कर्णाली राजमार्ग स्तरोन्नति योजना

सुर्खेत: कर्णाली राजमार्ग स्तरोन्नति योजना सरकारको प्राथमिकतामा परेको छ । संघीय सरकारले कर्णाली राजमार्ग स्तरोन्नतिका लागि एक अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट प्रस्तुत गर्दै कर्णाली राजमार्ग स्तरोन्नतिका लागि एक अर्ब बजेट विनियोजन गरेको जानकारी दिए ।

विगतका सरकारले पनि यो राजमार्ग निर्माणलाई प्राथमिकतामा राखेको भएपनि सोही अनुरूपको प्रगति हुन सकेको छैन । सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग सधैँ जीर्ण छ । सरकारको लगानी अनुसारको सुधार नहुँदा राजमार्ग जीर्ण भएको हो । मर्मत गरेको एक महिनामै सडक भत्किने, राखिएको ओटासिल उप्किने भएकाले लगानी अनुसारको सुधार नदेखिने गरेको हो ।

नेपाली सेनाले २०६३ सालमा निर्माण गरेको सडकलाई २०६६ सालमा सडक विभागलाई हस्तान्तरण गरेको थियो । सडक विभागले राजमार्गका विभिन्न १४ वटा पुल निर्माणमा एक अर्ब १३ करोड रूपैयाँ खर्च गरेको छ भने ओटासिल प्रविधिको कालोपत्रे गर्न र सेफ्टी बारसहित पर्खाल निर्माणका लागि विश्व बैंकको करिब दुई अर्ब रूपैयाँ खर्च भइसकेको छ । ठेकेदारको ढिलासुस्ती, अनुगमनको कमी, कमसल निर्माण सामग्री प्रयोगलगायतका कारण राजमार्ग झन् झन् जीर्ण बनिरहेको यहाँका सरोकारवालाको भनाइ छ ।

राजमार्ग स्तरोन्नति नहुँदा मृत्युमार्गको रूपमा परिचित बन्दै गएको दैलेखको डुङ्गेश्वरका स्थानीय जगल थापाले बताए । जीर्ण सडककै कारण दैनिक रूपमा दुर्घटना हुने गरेको भन्दै उनले सरकारले यो राजमार्गलाई छिटोभन्दा छिटो स्तरोन्नति गर्नुपर्ने जानकारी दिए ।

३२ वर्षअघि निर्माण सुरु भएको कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक खण्डको १८ वर्षअघि ट्र्याक खुलेको थियो । राज्यको उपेक्षामा परेको एक उदाहरण पनि हो, यो । वि.सं. २०४२ सालमा पहिलो पटक कर्णाली राजमार्गको रेखांकन गरी सर्भे गरिएको थियो । त्यसको ६ वर्षपछि २०४८ सालबाट राजमार्ग निर्माणको काम सुरु गरियो । सुरुको वर्षमा सडक निर्माणको लागि दुई करोड बजेट विनियोजन गरी काम थालिएको थियो । २०५६ सालमा विश्व बैंकले जिम्मा लिएपछि राजमार्ग निर्माणले तीव्रता पायो । सशस्त्र द्वन्द्वका कारण विश्व बैंकले निर्माणको काम गर्न सकेन । पछि सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइयो र ट्रयाक खुल्यो ।

सडकमा गाडी गुड्न थालेपछि कर्णालीबासीको जीवनस्तरमा केही परिवर्तन भने नभएका होइनन् । तर अपेक्षाकृत सुधार हुन भने सकेको छैन । यात्रामा हुने सास्ती त छँदैछ बर्सेनि भइरहने ठूला तथा साना दुर्घटनाले पनि ठूलो धनजनको क्षति हुँदै आएको छ । दुर्घटनाका कारण कर्णाली राजमार्गलाई मृत्युमार्गको रूपमा समेत चर्चा गर्ने गरिएको छ । संघीय सरकारले आगामी आर्थिक वर्षमा स्तरोन्नति गर्नका लागि योजना अघि बढाएको छ ।

सरकारले अघिल्ला वर्षहरूमा मर्मतका काम गर्दै आएको छ । तर ती कामहरू पर्याप्त भने छैनन् । प्रदेशको सबैभन्दा बढी दुर्घटना हुने स्थानको रूपमा यो राजमार्गलाई लिने गरिएको प्रहरीको भनाइ छ ।

सुर्खेतबाट जुम्ला जोड्ने सडक हो, कर्णाली राजमार्ग । प्रदेश राजधानी वीरेन्द्रनगरबाट दैलेख, कालीकोट हुँदै कर्णाली नदिको किनारै किनार भएर जुम्ला पुग्ने मार्ग अर्थात् कर्णाली राजमार्ग । यो राजमार्ग कर्णालीको प्रमुख पर्यटकीयस्थल रारा जोड्ने प्रमुख मार्गसमेत हो । यो राजमार्गलाई कर्णाली विकासको मेरुदण्डसमेत मानिएको छ । राजमार्ग सञ्चालनमा आएयता सानादेखि भयानक दुर्घटनाहरू भएका छन् । दुर्घटनाको क्रम अहिले पनि रोकिएको छैन् । तर पनि सरकारले यो सडकको स्तरोन्नतिमा ध्यानै पु¥याउन सकेको छैन । टालटुलका लागि फाट्ट–फुट्ट बजेट आउने गरे पनि समर्ग राजमार्ग विकासका लागि पर्याप्त बजेट नआउँदा सवारी दुर्घटनाहरू दिनप्रतिदिन बढीरहेका छन् ।

प्रकाशित मितिः   १७ जेष्ठ २०८३, आईतवार १५:३०