन्ने कुरा पनि आजको पुस्ताले सुन्नुपर्छ । हामीले यस्ता कुरा अभिलेख राखेनौँ भने भोलिका दिनमा आफ्नै पूर्वजका कुरा खोज्न पनि गाह्रो हुन सक्छ ।
भाषाको कुरा गर्दा त हाम्रो ठाउँअनुसार निकै फरक छ । तपाईंहरू धुलोलाई धुलो भन्नुहुन्छ होला, हाम्रा तिर ‘फुते’ भन्ने चलन छ । तपाईंहरू अनुहार भन्नुहुन्छ, हाम्रा तिर ‘खाप्चो’ भन्ने शब्द प्रयोग हुन्छ । खाना खाने कुरामा पनि आफ्नै शब्द छन् । साँझको खाना खान बोलाउँदा आफ्नै ढंगले बोलाइन्छ, रोटी खान बोलाउने हो भने रोटी खान आइज भनिन्छ, भात खाने हो भने भात खान आइज भनिन्छ । यस्ता शब्दहरू बाहिरबाट सुन्दा फरक लाग्न सक्छन्, तर यही फरकपन त हाम्रो भाषाको सम्पत्ति हो । हामीले सैरालु भन्ने कुरा पनि सुन्छौँ । लहरे नाच्ने बेलामा बीचमा मैतालुहरू बस्ने, विशेषगरी तिहारको समयमा लामो भाकामा ‘सै’ भनेर दोहो¥याउँदै गाउने चलन थियो । लोग्ने मानिसहरू नाच्ने, छोरी–चेलीहरू बीचमा बसेर गाउने, यस्तो आफ्नै सामाजिक र सांस्कृतिक संरचना थियो । त्यसैगरी ‘छोट्टी बस्न जाने’ भन्ने कुरा पनि थियो । अहिलेको पुस्ताले त्यसको अर्थ र सन्दर्भ फरक ढंगले बुझ्न सक्छ । त्यसैले यस्ता पुराना चलनलाई नराम्रो वा राम्रो भनेर मात्रै हेर्नुभन्दा त्यसबेलाको समाजमा यसको अर्थ के थियो, किन गरिन्थ्यो र अहिले कसरी परिवर्तन भयो भन्ने कुरा पनि बुझ्न आवश्यक छ ।
हामीले पुराना कुरा सबै राम्रा थिए भन्न खोजेको होइन । समय परिवर्तन हुन्छ, समाज परिवर्तन हुन्छ । तर परिवर्तन भयो भन्दैमा पुरानो सबै फालेर नयाँ मात्र समात्ने कुरा पनि ठीक होइन । हाम्रो भाषा, संस्कार, संस्कृति, विवाहका चलन, नाचगान, खानपान र स्थानीय उत्पादनमध्ये भविष्यमा आवश्यक पर्ने कुरा जोगाउनुपर्छ । ‘कुडा कर्णाली’ का मान्छेहरूले पनि यसमा केही गर्नुपर्छ भन्ने मेरो बुझाइ हो । हामी पहिलोपटक यसरी बोलिरहेका छौँ, पाहुनाबाजीमा बसेका छौँ । आयोजकहरूले बोलाइदिनुभयो, हामी आएर आफ्ना कुरा राख्न पायौँ, यही नै ठूलो कुरा हो । हाम्रा कुरा लेखिदिनुभयो, खोजिदिनुभयो, अभिलेख राखिदिनुभयो भने त्यो अझ राम्रो हुन्छ ।

संसार परिवर्तनशील छ, कुनै पनि कुरा सधैँ एउटै ठाउँमा रहँदैन । हाम्रो भाषा, जीवनशैली, संस्कार, खानपान र सामाजिक व्यवहार पनि समयसँगै परिवर्तन हुँदै आएका छन् । विशेषगरी भेरी किनार, रोल्पा, रुकुम, सल्यान, जाजरकोट, सुर्खेतको सिम्ता तथा पुरानो बस्ती हुँदै दैलेखसम्मका भूगोलमा बोलिने पुरानो भाषिक शैलीलाई हेर्ने हो भने धेरै ठाउँमा यसको मौलिकता