थपिए तीन जना मन्त्री
सुर्खेत: कर्णाली प्रदेश सरकारमा तीन जना मन्त्री थपिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीको सत्ता सहकार्यमा बनेको सरकारमा बिहीवार तीन महिला सांसद मन्त्री नियुक्त भएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा मिलन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कल्याणी खड्का र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा जुम्कित लामा नियुक्त भएका हुन् । तीनै जना समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य बनेका हुन् ।
मन्त्री नियुक्तिसँगै कर्णाली प्रदेश सरकारका सबै मन्त्रालयमा मन्त्रीको जिम्मेवारी बाँडफाँट भएको छ । यसअघि केही मन्त्रालय मन्त्रीविहीन रहेका कारण सरकारको पूर्णताका विषयमा छलफल हुँदै आएको थियो ।
एमालेबाट यसअघि नै तीन मन्त्री नियुक्त भइसकेका छन् । टेकराज पछाईले आर्थिक मामिला तथा योजना मन्त्रालय, जितबहादुर मल्लले सामाजिक विकास मन्त्रालय र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी लिएका छन् ।
साउन १२ मा नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका मंगलबहादुर शाहीले २९ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । एमालेसँग मन्त्रालय भागवण्डामा कुरा नमिल्दा शाहीले २३ दिनसम्म एक्लै सरकार चलाएका थिए । ३ भदौमा विश्वासको मत लिनुअघि एमालेसँग कुरा मिलेपछि शाहीले एमालेका तीन जनालाई आफ्नो क्याबिनेटमा लगेका थिए ।
प्रकाशित मितिः १२ भाद्र २०८३, शुक्रबार १४:५८
साझा बिसौनी ।