उपमहानगरमा स्तरोन्नति
कर्णाली प्रदेशको अग्रणी स्थानीय तह हो, वीरेन्द्रनगर नगरपालिका । प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर विकासका दृष्टिले पनि कर्णालीका अन्य पालिकाको तुलनामा अगाडि छ । जनसंख्यादेखि पूर्वाधार विकासलगायतका कोणबाट हेर्दा वीरेन्द्रनगर अब उपमहानगरपालिका बन्न सक्षम छ । त्यसो त वीरेन्द्रनगरले उपमहानगरको सपना देख्न थालेको पनि वर्षौ भइसकेको छ । विगत केही वर्षदेखि नै उपमहानगरको रूपमा प्रस्तावित भएपनि त्यसले पूर्णता पाउन सकेको छैन । यद्यपि, अहिले पनि नगरपालिकाले स्तरोन्नतिको पहल भने अघि बढाइरहेको छ । नगरले आगामी वर्षमा उपमहानगर घोषणाको योजनालाई नीतिगत रूपमै समेटेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत पनि नगरपालिकाले आफ्नो योजना सार्वजनिक गरेको छ ।
उपमहानगर बन्ने योजना बुनिरहेको वीरेन्द्रनगर नगरपालिकाको वार्षिक बजेट भने महानगरपालिकाको भन्दा पनि ठूलो छ । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वीरेन्द्रनगरले ल्याएको बजेट देशका ६ वटामध्ये दुईवटा महानगरको भन्दा ठूलो आकारको छ । बुधवार १९ औँ नगरसभामा नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले आगामी आर्थिक वर्षका लागि चार अर्ब ७१ करोड दुई लाख ७२ हजार बराबरको बजेट पेश गरेका छन् । जबकी आर्थिक केन्द्र मानिने विराटनगर महानगरपालिकाले आगामी वर्षका लागि तीन अर्ब ५६ करोडको बजेट ल्याएको छ । अर्को ठूलो आर्थिक केन्द्र रहेको वीरजंग महानगरको बजेट पनि वीरेन्द्रनगरको भन्दा सानो छ । वीरजंगले चार अर्ब ४२ करोड बराबरको बजेट पेश गरेको छ । महानगरकैभन्दा ठूलो आकारको बजेट बनाएको वीरेन्द्रनगर भने उपमहानगरमा स्तरोन्नति हुने प्रयासमा छ । आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउन पहल गरिने बताएकी छिन् । सबै हिसाबले वीरेन्द्रनगर उपमहानगर बन्न योग्य रहेको भन्दै उनले नीतिगत रूपमै निर्णय गरेर त्यसका लागि पहल थालिएको बताइन् ।
विगतदेखि नै उपमहानगर बनाउने योजना अघि सारिएपनि त्यसले पूर्णता पाउन सकेको छैन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर प्रदेशकै प्रमुख आर्थिक केन्द्र पनि हो । पूर्वाधार विकासदेखि जनसंख्याको हिसाबले पनि उपमहानगर बन्न योग्य रहेको जनाइएको छ । वीरेन्द्रनगरको वार्षिक बजेट पनि बढ्दै गएको छ । आगमी वर्षका लागि प्रस्तुत गरिएको बजेट चालु आर्थिक वर्षको तुलनामा ३२ करोड ७५ लाखले बढी हो । चालु वर्षका लागि नगरपालिकाले चार अर्ब ३८ करोडको बजेट ल्याइएको थियो । आन्तरिक आम्दानीमा भएको वृद्धिले पनि वीरेन्द्रनगरलाई उपमहानगरका लागि योग्य बनाउँदै लगेको छ । अब आवश्यक पहल गरेमा उपमहानगरको योजना साकार हुन सक्दछ ।
प्रकाशित मितिः १२ असार २०८३, शुक्रबार १०:५६
सम्पादकीय ।