अकल्पनीय क्षति

बुधवार बिहान भोटेकोशीमा अप्रत्यासित रूपमा बाढी आयो । बाढीले वितण्डा मच्चायो । जसका कारण अकल्पनीय क्षति भयो । रसुवा, नुवाकोट र धादिङसहित तीन जिल्लामा ठूलो भौतिक र मानवीय क्षति भएको हो । चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशुली नदी किनारका धेरै बस्तीहरू बगेका छन् । राजमागर्ग बगेका छन् । ठूला जलविद्युत परियोजनाहरूमा क्षति पुगेको छ । क्षतिबारे यकीन भइसकेको छैन । मानिसहरूको उद्धार र खोजी कार्य जारी छ । तीन सय जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ । निकै ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन छन् । सुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणीसम्म आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेको छ ।

नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा गएको हिमपहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र त्यही बाढी उग्र रूप लिँदै त्रिशूली नदीमा प्रवेश गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निष्कर्ष छ । प्रारम्भिक अनुसन्धानले नेपाल–तिब्बत सीमामा आएको विनाशकारी आकस्मिक बाढीको कारण हिमनदी खस्नु हुन सक्ने देखाएको वैज्ञानिकहरूले बताएका छन् । यस घटनाले तीव्र गतिमा पग्लिरहेको हिमालयको बरफबारेको चिन्ता थप बढाएको छ । माथिल्लो सीमाक्षेत्रबाट आएको बाढी भोटेकोशी नदी प्रणालीमा मिसियो । त्यसपछि त्रिशुली हुँदै नुवाकोट र धादिङतिर बढ्यो र मुग्लिनपछि नारायणी नदी प्रणालीमा प्रवेश ग¥यो । रसुवादेखि चितवनसम्म ठूलो भौतिक र मानवीय क्षति गराएको ल्हेन्दे खोलाको बाढी पछिल्लो १४ महिनामा दोस्रो पटक आएको हो ।

वैज्ञानिकहरूले वर्षौंदेखि जलवायु परिवर्तनका कारण हिमालयमा हिमनदी र पर्माफ्रोस्ट (शताब्दीयौँदेखि जमेको माटो) पग्लिँदै गएको भन्दै चेतावनी दिँदै आएका छन् । नेपालमा पनि यही क्षेत्रले गत वर्ष तिब्बतमा रहेको हिमताल फुट्दा आएको बाढीको सामना गरेको थियो । उस्तै घटना फेरि दोहोरिएको छ । यस घटनाले अर्को ठूलो प्रश्न पनि उठाएको छ, गत वर्ष पनि यही सीमाक्षेत्रमा ठूलो बाढी आएपछि नेपाल र चीनबीच माथिल्लो जलाधारको रियल टाइम पूर्वसूचना प्रणाली किन अझ बलियो बनाउन सकिएन ? पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सकेको भए बाढीको पूर्वसूचनाका कारण जोखिम न्यूनीकरण गर्न सहज हुनेथियो । पूर्वसूचना नहुँदा जोखिम न्यूनीकरणका लागि पूर्वतयारी हुन पाएन । पूर्वतयारी नहुँदा ठूलो धनजनको क्षति बेहोर्नुप¥यो । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि पुनः थप नोक्सानी हुन नदिन हालसम्मको क्षतिको यथार्थ विवरण, पारदर्शी राहत वितरण, जोखिममा रहेका नागरिकको सुरक्षा र दीर्घकालीन पुनःस्थापनामा सरकार, निजी क्षेत्र र संघसंस्थाहरूको सामुहिक प्रयासको खाँचो देखिएको छ ।

प्रकाशित मितिः   १२ भाद्र २०८३, शुक्रबार १२:४०