अझै पनि बाँकी छ । पुरानो पुस्ताका मानिसहरूले अहिले पनि त्यही भाषिका बोलिरहनुभएको छ । नयाँ पुस्तामा भने अन्य ठाउँबाट शब्द आउने–जाने क्रम बढेको छ । भाषा पनि समाजजस्तै निरन्तर परिवर्तन भइरहने कुरा हो । तर त्यसको पुरानो स्वरूप, शब्द र लबजलाई सम्झनु र अभिलेख गर्नु आवश्यक छ । साहित्य र लोकसाहित्यको सम्बन्ध पनि यहीसँग जोडिन्छ । साहित्य समाजको दर्पण हो भने लोकसाहित्य त्यसको आधार वा पारा हो भन्ने मेरो बुझाइ छ । लोकजीवनबाटै साहित्य जन्मिन्छ । मानिसले भोगेका कुरा, गाउँघरमा गाइएका गीत, दुःख–सुखका अनुभव, प्रेम, सम्बन्ध, संस्कार, परम्परा र सामाजिक घटनाहरू नै पछि साहित्यका विषय बन्छन् । त्यसैले लोकसाहित्यलाई सामान्य मनोरञ्जनको विषय मात्र ठान्नु हुँदैन । त्यसमा समाजको इतिहास, मानिसको जीवन र एउटा समयको सामाजिक चेतना सुरक्षित हुन्छ ।
हामी जन्मिएको समयको जीवनशैली अहिलेको भन्दा निकै फरक थियो । त्यतिबेला कपडाको पनि अभाव थियो । हामीले अहिलेका जस्ता जुत्ता लगाउन पाएनौँ । पर्दनी लगायौँ, धोती लगायौँ । महिलाहरूले गुन्यु–चोलो लगाउनुहुन्थ्यो । अहिले हामी ‘ममी’ र ‘ड्याडी’ भन्न थालेका छौँ, तर हाम्रो पालामा ‘जिया’ र ‘बुवा’ भन्ने गरिन्थ्यो । ‘कताबाट आयौ जियै ?’, ‘कताबाट आयौ बुयै ?’, ‘ओइ दाजु’, ‘ओइ नानाइ’ जस्ता सम्बोधनहरू हाम्रो दैनिक बोलीका हिस्सा थिए । दिदीलाई पनि आफ्नै भाषामा फरक शब्दले बोलाइन्थ्यो । अहिले शब्दहरू परिवर्तन भएका छन्, तर ती पुराना शब्दहरूमा हाम्रो समाजको आफ्नै आत्मीयता र सम्बन्धको शैली थियो । त्यतिबेला नुहाउनेदेखि लिएर दैनिक जीवनका सामान्य काममा पनि स्थानीय स्रोतकै प्रयोग हुन्थ्यो । साबुन सबैको पहुँचमा थिएन । रठ्ठा, भिमलको पात र अरू स्थानीय वस्तुबाट नुहाउने गरिन्थ्यो । हाम्रो जीवन प्रकृतिसँग धेरै नजिक थियो । पढ्ने अवसर पनि अहिलेको जस्तो थिएन । हामीले पार्टीमा पढ्थ्यौँ, गुरुकोमा गएर पढ्थ्यौँ । औपचारिक शिक्षा पाउने अवसर सीमित थियो । तर त्यसबेलाको समाजमा पनि आफ्नै प्रकारको ज्ञान, सीप र व्यवहारिक शिक्षा थियो, जुन आजको पुस्ताले बुझ्न आवश्यक छ ।
छोरट्टी बस्ने वा त्यससँग जोडिएका परम्पराहरू पनि हाम्रो समाजका आफ्नै चलन थिए । छोरीहरू राति जाने, छोट्टी बस्ने, गीत गाउने र बिहान घरका मानिसहरू उठ्ने बेला आगो बालिदिने जस्ता अभ्यास थिए । कतिपय ठाउँमा जंगलतिर गएर बस्ने चलन पनि थियो । घरमा बाबुआमाले गीत गाउने र छोरीहरूले त्यसको जवाफ फर्काउने गरिन्थ्यो । छोरीले गीत फर्काउन