युवा उद्यमी प्रोत्साहन

रोजगारीका पर्याप्त अवसर नहुँदा कर्णालीका युवा विदेशिन बाध्य छन् । छिमेकी मुलुक भारतदेखि अन्य तेस्रो मूलुकसम्म पुग्ने गरेका छन् । बेरोजगारी समस्याकै कारण प्रदेशको आर्थिक अवस्था पनि उन्नत हुन सकेको छैन । यही अवस्थालाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले युवालाई उद्यममा जोड्ने योजना बनाइएको छ । रोजगारीका अवसर सिर्जना गर्नेगरी युवाहरूलाई उद्यमशीलतामा जोड्ने योजना अघि सारेको हो । युवा उद्यमशीलता र रोजगारीको विषयलाई नीति तथा कार्यक्रमसहित बजेटमा समावेश गरिएको हो । उक्त योजनाअन्तर्गत यो वर्षदेखि कार्यान्वयन हुनेगरी युवा उद्यमशीलता विकास गर्न र नवप्रवर्तन प्रवद्र्धन गर्न ‘स्टार्टअप फण्ड र बिजनेस इन्क्युवेसन सेन्टर’ स्थापना गर्न लागिएको छ । यस्ता उद्योगबाट उत्पादित वस्तु तथा सेवाको गुणस्तरीयता कायम गरी बजारीकरणका लागि समेत प्रदेश सरकारले सहयोग गर्नेछ ।

चालु आर्थिक वर्षदेखि युवा लक्षित उद्यम कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । कार्यक्रम कार्यान्वयनका लागि चार करोड दश लाख बजेट विनियोजन गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । यो कार्यान्वयन प्रभावकारी भए अन्य कार्यक्रमसमेत निर्माण गर्ने योजना बनाइएको छ । युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिबाट सञ्चालन हुने व्यवसायलाई प्रोत्साहन गर्न सहुलियतपूर्ण कर्जाको कार्यक्रम पनि प्रदेश सरकारले ल्याएको छ । गत वर्षपनि युवा उद्यमशीलता कार्यक्रम कार्यान्वयन गर्नका लागि दुई करोड बजेट विनियोजन गरिएको थियो । चालु वर्षमा युवा लक्षित कार्यक्रम बनाएरै बेरोजगारी समस्यालाई सम्बोधन गर्न खोजिएको छ । विद्यार्थी, युवा, उद्यमी तथा व्यवसाय गर्न इच्छुक व्यक्तिलाई स्टार्टअप, व्यवसाय दर्ता प्रक्रिया, व्यवसाय योजना निर्माण, स्टार्टअप कर्जा, लगानी व्यवस्थापन, बजार विस्तार, व्यवसाय सञ्चालनका चुनौती, जोखिम व्यवस्थापन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारका सम्भावनाबारे कार्यक्रम जानकारी गराइनेछ ।

रोजगारमुखी वातावरण नहुनु, लगानीका सम्भावित क्षेत्र पहिचान नहुनु, राज्यसँग स्रोतको अभाव हुनु, सार्वजनिक निजी साझेदारी प्रभावकारी नहुनु, युवामा पनि उद्यमशीलताको सोच विकास नभइ जागिरे मानसिकता हाबी हुनाले ठूलो संख्यामा युवा विदेशिने गरेका थिए । रोजगारी र अध्ययनका लागि भनेर विदेश जाने युवाहरूको तथ्यांक डरलाग्दो छ । अर्कातिर, उत्पादनका क्षेत्रहरूमा मानवीय श्रमको अभाव छ । उर्वरा खेतीयोग्य भूमि बाँझो पल्टिएको छ । निर्माण कार्यमा आवश्यक पर्ने श्रमशक्ति न्यून हुँदै गएको छ । यस्तो बेला युवाहरूलाई प्रदेशभित्रै उद्यममा जोड्ने योजना प्रभावकारी हुन सक्दछ । प्रदेश सरकारले बढ्दो प्रतिभा पलायनलाई रोकेर युवाको ज्ञान, सीप, क्षमता र सिर्जनशीलतालाई स्वदेशमै उपयोग गर्ने उद्देश्य राखेको छ ।

प्रकाशित मितिः   २४ श्रावण २०८३, आईतवार ०५:०३