गाडीसँगै बेपत्ताको अवस्था अज्ञात

सुर्खेत: भेरी नदीमा खसेको गाडीसँगै बेपत्ता भएका दुई जना अझै भेटिएका छैनन् । छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१ अम्रा नजिकै बुधवार बेलुकी लु १ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेको थियो ।

जिपसँगै कुमाख गाउँपालिका–५ का २४ का हेमराज बुढाथोकी र सिद्धकुमाख गाउँपालिका–४ का वर्ष ४३ का भीमबहादुर राना बेपत्ता भएका थिए । घटनास्थलदेखि १० किलोमिटर तलसम्म नेपाल प्रहरी, सेना र सशस्त्रको गोताखोर टोलीले खोज्दा पनि उनीहरूको अवस्था पत्ता लाग्न नसकेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीले लगातार तीन दिन नदी वारिपारि र पानीभित्र खोज्दा पनि नभेटिएको बताए । शनिवार पनि बिहानैदेखि सुर्खेतको क्षेत्रमा सशस्त्रको टोलीद्वारा खोजी गरेको थियो । ‘वर्षाका कारण भेरीमा पानीको बहाव बढेको र धमिलो भएकाले खोजी गर्न कठिनाइ भएको हो,’ उनले भने ।

गाडीमा चार जना सवार रहेकामा बनगाड कुपिण्डे नगरपालिका–१ आपखोली बस्ने वर्ष २९ का प्रेम बिक र २१ का खुमलाल बुढाथोकी पौडी खेलेर निस्केका थिए ।

प्रकाशित मितिः   ३१ श्रावण २०८३, आईतवार ०९:३८