प्रभावकारी छात्रवृत्ति

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि सुरु गरेको ‘छोरी–बुहारी छात्रवृत्ति’ कार्यक्रमको मूल उद्देश्य उच्च शिक्षामा छोरी–बुहारीको पहुँच बढाउनु हो । अहिलेसम्म एक हजारभन्दा बढी छोरी–बुहारी यसबाट लाभान्वित भएको तथ्यले कार्यक्रमको पहुँच र प्रभावकारिता देखाउँछ । अझ महङ्खवपूर्ण कुरा, छात्रवृत्ति पाएर प्राविधिक शिक्षा हासिल गरेका धेरै महिला रोजगारीमा जोडिन थालेको सरकारी अध्ययनको दाबी छ । यदि यो तथ्य व्यवहारमै पुष्टि हुन्छ भने कार्यक्रम केवल आर्थिक सहायता वितरण गर्ने योजना होइन, महिलालाई आत्मनिर्भर बनाउने माध्यम पनि हो ।

कर्णालीमा छोरीको शिक्षाभन्दा छोराको शिक्षालाई प्राथमिकता दिने सामाजिक सोच अझै पूर्ण रूपमा समाप्त भएको छैन । विवाहपछि बुहारीको शिक्षालाई झनै गौण ठान्ने प्रवृत्ति पनि छ । यस्तो अवस्थामा आर्थिक अभावका कारण उच्च शिक्षा रोक्नुपर्ने अवस्थालाई छात्रवृत्तिले केही हदसम्म सम्बोधन गर्न सक्छ । त्यसैले ‘छोरी–बुहारी’ लाई लक्षित गरेर सञ्चालन गरिएको कार्यक्रमको सामाजिक अर्थ आर्थिक सहयोगभन्दा व्यापक छ । यसले शिक्षा, लैंगिक समानता, आत्मनिर्भरता र सामाजिक रूपान्तरणलाई एकैसाथ जोड्छ । तर कुनै पनि छात्रवृत्ति कार्यक्रमको सफलता लाभग्राहीको संख्या मात्र गनेर मापन गर्नु पर्याप्त हुँदैन । कति जनाले छात्रवृत्ति पाए भन्नेभन्दा कति जनाले अध्ययन पूरा गरे, कति रोजगारीमा पुगे, कति स्वरोजगार बने र उनीहरूको आय तथा जीवनस्तरमा कस्तो परिवर्तन आयो भन्ने प्रश्न महङ्खवपूर्ण हुन्छ । सरकारले कार्यक्रम प्रभावकारी भएको दाबी गरेको छ भने त्यसको नियमित, स्वतन्त्र र सार्वजनिक मूल्यांकन पनि आवश्यक छ । त्यस्तो मूल्यांकनले कार्यक्रमका कमजोरी पहिचान गर्न र आगामी बजेट तथा नीति अझ परिणाममुखी बनाउन सहयोग गर्छ । अर्को महङ्खवपूर्ण विषय छात्रवृत्तिको रकम र वितरण प्रणाली हो । सबैभन्दा कमजोर आर्थिक तथा सामाजिक अवस्थाका विद्यार्थीलाई प्राथमिकतामा राख्ने, आवेदन प्रक्रियालाई सहज बनाउने र छात्रवृत्ति समयमै उपलब्ध गराउने व्यवस्था अझ प्रभावकारी बनाउनुपर्छ ।

प्राविधिक शिक्षा हासिल गरेपछि रोजगारीको सुनिश्चितता अर्को चुनौती हो । छात्रवृत्तिले अध्ययनसम्म पु¥याएर मात्र पुग्दैन । स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रबीच समन्वय गरी सीपअनुसार रोजगारी तथा उद्यमका अवसर सिर्जना गर्नुपर्छ । विशेषगरी स्वास्थ्य, कृषि, पशुपालन, इन्जिनियरिङ, सूचना प्रविधि, पर्यटन र आतिथ्यजस्ता कर्णालीको आवश्यकता र सम्भावनासँग जोडिएका क्षेत्रमा छात्रवृत्तिको विषय छनोट गर्न सके यसको प्रतिफल अझ व्यापक हुन सक्छ । कर्णाली प्रदेश सरकारले छोरी–बुहारी छात्रवृत्तिलाई निरन्तरता दिनु सकारात्मक पक्ष हो । तर निरन्तरता आफैंमा उपलब्धि होइन । एउटै कार्यक्रम वर्षौं चलिरहनु र त्यसबाट अपेक्षित परिणाम आउनु फरक कुरा हो ।

प्रकाशित मितिः   ९ आश्विन २०८३, शुक्रबार ०५:०३