नसकेमा महतारीले वा मावली पक्षले समेत सहयोग गर्ने अवस्था हुन्थ्यो । रातमा बिजुली नभएकाले द्यालो वा आगो बालेर बसेर यस्ता गीत गाउने गरिन्थ्यो । बिहान बिहाबारीको काम सुरु हुनुअघि पनि गीतमार्फत नै रमाइलो गर्ने चलन थियो । यसरी गीत हाम्रो मनोरञ्जन मात्र नभएर सामाजिक सम्बन्ध र दैनिक जीवनकै हिस्सा थियो । सिंगारुको आफ्नै अर्थ र विशेषता थियो । महिलाहरूले विभिन्न प्रकारका कपडा र गहना लगाएर सिंगारिएर नाच्ने भएकाले हामीले त्यसलाई सिंगारु भनेका हौँ भन्ने मेरो बुझाइ हो । हाम्रो भेरीको वारीपारीका धेरै ठाउँमा पुरुषहरूले सिंगारु नाच्ने र महिलाहरू हेर्ने चलन थियो । नाच्नेहरूलाई रुमाल दिने, ककटी भर्ने, सुल्पा भर्ने जस्ता सामाजिक व्यवहार पनि त्यससँग जोडिएका थिए । सिंगारु केवल एउटा नाच होइन, त्यसमा हाम्रो भेषभूषा, संगीत, सामाजिक सम्बन्ध र सामुदायिक सहभागिता सबै जोडिएको थियो ।
हाम्रो पालामा गीतका पनि विभिन्न भाका थिए । ठाडी भाका, तेर्सो भाका, हिउँदाले भाका र बर्खाले भाकाजस्ता भिन्न शैली थिए । ती भाकामा स्थानीय भूगोल, प्रेम, प्रकृति र जीवनका कुरा आउँथे । उदाहरणका रूपमा ‘सिम्ता खोला चिसो पानी अलैची दानाले…’ जस्ता गीतहरू गाइन्थे । त्यस्तै ‘सल्लो ढल्यो सल्यानतिर, साल ढल्यो दाङतिर…’ भन्ने गीत पनि हाम्रो लोकभाकाको एउटा उदाहरण हो । यस्ता गीतमा ठाउँको नाम मात्र होइन, मानिसको भावना र सम्बन्धसमेत जोडिएको हुन्छ । त्यसैले यस्ता लोकगीतलाई सुरक्षित गर्नु भनेको हाम्रो समाजको एउटा समयलाई सुरक्षित गर्नु पनि हो । त्यसैगरी जरन धान जस्ता स्थानीय अन्न अहिले हराउँदै गएका छन् । पहिले हाम्रो भेरी किनारमा आफ्नै खेतबारीमा उत्पादन हुने धेरै प्रकारका अन्न र खाद्यान्न थिए । जरन छुट्टै खान्थ्यौँ, मकै छुट्टै, कोदो छुट्टै, उवा छुट्टै र धान छुट्टै हुन्थ्यो । स्थानीय उत्पादनमा हाम्रो जीवन टिकेको थियो । अहिले युवा श्रमका लागि बाहिर जान थाले, गाउँका मानिस बजारतिर सरे, बाहिरबाट सामान ल्याएर खाने अवस्था बढ्यो । परिणामस्वरूप जरन धान, उवा, कोदो र अन्य स्थानीय उत्पादनहरू हराउँदै गएका छन् । हिजो आफ्नै बारीमा उत्पादन हुने कुरा आज विदेशबाट ल्याएर खानुपर्ने अवस्था बनेको छ ।
