कर्णाली कप प्रतियोगिता हुँदै

सुर्खेत: कर्णाली कप टी–२० प्रतियोगिता आइतवारदेखि सुरु हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा कर्णाली प्रदेश क्रिकेट संघले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा कर्णालीका १० जिल्लामध्ये आठ जिल्लाको सहभागिता रहने जनाइएको छ । जसमा सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, रुकुमपश्चिम, सल्यान, जाजरकोट र मुगु छन् । मुगु जिल्ला पहिलोपटक प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा सहभागी हुँदैछ ।
शनिवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य एवम् प्रदेश सचिव श्रीधर केसीले आइतवारदेखि सुरु हुने प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता असार १८ गतेसम्म सञ्चालन हुने जानकारी दिए । उनका अनुसार कालुन्चोक र वीरेन्द्रनगर क्रिकेट मैदानमा दैनिक चार वटा खेल हुनेछन् ।
प्रतियोगिताको विजेता टोलीले उपाधिसहित एक लाख एक हजार नगद पुरस्कार पनि प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५१ हजार नगद र ट्रफी पाउनेछ । यस्तै उत्कृष्ट बलर र ब्याट्समेनले नगद पाँच–पाँच हजार र ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगिताकै सर्वोत्कृष्ट हुने खेलाडीले १० हजार नगद र ट्रफी प्राप्त गर्ने जनाइएको छ । उनले प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ हुने खेलाडीले नगद दुई हजार र ट्रफी प्राप्त गर्नेछन् ।
क्रिकेट संघका प्रदेश सचिव केसीले कर्णालीमा क्रिकेटको पहुँच विस्तार गर्दै हरेक जिल्लामा खेल गतिविधि सञ्चालन तथा खेलाडीहरू उत्पादन गर्नका लागि प्रतियोगीता आयोजना गर्न लागिएको जानकारी दिए । ‘क्रिकेटप्रति पछिल्लो समय आकर्षण बढ्दो क्रममा छ,’ उनले भने, ‘यस्ता प्रतियोगीताले क्रिकेट खेलको गतिविधि बढ्नुका साथै खेलाडी उत्पादन र पहिचानमा पनि सघाउ पु¥याउँछ ।’
प्रकाशित मितिः १४ असार २०८३, आईतवार ०५:०१
साझा बिसौनी ।