जनहितकारीको वार्षिक समीक्षा

सुर्खेत: जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्खेतको वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नवराज कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत मित्रेन्द्रनाथ योगीले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमसम्बन्धी वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा सदस्य विस्तार तथा व्यावसायिक क्षमता विकास, शेयर पुँजी तथा बचत संकलन, शिक्षा तथा तालिम, सूचना तथा प्रविधि, भौतिक तथा जनशक्ति व्यवस्थापन, सदस्य सेवा तथा सामाजिक उत्तरदायित्व, संस्थागत सुशासन तथा व्यावसायिक गुणस्तर विकास, सम्बन्ध तथा समन्वय तथा वार्षिक साधारण सभा र स्थापना दिवसलगायतका कार्यक्रमको कार्यान्वयन अवस्थाको समीक्षा गरिएको थियो ।

यसैगरी प्रमुख कार्यकारी अधिकृत कृष्ण रावलले वार्षिक कार्यसम्पादन समीक्षा तथा आगामी वर्षको रणनीतिक कार्ययोजना प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०८३/०८४ को वार्षिक वित्तीय लक्ष्य तथा कार्यक्रम, संस्थाको वर्तमान अवस्थाको विश्लेषणसहित रणनीतिक मूल्याङ्कन गर्दै संस्थाका सबल पक्ष, सुधार गर्नुपर्ने पक्ष, अवसर, चुनौती तथा जोखिम पहिचान गरिएको थियो ।

लेखा तथा प्रशासन विभाग प्रमुख बसन्तबहादुर बुढाले वार्षिक बजेट समीक्षा तथा वित्तीय प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । जसअनुसार आर्थिक वर्ष २०८२/०८३ मा शेयर सदस्यतर्फ ८२ प्रतिशत, शेयर पुँजीतर्फ ८७ प्रतिशत, बचत तथा निक्षेपतर्फ ९९ प्रतिशत, ऋण लगानीतर्फ ८८ प्रतिशत र ऋण जोखिम व्यवस्थापनतर्फ १०६ प्रतिशत लक्ष्य उपलब्धि हासिल भएको छ । कुल सम्पत्तितर्फ ९८ प्रतिशत, कुल आम्दानीतर्फ ७२ प्रतिशत, कुल खर्चतर्फ ७८ प्रतिशत र करअघिको नाफातर्फ ३८ प्रतिशत उपलब्धि हासिल भएको वित्तीय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बैठकमा आम्दानी तथा खर्च, ऋणको गुणस्तर तथा जोखिम व्यवस्था, वित्तीय दक्षता तथा प्रमुख वित्तीय अनुपातका साथै विभिन्न सेवा केन्द्रको वित्तीय अवस्था, आम्दानी, खर्च, अन्तर–सेवा केन्द्र कारोबार र भाखा नाघेको ऋणको अवस्थासमेत समीक्षा गरिएको थियो । विशेषगरी बचत तथा निक्षेप, कुल सम्पत्ति र ऋण जोखिम व्यवस्थापनतर्फ हासिल भएको प्रगतिलाई सकारात्मक उपलब्धिका रूपमा लिइएको थियो ।

समीक्षा बैठकमा संस्थाले आगामी दिनमा सामना गर्नुपर्ने चुनौती तथा त्यसका समाधानका उपायबारे छलफल गर्दै आर्थिक वर्ष २०८३/०८४ मा वित्तीय सुदृढीकरण, शेयर पुँजी तथा बचत वृद्धि, ऋणको गुणस्तर सुधार, जोखिम व्यवस्थापन, सदस्य सेवा विस्तार, संस्थागत सुशासन र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने कार्यदिशा तय गरिएको छ । बैठकले आर्थिक वर्ष २०८२/०८३ को समग्र कार्यसम्पादन तथा वित्तीय अवस्थाको समीक्षा गर्दै आगामी वर्षका लागि स्पष्ट वित्तीय लक्ष्य, रणनीतिक योजना र कार्यदिशा तय गरेको संस्थाले जनाएको छ ।

 

प्रकाशित मितिः   ३१ श्रावण २०८३, आईतवार १५:५८