कर्णाली याक्स र प्लम्बर पाइपबीच सहकार्य

सुर्खेत: नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने फ्रेन्चाइज टोली कर्णाली याक्सले प्लम्बर पाइपसँगको सहकार्यलाई निरन्तरता दिएको छ । कर्णाली याक्स र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजबीच एनपिएलको तेस्रो संस्करणका लागि सम्झौता भएको हो । सम्झौता पत्रमा बिहीवार कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक नितिन जलानले हस्ताक्षर गरे ।
सम्झौतासँगै जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजको उत्पादन प्लम्बर पाइप सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन–३ मा कर्णाली याक्सको ‘हेडगेयर पार्टनर’ रहनेछ । सम्झौता तीन वर्षको लागि भएको हो । प्लम्बर गत सिजन कर्णाली याक्सको प्रमुख प्रायोजकका रूपमा जोडिएको थियो । यसपटक भने साझेदारीको स्वरूप परिवर्तन भएपनि प्लम्बरले कर्णाली याक्ससँगको सहकार्यलाई निरन्तरता दिएको हो ।
कर्णाली याक्सका क्रिकेट निर्देशक मल्लले गत सिजनदेखि सुरु भएको प्लम्बरसँगको सहकार्यलाई यसपटक पनि निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । ‘यो केवल प्रायोजन वा व्यावसायिक साझेदारी मात्र होइन, कर्णाली याक्सप्रतिको विश्वास र हाम्रो यात्रामा साथ दिने प्रतिबद्धताको निरन्तरता पनि हो । एनपिएलको तेस्रो संस्करणमा पनि पल्मबरको साथले हाम्रो टोलीलाई थप ऊर्जा र उत्साह दिने विश्वास लिएका छौँ,’ उनले भने ।
जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका नितिन जलानले गत सिजनदेखि कर्णाली याक्ससँग जोडिएर काम गर्ने अवसर पाएका र त्यो सहकार्यलाई यसपटक पनि निरन्तरता दिएको बताए । ‘कर्णाली याक्ससँगको हाम्रो साझेदारी केवल ब्रान्ड प्रवद्र्धनमा सीमित नभइ नेपाली क्रिकेट र एनपिएलको विकासमा योगदान गर्ने हाम्रो प्रतिबद्धता पनि हो । आगामी दिनमा पनि कर्णाली याक्ससँगको सहकार्यलाई थप बलियो बनाउँदै लैजाने विश्वास लिएका छौँ’ उनले भने ।
एनपिएलको तेस्रो संस्करण कार्तिक ९ गतेदेखि सुरु हुँदैछ । यो सिजनका लागि कर्णाली याक्सले दुई विदेशी खेलाडी मार्क वाट र अक्बर अलिलाई टिममा आवद्ध गरिसकेको छ । अन्य विदेशी खेलाडी ल्याउन प्रयास भइरहेको जनाइएको छ ।
प्रकाशित मितिः ८ आश्विन २०८३, बिहीबार १९:३५
साझा बिसौनी ।