म लामो समयदेखि यात्रा गर्दा वा कुनै ठाउँमा बस्दा त्यहाँ देखेका, सुनेका र मानिसहरूले बोलेका कुरा आफ्नो डायरीमा टिप्ने गर्छु । यस कार्यक्रममा तीन दिनदेखि बस्दा पनि मैले धेरै कुरा सिक्ने अवसर पाएँ । मेरो बुझाइमा कर्णाली अथाह सम्भावना भएको ठाउँ हो । यो देशकै उर्वर भूमि हो, तर यहाँको राज्य व्यवस्थापनले त्यसलाई पर्याप्त रूपमा व्यवस्थापन गर्न सकेन । नागरिक तहमा पनि आफ्नो ठाउँमा के उत्पादन हुन्छ, आफ्नो प्रकृतिले के दिएको छ र त्यसबाट कसरी जीवन सुधार्न सकिन्छ भन्ने चेतना अझै बलियो बनाउन आवश्यक छ । खाली राजनीतिका भरमा मात्र अघि बढेर हुँदैन, नागरिकमा पनि आफ्नो ठाउँप्रतिको चेतना र जिम्मेवारी हुनुपर्छ । हाम्रो समाजमा हाटबजार पनि जीवनको महŒवपूर्ण हिस्सा थियो । जसी हाट र नुन्या हाटजस्ता हाटहरूमा मानिसहरू जाने गर्थे । हाटमा व्यापार मात्र हुँदैनथ्यो, मानिसहरू भेट्ने, गीत गाउने र आफ्ना कुरा साटासाट गर्ने ठाउँ पनि हुन्थ्यो । हाट जाने सन्दर्भमा समेत गीत गाइन्थे । ‘हाट जाने हैनौ तिमी, हटारहरू पठाउने, माया लाउने तिमी होइनौ, कलेजी फटाउने’ जस्ता गीतहरू त्यसबेलाको लोकजीवनसँग जोडिएका थिए । गीत हाम्रो दैनिक जीवनका हरेक पक्षसँग जोडिएको थियो भन्ने कुरा यस्ता उदाहरणबाट बुझ्न सकिन्छ ।
हाम्रो समाजमा महिलामाथि हुने विभेद र दासत्वका विभिन्न रूप पनि थिए । जारी खाने चलन थियो, महिलालाई बिक्री गर्ने चलन थियो । कतिपय जिम्मेवाल र मुखियाले धेरैवटी श्रीमती राख्ने अवस्था पनि थियो । त्यस्तो अवस्थामा महिलालाई बराबरीको मानिसका रूपमा हेर्नेभन्दा नियन्त्रणमा राख्ने प्रवृत्ति थियो । अहिले त्यस्ता धेरै अभ्यासको अन्त्य भएको छ । बहुदलीय व्यवस्था आएपछि पनि हामीले आफ्ना कुरा सार्वजनिक रूपमा राख्ने, बहस गर्ने र आफ्ना अधिकारका विषयमा बोल्ने अवसर पाएका छौँ । यी परिवर्तनहरू पनि समाजको विकासक्रमका महत्वपूर्ण पक्ष हुन् । त्यसका लागि हामीले विगतमा संघर्ष गरेका छौँ । हाम्रो लोकसंस्कृतिमा लहरे नाच, सिंगारु, झाम्र्या, सोरठीजस्ता धेरै नाचहरू थिए । म आफैँ पनि लहरे नाचेँ, सिंगारुमा जोकरको भूमिकामा नाचेँ । अहिले उमेर बढ्यो, पहिलेजस्तो उफ्रिन सकिँदैन । तर आफूले भोगेको संस्कृति सम्झिँदा अहिले पनि रमाइलो लाग्छ । हिजोका यस्ता सांस्कृतिक अभ्यासलाई केवल पुरानो कुरा भनेर छोड्नु हुँदैन । ती हाम्रा सामूहिक स्मृति हुन् । नयाँ पुस्ताले त्यसलाई बुझ्ने र आफ्नो तरिकाले अघि बढाउने वातावरण बनाउनुपर्छ ।
समाज परिवर्तन हुँदै जाँदा विवाह र पारिवारिक संस्कारमा पनि परिवर्तन आउँछ । पहिले माइतीलाई धेरै सम्मान गर्नुपर्ने, विभिन्न खर्च गर्नुपर्ने, ढोक भेट गर्ने, लाडु लैजानेजस्ता चलन थिए । अहिले सम्मानको अर्थ बदलिएको छ । कोही सानो र कोही ठूलो भन्नेभन्दा सबैलाई समान सम्मान गर्ने विचार बलियो हुँदै गएको छ । मेरो आफ्नै जीवनमा पनि कतिपय पुराना चलनलाई निरन्तरता नदिएको छु । समयसँगै आफू पनि गतिशील हुनुपर्छ भन्ने मेरो विश्वास हो । प्रगति भनेको केवल आर्थिक परिवर्तन होइन, विचारमा परिवर्तन आउनु पनि हो ।
