भेरी पम्पिङमा फेरि बिलम्व

सुर्खेत: कर्णालीमा ठूला आयोजना सञ्चालनमा छैनन् । सुरु भएका आयोजना निर्माणमा विवाद नै विवाद आउने गरेको छ । १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन वर्षाैं लाग्यो । बल्लतल्ल सञ्चालन भएको छ । कर्णालीको अर्को ठूलो आयोजना भेरी पम्पिङ खानेपानी आयोजना निर्माणमा अड्चन आएको छ ।

पहिलो चरणको काम धमाधम रूपमा भइरहेको भएपनि दोस्रो चरणको काम गर्न बिलम्व हुने देखिएको हो । आयोजनाको दोस्रो प्याकेजको बोलपत्र प्रक्रिया आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेपछि विश्व बैंकको निर्देशनमा रद्द गरिएको छ । नेपाल सरकारको विद्युतीय खरिद प्रणालीको विश्वसनीयता माथि प्रश्न उठेपछि अब कागजी माध्यमबाट नयाँ बोलपत्र आह्वान गरिनेछ ।

अब अर्को प्रक्रिया सुरु हुन केही समय लाग्ने वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । प्रक्रिया पुनः सुरु गर्न केही समय लाग्ने नगरप्रमुख मोहनमाया ढकालले बताइन् । अब कम्तीमा पाँचदेखि ६ महिना लाग्ने भएकाले आयोजना सम्पन्न हुने समय पछाडि धकेलिने भएको छ । नेपाल सरकारको विद्युतीय सरकारी खरिद प्रणालीको विश्वसनीयतासम्बन्धी प्रश्न उठेपछि करिब २०–२१ महिना लागेको प्राविधिक मूल्याङ्कन विश्व बैंकको निर्देशनमा रद्द भएको हो । सात वटा बोलपत्र परेकामा प्राविधिक मूल्याङ्कनबाट दुईवटा बोलपत्रमात्रै अघि बढेका थिए । विश्व बैंकबाट प्राविधिक मूल्याङ्कनमा सहमति प्राप्त भएपछि आर्थिक प्रस्ताव खोल्ने तयारीसमेत भइसकेको अवस्थामा पुरानो प्रक्रिया रद्द भएको हो । पुरानो बोलपत्र प्रक्रिया रद्द भएको र अब नयाँ प्रक्रिया सुरु हुने भेरी लिफ्टिङ खानेपानी आयोजना कार्यान्वयन इकाइका सदस्य–सचिव तथा आयोजना प्रमुख रवीन्द्र रायले जानकारी दिए । उनका अनुसार नयाँ प्रक्रिया पूरा गर्न कम्तीमा ५÷६ महिना लाग्नेछ । विश्व बैंकको पत्रका आधारमा पुरानो प्रक्रिया रद्द गरेर पुनः बोलपत्र गर्नुपर्ने अवस्था आएको बताउँदै उनले नयाँ प्रक्रिया कागजी माध्यमबाट अगाडि बढाइने बताएका छन् ।

रायका अनुसार नेपाल सरकारको विद्युतीय सरकारी खरिद प्रणालीका विषयमा विभिन्न प्रश्न उठिरहेका थिए । त्यसपछि विश्व बैंकले पनि उक्त प्रणालीको विश्वसनीयताका विषयमा चासो राख्दै आएको थियो । उनले भने, ‘त्यसपछि विश्व बैंकले पनि यो प्रणाली भरपर्दो र विश्वसनीय छ कि छैन भन्ने विषयमा चासो राख्दै आएको थियो, विश्व बैंकले अर्थ मन्त्रालयसँग छलफल गरेर पुरानो विद्युतीय प्रणालीबाट खरिद प्रक्रिया अघि नबढाउन र कागजी माध्यमबाट नयाँ प्रक्रिया सुरु गर्न भनेको छ ।’ विश्व बैंकले अर्थ मन्त्रालयसँग छलफल गरेर पत्र पठाएको हो । पुरानो ईजीपी प्रणालीबाट प्रक्रिया अगाडि नबढाइ कागजी माध्यमबाट प्रक्रिया अगाडि बढाउनुपर्ने भनिएकाले पुरानो प्रक्रिया रद्द गरेर पुनः बोलपत्र गर्नुपर्ने अवस्था आएको राय बताउँछन् । प्रक्रिया रद्द हुँदा आर्थिक तथा भौतिक क्षति भने नभएको नगरपालिकाले जनाएको छ । तर खरिद प्रक्रिया फेरि सुरुदेखि अघि बढाउनुपर्ने भएकाले आयोजनाको समयतालिका प्रभावित हुने नगरप्रमुख ढकालको भनाइ छ ।

