पूर्वाधार निर्माणको गुणस्तर
पूर्वाधार निर्माणमा हुने लापरबाहीले दिगो विकास रणनीति सफल हुन सकिरहेको छैन । गुणस्तरहिन कामका कारण पूर्वाधार निर्माण दिर्घकालीन नहुने समस्या छ । यही समस्यालाई ध्यानमा राखेर गुणस्तर परीक्षण गरेर मात्र पूर्वाधार निर्माण गर्ने नीति कडाइका साथ कार्यान्वयन गरिने भएको छ । कर्णाली प्रदेश सरकारले पूर्वाधार निर्माण कार्यको गुणस्तर परीक्षण गर्न प्रयोगशाला स्थापना गरेर काम गर्ने भएको हो । प्रदेशको पूर्वाधार विकास निर्देशनालयले गुणस्तर परीक्षणका काम गरिरहेको छ । आर्थिक वर्ष २०७९/०८० मा पूर्वाधार विकास निर्देशनालय सुर्खेतको मातहतमा रहनेगरी प्रादेशिक गुणस्तर परीक्षण प्रयोगशालालाई स्तरोन्नति गरिएको थियो । उक्त प्रयोगशाला आर्थिक वर्ष २०८०/०८१ बाट प्रयोगमा ल्याइएको हो ।
बर्सेनि बजेट विनियोजन गरेर सरकारले परीक्षण प्रयोगशालाको कामलाई अघि बढाउने गरेको छ । यो वर्ष पनि बजेट, नीति तथा कार्यक्रममा उक्त योजना समावेश गरिएको छ । यो वर्ष योजना कार्यान्वयनका लागि २० लाख बजेट विनियोजन गरिएको छ । उक्त बजेटबाट प्रयोगशालामा आवश्यक पर्ने सामग्री खरिद गरिने छ । आवश्यक सामग्री खरिद गरेर परीक्षणको दायरालाई विस्तार गर्ने योजना अनुरूप काम भइरहेको जनाइएको छ । बाँकी नौ वटा जिल्लामा प्रयोगशाला स्थापना गरेर जिल्ला–जिल्लाहरूबाटै पूर्वाधार निर्माण कार्यको गुणस्तर परीक्षण गर्न लागिएको छ । केही जिल्लाले काम परीक्षणको काम सुरु गरिसकेका छन् । केही जिल्लाले यो वर्षदेखि काम सुरु गर्नेगरी तयारी थालेको देखिन्छ । पूर्वाधार निर्माण कार्यको गुणस्तर निर्धारण गर्न र निर्धारित गुणस्तर छ कि छैन भन्ने परीक्षण गर्न सरकारले जिल्ला–जिल्लामा प्रयोगशाला स्थापना गर्नमा जोड दिएको छ । अहिले जिल्ला–जिल्लाले गुणस्तर परीक्षणका लागि पूर्वाधार विकास निर्देशनालय सुर्खेतमा पठाउने गरेका छन् । अहिले परीक्षणका काम भने धेरैजसो जिल्लाले निजी संस्थाहरूबाट गर्ने गरेका छन् । जसले गर्दा महँगो तथा लामो समय लाग्ने गरेको छ ।
जिल्ला–जिल्लाहरूमा पूर्वाधार निर्माण कार्यको परीक्षण प्रयोगशाला नहुँदा सुर्खेत वा नेपालगञ्जसम्म पु¥याउनुपर्ने बाध्यता छ । समय बढी लाग्ने र आर्थिक भारसमेत बढ्ने भएकाले प्रदेश सरकारले जिल्ला–जिल्लामै गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गर्न लागेको हो । बालुवा, सिमेन्ट, गिट्टीलगायत निर्माण सामग्री र निर्माण कार्य परीक्षण गर्न प्रदेशका सबै जिल्लामा प्रयोगशाला स्थापना गर्न लागिएको हो । प्रयोगशाला स्थापनाले निर्माण कार्यमा गुणस्तरीयता कायम गर्ने अपेक्षा गर्न सकिन्छ ।
प्रकाशित मितिः ३१ श्रावण २०८३, आईतवार ०९:४०
सम्पादकीय ।