अबको समाजमा लैंगिक समानता र व्यक्तिगत स्वतन्त्रता अझ बलियो हुँदै जानेछ । त्यसैले आफ्नो खुट्टामा उभिन सक्ने अवस्था महिला र पुरुष दुवैका लागि आवश्यक छ । कसैको जीवनभर अरूमाथि निर्भर भएर बस्ने होइन, आफैँ कमाउन सक्ने, निर्णय गर्न सक्ने र आफ्नो जीवनका बारेमा आफैँ निर्णय गर्न सक्ने क्षमता विकास गर्नुपर्छ । विगतका राम्रा पक्षलाई ग्रहण गर्ने र खराब पक्षलाई छोड्ने कुरा नै सही बाटो हो । पहिलेका सबै कुरा खराब थिए भन्न मिल्दैन, तर जारी खाने, महिलालाई बिक्री गर्ने वा महिलालाई दास बनाउनेजस्ता अभ्यासलाई निरन्तरता दिन सकिँदैन । साहित्यको विकासका लागि स्थानीय तहको भूमिका पनि महत्वपूर्ण छ । कर्णाली प्रदेशमा साहित्य सिर्जना र साहित्यकारलाई प्रोत्साहन गर्ने संस्थागत संरचना आवश्यक छ । अहिले सामाजिक विकास मन्त्री घनश्याम भण्डारी स्वयम् साहित्यसँग जोडिनुभएको व्यक्ति हुनुहुन्छ । लामो समयपछि साहित्य सिर्जना गर्ने पृष्ठभूमि भएको व्यक्ति मन्त्रीको भूमिकामा आउनु साहित्य क्षेत्रका लागि सकारात्मक अवसर हो भन्ने मलाई लाग्छ । प्रदेशस्तरमा प्राज्ञिक संरचना गठन गरेर साहित्य, भाषा र संस्कृतिको विकासमा काम गर्न सकिन्छ । स्थानीय गाउँपालिका र नगरपालिकाले पनि आफ्नै तहमा साहित्यिक गतिविधि, सिर्जना प्रकाशन र स्थानीय साहित्यकारलाई प्रोत्साहन गर्ने काम गर्नुपर्छ ।
खस भाषा हाम्रो ठूलो सम्पत्ति हो । खस भाषा नै नेपाली भाषाको एउटा महत्त्वपूर्ण आधार भएको हाम्रो बुझाइ छ । त्यसैले खस भाषाको विकास र विस्तारका लागि पनि हामीले आफ्नै भूमिबाट प्रयास गर्नुपर्छ । भाषा उद्गम भएको ठाउँका मानिसहरूले नै आफ्नो भाषाका लागि श्रम नगरेसम्म अरूले मात्र आएर भाषा जोगाइदिन्छन् भन्ने हुँदैन । अंग्रेजी भाषालाई विश्वभाषाका रूपमा स्थापित गर्न बेलायतले आफ्नो भाषा विस्तारका लागि निरन्तर काम गर्यो । त्यसैगरी हामीले पनि खस भाषालाई व्यवस्थित रूपमा लेख्ने, बोल्ने, अभिलेख गर्ने र नयाँ पुस्तामा पु¥याउने काम गर्नुपर्छ । खस सभ्यता र भाषाको इतिहाससँग जोडिएको सिजा क्षेत्रलाई पनि हामीले विशेष महत्व दिनुपर्छ । खस भाषा र खस सभ्यताको विकास भएको भूगोललाई पहिचान गरेर भाषा, साहित्य र संस्कृतिको अध्ययन तथा प्रवद्र्धन