बालेन सरकारको बजेटः कर्णालीले के पायो ?
सुर्खेत: सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ बराबरको बजेट ल्याएको छ । चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत र पुँजीगततर्फ चार खर्ब ३१ अर्ब १० करोड विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ चार खर्ब २२ अर्ब ६४ करोड रूपैयाँ छुट्याइएको छ ।
बजेटमा कर्णाली प्रदेशका महŒवपूर्ण आयोजनाहरू समावेश गरिएको छ । आगामी वर्षभित्रै दैलेखको भैरवी गाउँपालिका– १ जलजलेमा फेला परेको पेट्रोलियम पदार्थलाई व्यावसायिक उत्पादन थाल्ने घोषणा गरिएको छ । चिनियाँ विज्ञ टोलीले गरेको अन्वेषणमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएपनि व्यावसायिक उत्पादनका लागि प्रक्रिया अघि बढ्न सकेको छैन । सरकारले आगामी वर्ष व्यावसायिक उत्पादन अघि बढाउने भएको छ ।
संघीय सरकारको बजेटमा कर्णाली राजमार्गले पनि प्राथमिकता पाएको छ । उक्त राजमार्ग स्तरोन्नतिका लागि एक अर्ब बजेट विनियोजन गरिएको छ । त्यस्तै, आगामी वर्ष कर्णाली कोरिडोरको ३१ किलोमिटर सडक कालोपत्रे गरिने जनाइएको छ । भेरी कोरिडोरको स्तरोन्नतिको योजना पनि संघीय सरकाले अघि सारेको छ ।
कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मुल्साङदेखि जुम्लाको टोप्ला र चिसापानी–बबई सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने अर्थमन्त्री वाग्लेले जानकारी गराए । संघीय सरकारले कर्णालीका सडक पूर्वाधारलाई प्रमुख पर्यटकीय क्षेत्रसँग जोडेर जडिबुटी, जलविद्युत, पर्यटन र खानीजन्य क्रियाकलापलाई अघि बढाउने घोषणा गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘कर्णाली कोरिडोर, भेरी कोरिडोर, जुम्ला हुँदै रारा र फोक्सुण्डोसम्मको कर्णाली चतुर्भुजमा जडिबुटी, जलविद्युत, पर्यटन र खानीजन्य क्रियाकलापलाई प्रश्रय पाउने व्यवस्था मिलाउनेछौँ ।’
संघीय सरकारले सुर्खेत विमानस्थललाई विस्तार गर्ने योजना पुनः अघि सारेको छ । प्रदेश सरकार स्थापना भएयता संघीय सरकारको बजेटमा निरन्तर समावेश हुँदै आएको तर विस्तार नभएको विमानस्थललाई पुनः विस्तार गर्ने योजना संघीय सरकारले अघि सारेको हो । संसद्मा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्ने योजना अघि सारेका छन् । यस्तै, मन्त्री वाग्लेले मुगुको ताल्चा विमानस्थल स्तरोन्नतिको योजनासमेत रहेको सुनाए ।
सरकारले रारामा पर्यटन पदमार्ग विकास गर्नुका साथै बर्दिया–रारा पदयात्रा सुरुवात गर्ने समेत जनाएको छ । पर्यटन विकासकै लागि कर्णाली र भेरी नदीमा ¥याफ्टिङसहित पर्यटन गतिविधि गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ । बजेटमा उल्लेख भएअनुसार कर्णाली प्रदेशमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिनेछ ।
पटक–पटक स्थगित हुँदै आएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार निर्माणका काम गरिने जनाइएको छ । दुईवर्ष अघि नै कर्णालीमा आयोजना हुनुपर्ने खेलकुद प्रतियोगिता पटक–पटक सरिसकेको छ । प्रतियोगिता आयोजना गर्न सुर्खेतमा प्रादेशिक रंगशालासहितका पूर्वाधार निर्माण भइसकेका छन् ।
कर्णालीको अर्को महत्वपूर्ण आयोजनाका रूपमा भेरी–बबई डाइभर्सन आयोजनाको हेडवक्र्स निर्माणको काम सम्पन्न गरिने छ । यस्तै, जाजरकोट, रूकुमपश्चिमका भूकम्पबाट क्षति भएका संरचनाको निर्माण गरिने छ । चार सय १७ मेगावाटको नलगाड जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गर्ने, वेतन कर्णाली आयोजना अगाडि बढाउने जस्ता योजना पनि बजेटमा समावेश गरिएको छ । यसरी कर्णाली प्रदेशका ठूला आयोजनाहरूलाई संघीय सरकारले आगामी वर्षको बजेटमा समेटेको छ ।
बजेटप्रति कर्णालीका उद्योगी व्यवसायीहरू उत्साहित देखिएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट उत्पादनमुखी उद्योगलाई प्रोत्साहन, निजी क्षेत्रमैत्री वातावरण, कर प्रणालीमा सहजीकरण, लगानी सुरक्षाको प्रत्याभूति तथा उद्योगी व्यवसायीमा उत्साह जगाउने खालका भएको सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मण कँडेलले बताए । आगामी बजेट अर्थतन्त्र चलायमान बनाउने, साना तथा मझौला उद्योगलाई राहत दिने, बैंक ब्याजदर नियन्त्रण गर्ने तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको भन्दै उनले यसको परिपालना हुनुपर्ने बताए । अहिले निजी क्षेत्र निराश रहेको अवस्थामा आशा जगाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने बजेट भएको पनि उनले जानकारी गराए ।
संघीय बजेटमा कर्णाली अङ्कविहीन जस्तो देखिएको अर्थविज्ञ सागर थापाले बताए । समग्रमा बजेट राम्रो देखिएपनि कर्णालीलाई भने उपेक्षित गरेको पाइएको भन्दै उनले कर्णालीका अधिकांश पुराना आयोजनाले बजेट अङ्कविहीन सम्बोधन पाएको तथा थोरै नयाँ मात्र सुनिएको जनाए ।
प्रकाशित मितिः १६ जेष्ठ २०८३, शनिबार ०९:३५

साझा बिसौनी ।