सिँचाइ पर्खिएका खेतबारी

हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस मनाउने गरिन्छ । यो वर्षको धान दिवस मनाइरहँदा कर्णाली प्रदेशमा भने अहिलेसम्म निकै न्यून कृषकले मात्रै धान रोप्न पाएका छन् । समयमा नै मनसुन सक्रिय नहुँदा रोपाइँ पनि सुस्त भएको हो । कतिपय ठाउँमा रोपाइँ नै सुरु भएको छैन । आकाशे पानीको भरमा धान रोप्नुपर्ने कर्णालीका अधिकांश ठाउँमा रोपाइँ सुरु नभएको हो । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा २२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । पहाडी जिल्लाका धेरैजसो ठाउँमा रोपाइँ सुरु नै भएको छैन । सिँचाइ सुविधा भएका र खोलाको आसपासमा रहेका खेतहरूमा बाहेक अन्यन्त्र ठाउँमा रोपाइँ हुन सकेको छैन ।

मौसमले साथ नदिँदा बेलैमा धान रोप्न नपाएपछि कृषकहरू भने चिन्तत बनेका छन् । मध्यअसारसम्म कर्णाली प्रदेशमा सबैभन्दा बढी जुम्ला ९५ प्रतिशत, डोल्पामा ९२ प्रतिशत र हुम्लामा ७५ प्रतिशत रोपाइँ भएको छ । तीन वटै जिल्लामा अहिलेसम्म ९० प्रतिशत रोपाइँ सकिएको हो । यद्यपि, यी जिल्लाहरूमा धान रोपाइ हुने क्षेत्र केही न्यून छ । त्यसैगरी मुगुमा ६८ प्रतिशत, कालिकोटमा ४८ प्रतिशत, सल्यानमा ४३ प्रतिशत, रूकुम–पश्चिममा ३५ प्रतिशत र जाजरकोटमा २० प्रतिशत खेतमा रोपाइँ गरिएको छ । दैलेख र सुर्खेतमा भने निकै न्यून क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । दैलेखमा १२ प्रतिशत रोपाइँ हुँदा सबैभन्दा कम सुर्खेतमा ६ प्रतिशत मात्रै रोपाइँ भएको छ । कर्णालीमा कृषियोग्य जमिन धेरै भएपनि सिँचाइको सुविधा पर्याप्त छैन । अधिकांश क्षेत्रमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । कर्णालीमा धान खेती हुने ४३ हजार दुई सय ९० हेक्टर क्षेत्रफलमध्ये १२ हजार एक सय बढी हेक्टर क्षेत्रफलमा धान रोप्ने काम सकिएको हो । यो वर्ष करिब एक चौथाई मात्र रोपाइँ भएको छ । कर्णाली प्रदेशमा खासगरी मार्सी, हाइब्रिड, शंकर–३१२, खुक्खा–१, २, ३ र ५ लगाउने गरिन्छ । यी जातका धानको उत्पादनसमेत बढी हुने गरेको छ ।

पानी नपरेका कारण रोपाइँ पर्याप्त नभएपनि यसवर्ष कर्णालीमा मलको अभाव भने छैन । विगतका वर्षहरूमा धान रोप्ने समयमा मलको अभाव हुन्थ्यो । हरेक वर्ष मल नपाएर किसानहरू हैरान हुन्थे । यो पटक भने मल पर्याप्त छ । असार लागेसँगै मल र बिऊको पिरलो हुने किसानले यसपालि हैरानी खेप्नु परेन । सहजै रासायनिक मल उपलब्ध भएको हो । धान उत्पादनलाई बढाउन खेतियोग्य क्षेत्रमा सिँचाइ सुविधा पु¥याउनेतर्फ भने ध्यान दिन जरुरी देखिएको छ ।

प्रकाशित मितिः   १६ असार २०८३, मंगलवार ०५:०३