गर्न सकिन्छ । यसका लागि बाहिरका विद्वान् वा संस्थाले मात्र काम गर्ने होइन, हामीले पनि आफ्नै तर्फबाट प्रयास गर्नुपर्छ । मैले पनि आफ्नो यात्रासाहित्य र कथामार्फत यस्ता विषय उठाउने प्रयास गरेको छु । कर्णाली र भेरी मिसिने ठाउँलाई पर्यटकीय तथा सांस्कृतिक स्थलका रूपमा विकास गर्ने, त्यसको इतिहास र कथालाई साहित्यमा ल्याउने जस्ता सम्भावनाबारे पनि मैले लेखेको छु ।
मैले ‘वीरबहादुर’ नामको कथा लेखेको छु, जसमा कर्णाली र भेरीसँग जोडिएका विषयलाई उठाएको छु । कर्णाली नदी र भेरी मिसिने ठाउँमा एउटा सानो–ठूलो हरिद्वारजस्तो धार्मिक तथा पर्यटकीय केन्द्र विकास गर्न सकिन्छ कि भन्ने कल्पना पनि त्यसमा जोडिएको छ । यस्तो ठाउँ विकास गर्न सकियो भने धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले मानिसहरूलाई आकर्षित गर्न सकिन्छ । भाषा, साहित्य र पर्यटनलाई पनि एकअर्कासँग जोडेर हेर्न सकिन्छ । हाम्रो इतिहास, भाषा र लोकसाहित्यलाई गन्तव्यसँग जोडेर प्रस्तुत गर्न सके त्यसले कर्णालीको पहिचानलाई अझ बलियो बनाउन सक्छ ।
अन्ततः हाम्रो कर्णालीसँग प्रकृति, भाषा, साहित्य, लोकगीत, संस्कृति र आफ्नै मौलिक जीवनशैलीको ठूलो सम्पत्ति छ । तर सम्पत्ति भएर मात्र पुग्दैन, त्यसलाई चिनाउन, लेख्न, गाउन, प्रकाशन गर्न र नयाँ पुस्तासम्म पु¥याउनुपर्छ । हामीले अरूको संस्कृति र भाषाबाट राम्रो कुरा सिक्नुपर्छ, तर आफ्नै कुरा बिर्सनु हुँदैन । पुरानो पुस्ताले भोगेको कुरा नयाँ पुस्ताले सुन्नुपर्छ र नयाँ पुस्ताले त्यसलाई आफ्नै शैलीमा अगाडि बढाउनुपर्छ । म आफूले पनि लामो समयदेखि यात्रा, साहित्य, गीत र स्थानीय विषयमा लेख्दै आएको छु र आगामी दिनमा पनि आफ्ना बाँकी भूगोलको यात्रा गरेर त्यहाँका अनुभवलाई साहित्यमा ल्याउने प्रयास गर्नेछु ।

मेरो फुपू र बज्यैहरूको पालासम्मका केही कुरा मलाई अहिले पनि सम्झना छ । तीजको समयमा डोको बनाएर त्यसलाई सिंगारपटार गरी नाच्ने चलन थियो । त्यसबेला महिलाहरू दलानभित्रै बस्ने र बाहिर निस्कन नपाउने अवस्था पनि थियो । त्यसैले फुपूहरू दलानबाटै हेर्ने र आफ्नै किसिमले रमाउने गर्नुहुन्थ्यो । अहिले तीमध्ये धेरै नाच र परम्परा हराउँदै गएका छन् । अहिले हामी नाच्छौँ, गाउँछौँ तर त्यसको स्वरूप धेरैजसो आधुनिक माध्यम र क्यासेटमा सीमित भएको छ । पहिले तीजको दिन महिलाहरूले वर्षभरिका दुःख, पीडा र मनका कुरा गीत तथा गालीका माध्यमबाट सासू–ससुरासँग पोख्न पाउने चलनसमेत थियो । त्यही दिन मनमा लागेको कुरा धित मरुन्जेल भन्न पाउने एउटा सामाजिक अवसरजस्तो थियो । अहिले त्यो परम्परा पनि लगभग हराइसकेको छ ।
