सुक्खाग्रस्त क्षेत्रको अनुगमन

सुर्खेत: खडेरीका कारण क्षति पुगेका क्षेत्रमा अनुगमन थालिएको छ । कर्णाली प्रदेश सरकारले गठन गरेको कार्यदलले सुक्खाग्रस्त क्षेत्रहरूमा शुक्रवार स्थलगत अनुगमन गरेको हो । खडेरीका कारण कृषि उत्पादन, खानेपानी र जनजीवनमा परेको प्रभावको अध्ययन गरी आवश्यक सिफारिस गर्न कार्यदल प्रभावित क्षेत्रमा पुगेको हो ।

सल्यानको वनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउँपालिकामा पुगेर कार्यदलले धान, मकैलगायत बालीको अवस्था, खानेपानीको समस्या तथा स्थानीयको जनजीवनमा परेको प्रभावबारे जानकारी लिएको छ । प्रभावित किसानसँग अन्तरक्रिया गर्दै कृषि, पशुपालन र खानेपानी क्षेत्रमा देखिएका समस्याको विवरण पनि संकलन गरिएको छ । सरकारले यो क्षेत्रमा खडेरीको अवस्थाबारे अध्ययन तथा आवश्यक सिफारिसका लागि कार्यदल गठन गरेको थियो । टोलीमा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व कृषि मन्त्री भीमप्रकाश शर्मा, वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्णबहादुर बुढाथोकी, उपप्रमुख पुरुषोत्तम आचार्य, स्थानीय जनप्रतिनिधि, सम्बन्धित निकायका अधिकारी तथा अन्य सरोकारवालाको सहभागिता थियो ।

कार्यदलले स्थलगत अध्ययनबाट प्राप्त तथ्य, सुझाव र निष्कर्ष समेटिएको प्रतिवेदन प्रदेश सरकारसमक्ष बुझाउने जनाएको छ । सोही प्रतिवेदनका आधारमा राहत, पुनस्र्थापना तथा दीर्घकालीन समाधानका कार्यक्रम अघि बढाइने तयारी छ ।

कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व कृषि मन्त्री भीमप्रकाश शर्माले वास्तविक रूपमा प्रभावित क्षेत्रलाई सुक्खाग्रस्त घोषणा गर्ने आधार र प्रक्रिया तत्काल अघि बढाउनुपर्ने बताए । विपद्का बेला राहतको चर्चा हुने तर अवस्था सामान्य भएपछि कानुनी र प्रक्रियागत जटिलताका कारण काम प्रभावित हुने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रको यकिन गरी त्यसैका आधारमा राहत र दीर्घकालीन कार्यक्रम सञ्चालन गरिने बताए । किसानलाई तत्काल राहत उपलब्ध गराउने र उनीहरूलाई निराश हुन नदिने गरी प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत उनले जनाए ।

प्रकाशित मितिः   २३ श्रावण २०८३, शनिबार १५:३४