बजेटमाथि प्रतिपक्षीको असन्तुष्टि

सुर्खेत: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको बजेटमा गम्भीर कमजोरी रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विरोध जनाएको छ । बिहीवार प्रदेश सभाको बैठक नै अवरुद्ध गरेको छ ।

बजेट उद्देश्यविहीन, असन्तुलित र जनअपेक्षाअनुसार नभएको आरोप लगाउँदै प्रतिपक्षी दल नेकपाले बैठक चल्न नदिएको हो । प्रदेशसभाको बैठकमा नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाहीले सरकारले प्रतिपक्षका सुझाव र असहमति बेवास्ता गर्दै बहुमतको आडमा बजेट पारित गर्न खोजेको आरोप लगाए । उनले विपक्षी दललाई पेलेर अघि बढ्ने प्रवृत्ति लोकतान्त्रिक अभ्यासविपरीत रहेको बताए । ‘गलत कुरा पनि बहुमतको बलमा पारित गर्न खोजिएको छ, यो प्रतिपक्षलाई स्वीकार्य हुँदैन,’ शाहीले बैठकमा भने, ‘बजेटमा स्पष्ट प्राथमिकता छैन, योजना छनोटमा उद्देश्य देखिँदैन र जनताका आवश्यकता सम्बोधन हुने आधार पनि कमजोर छ ।’

प्रतिपक्षले बजेटमाथि पुनः छलफल गरी कमजोरी सच्याउन सरकारसँग माग गरेको छ । संसद् अवरुद्ध भएपछि प्रदेशसभाको बैठक केही समयका लागि प्रभावित भएको थियो । सरकारले भने बजेटमाथि उठेका प्रश्नको जवाफ दिने तयारी गरिरहेको जनाएको छ । कर्णाली सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रूपैयाँको बजेट ल्याएको छ ।

प्रकाशित मितिः   १२ असार २०८३, शुक्रबार १०:५६