हामी दाउरा लिन जंगल जाँदा पनि गीत गाउँथ्यौँ । पाँच लगाउने र दाउरा लिन जंगल जाने क्रममा फुपूहरूले ठाडी भाकाका गीतहरू गाउँदै टाढाटाढासम्म एकअर्कालाई जवाफ फर्काउने गर्नुहुन्थ्यो । मलाई अहिले पनि एउटा गीत सम्झना आउँछ, ‘गारा पारी गार छैलैमा झप्की फुल्यो रिठो, साइ बनाउनु गाडी भाडा म बनाउला पिठो’ । यस्ता गीतहरू केवल मनोरञ्जनका लागि मात्र थिएनन्, ती हाम्रो दैनिक जीवन, दुःख–सुख, श्रम र आपसी सम्बन्धसँग जोडिएका थिए । जंगलमा दाउरा काट्दै, बोक्दै र घर फर्कंदै गर्दा गीत गाउने चलनले श्रमलाई पनि सामूहिक र रमाइलो बनाउँथ्यो । हाम्रो पालाको दैनिक जीवन पनि अहिलेको भन्दा निकै फरक थियो । हामी बाझ, बुराँसजस्ता स्थानीय दाउरा बाल्थ्यौँ । खरानी र पानी उमालेर त्यसमा स्थानीय छिउला राखी कपडा धुने चलन थियो । त्यसबाट आउने विशेष सुगन्ध अहिले पनि सम्झँदा पुरानो समयको अनुभूति हुन्छ । अहिले प्रविधि र जीवनशैली परिवर्तनसँगै यस्ता धेरै अभ्यास हराउँदै गएका छन् । केही सामग्री र तिनका स्थानीय नामसमेत नयाँ पुस्ताले प्रयोग गर्न छोडिसकेको अवस्था छ । यस्ता साना–साना अभ्यास पनि हाम्रो तत्कालीन जीवनशैली र स्थानीय ज्ञानका महŒवपूर्ण अंश हुन् भन्ने कुरा हामीले बुझ्न आवश्यक छ ।
आफ्नो भाषा बोल्दा रुकुमेली वा पश्चिमेली भनेर चिनिने अनुभव पनि मेरो छ । म २०६२ सालमा काठमाडौं जाँदा आफ्नो स्थानीय भाषामा बोल्दा ‘तपाईं पश्चिमको कहाँबाट?’ भनेर सोध्ने गरेको अनुभव गरेँ । त्यतिबेला आफ्नो भाषा बोल्दा केही अप्ठ्यारो र हेपिएको महशुस हुन्थ्यो । तर अहिले समयसँगै बुझ्दै जाँदा त्यही भाषा, संस्कृति, रीतिरिवाज र स्थानीय लबज नै हाम्रो पहिचान रहेछ भन्ने लाग्छ । त्यसैले आफ्नो भाषा बोल्न लाज मान्ने होइन, त्यसलाई आफ्नो चिनारीका रूपमा स्वीकार गर्नुपर्छ । भाषा हरायो भने त्यससँग जोडिएका धेरै कथा, गीत, उखान, परम्परा र सामाजिक स्मृतिहरू पनि हराउँदै जान सक्छन् । अहिलेको पुस्ताले पुराना भाषा, नाच, गीत, कथा र संस्कृतिबारे धेरै कुरा थाहा नपाउने अवस्था छ । त्यसैले यस्ता विषयलाई विद्यालयको पाठ्यक्रमसँग जोड्न आवश्यक छ । बालबालिकालाई पुरानो पुस्तासँग संवाद गराउने, पहिले कसरी विवाह हुन्थ्यो, कस्ता कथा र पात्रहरू हुन्थे, कस्ता गीत र नाच प्रचलनमा थिए भन्नेबारे खोज्न र सोध्न प्रेरित गर्नुपर्छ । आजका बालबालिकामा पनि यस्ता विषयप्रति जिज्ञासा छ । उनीहरूले पहिलेका मानिसहरूले कसरी विवाह गर्थे, मागी विवाह हुन्थ्यो कि भागी विवाह, गाउँमा कस्ता कथा र परम्परा थिए भन्ने प्रश्न गर्छन् । त्यसैले उनीहरूको यही जिज्ञासालाई आफ्नो इतिहास र संस्कृतिसँग जोड्न सकिन्छ ।
