विपद् प्रतिकार्य योजना
मनसुन भित्रिएको छ । वर्षायाम सुरु भइसकेको छ । ठूलो मात्रामा नभएपनि छिटफुट वर्षात् भइरहेको छ । वर्षातसँगै विपदको जोखिम पनि बढ्दो छ । वर्षायाममा प्राकृतिक विपद्ले कर्णाली प्रदेशमा बर्सेनि क्षति पु¥याउँछ । असार लाग्दै गर्दा कर्णालीवासीलाई बर्खाको पिरलो बढ्ने गरेको छ । पहिरोको उच्च जोखिममा रहेको कर्णालीको करिब ५७ प्रतिशत भिरालो जमिन छ । कमजोर भू–बनोट अनि भौगोलिक विकटताका कारण कर्णाली विपद्को उच्च जोखिममा छ । वर्षामा बाढी र पहिरोबाट ठूलो क्षति हुनेगरेको छ । तर विपद् प्रतिकार्यमा न सरकारले समयमै ध्यान दिन्छ, न त पीडितले नै समयमै राहत पाउँछन् । बाढी र पहिरो पीडितहरू अझै त्रिपालमुनि छन् ।
जब, कर्णालीमा विपद् आइपर्छ, राज्यका निकायहरू केही बोरा चामल बोकेर आउँछन् । त्यति मात्र होइन, त्यही राहतमा पनि राजनीतीकरण हुन्छ । तर, विपद्बाट कर्णालीलाई जोगाउन नीतिगत तथा अन्य पूर्वतयारीका काम भने कमै हुन्छन् । यसपटक भने क्षति न्यूनीकरणका लागि सरकारले तयारी अघि बढाएको छ । कर्णाली प्रदेश सरकारले विपद् प्रतिकार्य योजना निर्माण गरेको हो छ । प्रदेश विपद् व्यवस्थापन परिषद्ले विपद् प्रतिकार्य योजना पारित गरेको हो । यो वर्ष मनसुनजन्य विपद्बाट कर्णालीमा १३ हजार जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ । जसमा तीन हजार घरधुरी प्रभावित हुनेछन् । आइतवारबाट विपद् प्रतिकार्य योजना पारित भइ लागू भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । विपद् प्रतिकार्य योजना २०८३, प्रदेश आपत्तकालीन गोदाम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८३, मनसुन प्रतिकार्य तथा पूर्व तयारी योजना २०८३ पारित भइ लागू गरिएको छ । यसले विपद्को जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।
यो वर्ष कर्णालीमा ६ सय ३३ वटा विपद्का घटना भएका छन् । प्रदेशभर विपद्का घटनामा १७ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । ६२ जना घाइते भएका छन् । यसैगरी प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक हेर्दा पछिल्ला चार आर्थिक वर्षमा विपद्का घटनाबाट चार सय १९ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा चार हजार पाँच सय ७९ विपद्का घटना भएका थिए । यरी बर्सेनि विपद्मा पर्ने गरेको कर्णालीलाई वर्षायाममा हुनसक्ने थप विपद् र क्षतिबाट जोगाउन पूर्वतयारी आवश्यक छ । यसका लागि तीनवटै तहका सरकारबीच समन्वय पनि चाहिन्छ । विपद्लाई रोक्न नसके पनि क्षति न्यूनीकरण गर्न सकिन्छ । यसतर्फ ध्यान दिन जरुरी छ ।
प्रकाशित मितिः १४ असार २०८३, आईतवार ०५:०३
सम्पादकीय ।