‘सुशासन र पारदर्शिताका लागि मिडिया’

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले लोकतन्त्रको सुदृढीकरण र पारदर्शिताका लागि मिडियाको भूमिका महŒवपूर्ण रहेको बताएकी छन् । प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतले सोमवार आयोजना गरेको स्थानीय तहमा सुशासन प्रवद्र्धन र विकासमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
पत्रकारिता क्षेत्रका समसामयिक मुद्दा, सञ्चार माध्यमले भोगिरहेका चुनौती तथा पत्रकार र पत्रकारिताको समग्र विकासका सन्दर्भमा नगरपालिका सधै अग्रणी भूमिकामा रहेको उनको भनाइ छ । लोकतन्त्र, सुशासन र पारदर्शी शासन व्यवस्थाका लागि सञ्चार क्षेत्र अपरिहार्य भएको भन्दै उनले आगामी दिनमा पनि सत्यतथ्यमा रहेमा कलम चलाउन आग्रह गरिन । ‘नागरिकलाई सशक्त बनाउने, शासन प्रणालीलाई जवाफदेही बनाउने र राज्यको गतिविधिलाई जनतासामु पारदर्शी बनाउने काम मिडियाबाट मात्र सम्भव हुन्छ’ उनले भनिन् ।
नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन विसीले पत्रकारले दुर्गम क्षेत्रसम्म पुगेर सूचना प्रवाह गरिरहेको र सरकार तथा आम जनतालाई जोड्ने काम गरिरहेकाले उनीहरूको आर्थिक तथा सामाजिक सुरक्षामा स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउन आवश्यक भएको बताए । ‘स्थानीय सरकारले पत्रकारको सीप अभिवृद्धि, सुरक्षाको प्रत्याभूति र स्थानीय सञ्चार संस्थाको दिगोपनाका लागि विशेष कार्यक्रम ल्याउनु आवश्यक छ’ उनले भने ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य याम शर्माले सूचनाको पहुँच, पत्रकारिता अभ्यासको गुणस्तर र मिडिया हाउसहरूको सुदृढीकरणका लागि स्थानीय सरकारले दीर्घकालीन दृष्टिकोण बनाउनु पर्नेमा जोड दिए । प्रेस चौतारी नेपालका सुर्खेत जिल्ला अध्यक्ष मुना हमालले पत्रकारिता क्षेत्रको विकासका लागि तीन तहका सरकार गम्भीर हुनुपर्ने बताइन् । संघीय सरकारले गरेको पछिल्लो निर्णयले मिडिया क्षेत्र नै अन्योलमा भइरहेको अवस्थामा प्रदेश र स्थानीय सरकारले विशेष जोड दिने खालका कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा उनको सुझाव रहेको छ ।
प्रकाशित मितिः १६ असार २०८३, मंगलवार ०५:०२
साझा बिसौनी ।