अलपत्र विमानस्थल
भौगोलिक कठिनाई र पूर्वाधार विकासमा पछाडि परेको कर्णाली प्रदेशका नागरिकका लागि हवाई सेवा यातायातको भरपर्दो माध्यम हो । यद्यपि, कर्णालीमा भएका कतिपय विमानस्थलहरू अलपत्र अवस्थामा छन् भने केही चर्चामै सीमित बनेका छन् । नयाँ विमानस्थल निर्माण, अलपत्र परेका विमानस्थलको निर्माण र सञ्चालनमा रहेका विमानस्थलको स्तरोन्नतिको योजना बनाइए पनि अधिकांश चर्चामै सीमित हुने गरेका छन् । उदाहरणका रूपमा सुर्खेत विमानस्थललाई नै हेर्न सकिन्छ ।
केही वर्षयता सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माणको विषय सरकारको हरेकजसो नीति तथा कार्यक्रम र बजेटमा समेत छुट्दैन । नीति तथा कार्यक्रम र बजेटमा आइरहने यो आयोजनाले अहिलेसम्म पूर्णता पाउन भने सकेको छैन । यद्यपि, संघीय सरकारको आगामी बजेटमा पनि प्रादेशिक विमानस्थलको विषयले स्थान पाएको छ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा सुर्खेतमा प्रादेशिक विमानस्थल विकास गरिने जनाइएको छ । तर संघीय सरकारले उल्लेख गरेको प्रादेशिक विमानस्थल वीरेन्द्रनगरस्थित विमानस्थलको कुरा हो या भेरीगंगामा प्रस्तावित विमानस्थल भन्नेमा अन्योल देखिन्छ । यसअघि भेरीगंगा नगरपालिकाको रामघाटमा प्रादेशिक प्रस्तावित विमानस्थलको अध्ययन भएको थियो । विमानस्थल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन तथा वातावरणीय प्रभाव मूल्यांकन (इआईए) पनि गरिएको छ । तर, यसको काम अघि बढ्न सकेको छैन । हरेक वर्षजस्तो सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माणको विषयले चर्चा पाइरहेको हुन्छ । सुर्खेत विमानस्थल मात्र होइन कर्णालीका अन्य विमानस्थल पनि निर्माण चर्चामा सीमित बनेका छन् । दैलेखमा विमानस्थल निर्माणको चर्चा हुन थालेको निकै अघिदेखि हो । महाबु गाउँपालिका–२, मानन्चौरमा विमानस्थल निर्माणका लागि २०४८ सालमा नै पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो तर त्यति बेला गरिएको अध्ययनको प्रतिवेदन हालसम्म पनि सार्वजनिक हुन सकेको छैन । महाबुसहित जिल्लाका तीन स्थानीय तहका विभिन्न स्थानमा विमानस्थल निर्माणका लागि पहल थालिए पनि काम अघि बढेको छैन । नारायण नगरपालिकाको धिताहा, महाबु गाउँपालिकाको मानन्चौर र दुल्लू नगरपालिकाको ठाडोलेखमा विमानस्थल निर्माण प्रारम्भिक अध्ययन र छलफल भएको थियो । यो विषय अहिले भने ओझेलमा परेको छ । पछिल्ला वर्षमा पनि दैलेखमा विमानस्थल बनाउनुपर्ने माग र चर्चा चलिरहन्छ ।
कर्णाली प्रदेशको अर्को जिल्ला जाजरकोटमा पनि विमानस्थल निर्माणको योजना चर्चामै सीमित हुँदै आएको छ । भेरी नगरपालिका वडा नं. १ वडालेखमा विमानस्थल निर्माण कुरा चलेको हो । अहिले उक्त विषय ओझेलमा परेको छ । विमानस्थल बनाउनुपर्ने चर्चा र छलफल भए पनि थप प्रव्रिmया भने अघि बढ्न सकेन । कर्णालीका जिल्लाहरू पर्यटकीय हिसाबले महङ्खवपूर्ण छन् । तर यातायात सेवा भरपर्दो नहुँदा त्यसको लाभ उठाउन असफल छ ।
प्रकाशित मितिः ३ जेष्ठ २०८३, आईतवार १३:२१
सम्पादकीय ।