प्राविधिक मूल्याङ्कन प्रतिवेदन विश्व बैंकमा पठाइएको थियो । विश्व बैंकबाट १० जुलाई २०२६ मा प्राविधिक मूल्याङ्कनमा सहमति प्राप्त भएपछि वीरेन्द्रनगर नगरपालिका आयोजना कार्यान्वयन समितिको बैठकले संशोधित प्राविधिक मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको थियो । त्यसपछि प्राविधिक रूपमा प्रभावग्राही ठहरिएका बोलपत्रदाताको आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया अघि बढाउने तयारी भएको थियो । तर त्यसपछि विश्व बैंकले चालु खरिद प्रक्रिया रद्द गरी संशोधित व्यवस्थासहित नयाँ बोलपत्र आह्वान गर्न सिफारिस गरेपछि प्रक्रिया रोकिएको हो । अब प्याकेज–२ का लागि नयाँ बोलपत्र आह्वान गर्नुपर्ने भएको छ । नयाँ प्रक्रियामा यसअघि सहभागी भएका बोलपत्रदाता र नयाँ बोलपत्रदाता दुवैले प्रतिस्पर्धा गर्न पाउनेछन् । दोस्रो प्याकेजका लागि परेका सात वटा बोलपत्रमध्ये दुई वटा प्राविधिक मूल्याङ्कनबाट अघि बढेका थिए । एउटा बोलपत्रदाताले ७७ दशमलव ६ र अर्कोले ७३ दशमलव दुई कुल प्राविधिक अंक प्राप्त गरेका थिए । बाँकी पाँच वटा बोलपत्र प्राविधिक मूल्याङ्कनबाट अस्वीकृत भएका थिए ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणी देवकोटाले आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको प्रक्रिया रद्द गर्नुअघि कानुनी तथा अन्य विकल्पबारे थप छलफल हुनुपर्ने बताए । फेरि बोलपत्र हुँदा समय थपिने भएकाले आयोजना अघि बढ्ने आशामा भएको अवस्थामा पछि धकेलिने र स्थानीयले पानीको हाहाकार खेपिरहने अवस्था हुनु चिन्ताको विषय भएको उनको भनाइ छ ।

नगरप्रमुख ढकालले प्याकेज–२ को खरिद प्रक्रिया नेपाल सरकार र विश्व बैंकबीचको दातृ सहयोगअन्तर्गतको कार्यक्रम भएकाले विश्व बैंकको खरिद व्यवस्था लागू हुने बताएकी छन् । विश्व बैंकबाट आएको पत्र सम्बन्धित निकाय हुँदै आयोजना कार्यालयसम्म आएपछि पुनः बोलपत्रको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिइन् । ढकालका अनुसार पहिलो प्याकेजको काम करिब ४५ प्रतिशतको आसपास पुगेको छ । दोस्रो प्याकेज उपत्यकाको पानी वितरण प्रणालीसँग सम्बन्धित रहेको उनले बताइन् । ‘दोस्रो प्याकेजबाट उपत्यकामा वितरण प्रणाली निर्माण गर्ने र घरघरमा पानी पु¥याउने संरचनासँग सम्बन्धित काम हुन्छ,’ उनले भनिन्, ‘त्यसको बोलपत्र फेरि गर्नुपर्ने भएपछि समग्र आयोजना सम्पन्न हुने समय पनि पछाडि जान्छ ।’ आयोजना दुई प्रमुख प्याकेजमा विभाजन गरिएको छ । पहिलो प्याकेजअन्तर्गत भेरी नदीमा इन्टेक, पानी प्रशोधन केन्द्र, रिजर्भ ट्याङ्की र मुख्य प्रसारण लाइन निर्माणको काम भइरहेको छ । यसको ठेक्का करिब तीन अर्ब ८० करोड रूपैयाँमा भएको हो ।

प्रकाशित मितिः   २४ भाद्र २०८३, बुधबार ११:३६