हाम्रो पुरानो पुस्ताले भोगेको जीवन र अहिलेको पुस्ताले बाँचिरहेको जीवनबीच धेरै ठूलो परिवर्तन आएको छ । तर परिवर्तन हुँदैमा पुराना सबै कुरा छोड्नुपर्छ भन्ने होइन । समयअनुकूल नरहेका अभ्यासहरू परिवर्तन गर्नुपर्छ, तर हाम्रो मौलिक भाषा, लोकगीत, नाच, कथा, संस्कार र सामाजिक स्मृतिलाई भने संरक्षण गर्नुपर्छ । पुरानो पुस्तासँग रहेको ज्ञान नयाँ पुस्तासम्म पु¥याउने सबैभन्दा राम्रो माध्यम संवाद, अभिलेखीकरण र शिक्षण हुन सक्छ । गाउँघरमा अझै पनि यस्ता धेरै कुरा जान्ने मानिसहरू हुनुहुन्छ, उहाँहरूबाट जानकारी संकलन गरेर सुरक्षित राख्नुपर्छ । हामीले भाषा र संस्कृतिलाई केवल पुरानो कुरा भनेर संग्रहालयमा राख्ने वस्तुका रूपमा मात्र हेर्नु हुँदैन । यसलाई जीवित राख्न नयाँ पुस्ताले प्रयोग गर्ने वातावरण पनि बनाउनुपर्छ । स्थानीय भाषा, लोकगीत, नाच, कथा, रीतिरिवाज र संस्कारलाई अभिलेख गर्ने, विद्यालयमा सिकाउने र सार्वजनिक कार्यक्रममार्फत प्रस्तुत गर्ने काम आवश्यक छ । यसरी नयाँ पुस्ताले आफ्नो संस्कृति केवल किताबमा पढ्ने होइन, त्यसलाई बुझ्ने र व्यवहारमा अनुभव गर्ने अवसर पाउँछ । स्थानीय सरकार र समुदायले यस्ता कार्यक्रमलाई नियमित रूपमा अघि बढाउन सके अझ प्रभावकारी हुन्छ ।
अन्त्यमा, यो अवसर प्रदान गर्नुहुने आयोजकप्रति विशेष धन्यवाद दिन चाहन्छु । कर्णालीकै राजधानीमा बसेर भाषा, संस्कृति, संस्कार र रीतिरिवाजको संरक्षणबारे छलफल गर्ने अवसर महŒवपूर्ण छ । यस्ता कार्यक्रमबाट छलफल मात्र होइन, भाषा, संस्कृति र परम्पराको संरक्षणका लागि स्पष्ट कार्ययोजना नै बनाइनुपर्छ । आयोजक संस्थाले पनि यस विषयलाई निरन्तरता दिँदै कर्णाली सरकारलाई घचघच्याउने र आवश्यक नीति तथा कार्यक्रम बनाउन पहल गर्नुपर्छ । हाम्रा भाषा, संस्कार, संस्कृति र रीतिरिवाज हाम्रा पुराना गहना हुन् । यी गहनाको संरक्षण गर्नु सरकारको मात्र होइन, हामी सबैको साझा दायित्व हो ।
ऋति फाउन्डेसनले २०८२ चैत्र २८ देखि ३० गतेसम्म वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली उत्सवको सातौँ संस्करणमा विमर्श गरिएका सबै सत्रहरू क्रमशः साझा बिसौनी दैनिकमा प्रकाशित भइरहेका छन् ।)
प्रकाशित मितिः १७ आश्विन २०८३, शनिबार ११:४९

कुडा कर्णालीका ।