विपद् प्रतिकार्यमा कस्तो छ तयारी ?

सुर्खेत: वर्षायाममा प्राकृतिक विपद्ले कर्णाली प्रदेशमा बर्सेनि क्षति पुर्‍याउँछ । यसपटक भने क्षति न्यूनीकरणका लागि सरकारले तयारी अघि बढाएको छ । कर्णाली प्रदेश सरकारले विपद् प्रतिकार्य योजना निर्माण गरेको हो छ । प्रदेश विपद् व्यवस्थापन परिषद्ले विपद् प्रतिकार्य योजना पारित गरेको हो ।

यो वर्ष मनसुनजन्य विपद्बाट कर्णालीमा १३ हजार जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ । जसमा तीन हजार घरधुरी प्रभावित हुनेछन् । आइतवारबाट विपद् प्रतिकार्य योजना पारित भइ लागू भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । निर्माण गरिएको योजना अनुरूपका कार्यक्रम कार्यान्वयन गरिने मन्त्रालयका शान्ती सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख उत्तम गौतमले बताए । विपद् प्रतिकार्य योजना २०८३, प्रदेश आपतकालीन गोदाम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८३, मनसुन प्रतिकार्य तथा पूर्व तयारी योजना २०८३ पारित भइ लागू गरिएको गौतमले जानकारी दिए ।

केही दिनअघि मात्रै नेपालमा यसवर्षको मनसुन भित्रिएको छ । मनसुन भित्रिएसँगै वर्षा र विपद्को जोखिम पनि बढ्छ । असार लाग्दै गर्दा कर्णालीवासीलाई बर्खाको पिरलो बढ्ने गरेको छ । पहिरोको उच्च जोखिममा रहेको कर्णालीको करिब ५७ प्रतिशत भिरालो जमिन छ । कमजोर भू–बनोट अनि भौगोलिक विकटताका कारण कर्णाली विपद्को उच्च जोखिममा छ । वर्षामा बाढी र पहिरोबाट ठूलो क्षति हुनेगरेको छ । तर विपद् प्रतिकार्यमा न सरकारले समयमै ध्यान दिन्छ, न त पीडितले नै समयमै राहत पाउँछन् । बाढी र पहिरो पीडितहरू अझै त्रिपालमुनि छन् । तर, राज्य बेखबरजस्तै छ । जब, कर्णालीमा विपद् आइपर्छ, राज्यका निकायहरू केही बोरा चामल बोकेर आउँछन् । त्यति मात्र होइन, त्यही राहतमा पनि राजनीतीकरण हुन्छ । तर, विपद्बाट कर्णालीलाई जोगाउन नीतिगत तथा अन्य पूर्वतयारीका काम भने कहीँकतैबाट भएको पाइएको छैन ।

२०७१ सालको साउनमा बाढीपीडित बनेकाहरूको अझै व्यवस्थापन भएको छैन । त्यति बेलाको बाढी र पहिरोमा परेका सुर्खेतका नागरिकहरूको अहिले पनि सामुदायिक वनमा छाप्रो बनाएर बसेका छन् । त्यति बेलाका विस्थापितको पूर्णरूपमा व्यवस्थापन भने अझै भइसकेको छैन । उनीहरू अहिले पनि विभिन्न स्थानका अस्थायी शिविरमै छन् । बराहताल गाउँपालिका–२ का एक सय २५ घरधुरी गिरीघाटस्थित सामुदायिक वन क्षेत्रमा बसिरहेका छन् । विस्थापित भएकै एक दशक पुगि सक्दासम्म उनीहरूको पुनस्र्थापना हुन सकेको छैन ।

 

विपद्का घटनामा वृद्धि

यो वर्ष कर्णालीमा ६ सय ३३ वटा विपद्का घटना भएका छन् । प्रदेशभर विपद्का घटनामा १७ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । ६२ जना घाइते भएका छन् ।

यसैगरी प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक हेर्दा पछिल्ला चार आर्थिक वर्षमा विपद्का घटनाबाट चार सय १९ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा चार हजार पाँच सय ७९ विपद्का घटना भएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा चार सय १६ विपद्का घटना भएकोमा ८५ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा एक हजार दुई सय १६ विपद्का घटना भए । उक्त वर्षमा ६८ जनाले ज्यान गुमाए । यसैगरी आर्थिक वर्ष २०७९/०८० मा दुई हजार दुई सय १४ विपद्का घटना भएका थिए । जसमा ७२ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा सात सय ३३ विपद्का घटना भएकोमा एक सय ९४ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा आठ सय ११ वटा विपद्का घटना भएका छन् । उक्त घटनाबाट ३५ जनाको मृत्यु भएको थियो भने एक सय ८० जना घाइते भएका थिए । उक्त आर्थिक वर्षलाई कर्णालीमा विपद्को वर्षका रूपमा हेरिएको छ । विपद्का घटनामा पनि पहिरोको क्षति धेरै छ । आर्थिक वर्ष २०७७÷०७८ मा पहिरोमा परेर ५१ जनाको मृत्यु भयो । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १७ तथा आर्थिक वर्ष २०७९/०८० मा ४० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा ६ जनाको पहिरोमा परी ज्यान गएको छ । पछिल्लो समय विपद्का घटना कम भएपनि मानवीय क्षति बढी हुने गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरिक्षक एवम् प्रवक्ता सन्तोष सिंह राठोरले बताए । उनले यो वर्ष पनि छिटफूट रूपमा घटना भइरहेको जानकारी दिए ।

प्रकाशित मितिः   १२ असार २०८३, शुक्रबार १०:५५