व्यवसाय औपचारीकीकरण कार्यक्रम

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघको आयोजना तथा वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ कार्यालयको सहकार्यमा ‘व्यवसाय औपचारीकीकरण कार्यक्रम’ शनिवारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै वीरेन्द्रनगर वडा नं. ६ का अध्यक्ष जनकबहादुर रावलले वडा नं. ६ लाई प्रदेशको प्रमुख व्यावसायिक हबको रूपमा विकास गर्न व्यवसाय दर्ता तथा व्यवसायलाई कानुनी दायराभित्र ल्याउन आवश्यक रहेको बताए । उनले व्यवसायीहरूले व्यवसाय सञ्चालनसँग सम्बन्धित कानुनी, कर तथा व्यवस्थापकीय पक्षबारे स्पष्ट जानकारी राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले व्यवसायीहरूलाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण विषयमा जानकारी दिनु तथा उनीहरूलाई आफ्नै व्यवसायको वास्तविक अवस्थाबारे बुज्न सक्षम बनाउनु संघको प्रमुख उद्देश्य रहेको बताए । आगामी दिनहरूमा व्यवसायीका समस्या तथा आवश्यकताको पहिचान गरी सोहीअनुसार व्यवसायमैत्री कार्यक्रम, तालिम तथा अभिमुखीकरण सञ्चालन गर्ने नीति लिइएको जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिकाका उद्योग शाखाका शाखा अधिकृत दिपेन सुवेदी र राजश्व शाखाका शाखा अधिकृत पुष्पकेशर खनालले व्यवसाय दर्ता गर्दा हुने फाइदा, दर्ता नगर्दा पर्ने असर, स्थानीय तहले लिने व्यवसाय कर, बहाल कर तथा विज्ञापन कर सम्बन्धी जानकारी गराएका थिए । साथै उनीहरूले व्यवसाय सम्बन्धी वीरेन्द्रनगर नगरपालिकाले अवलम्बन गरेका नीति तथा नियम, स्थानीय सरकार सञ्चालन ऐन र स्थानीय तहका आर्थिक नियमसम्बन्धी विस्तृत सहजीकरण गरेका थिए ।

त्यसैगरी सुर्खेत उद्योग वाणिज्य संघका आर्थिक विज्ञ परामर्शदाता छविलाल आचार्यले वित्त व्यवस्थापन, कर प्रणाली, नगद प्रवाह तथा व्यवसाय व्यवस्थापनका विविध पक्षबारे अभिमुखीकरण गरेका छन् । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा करिब ७० जना उद्योगी–व्यवसायीहरूको सहभागिता रहेको छ ।

प्रकाशित मितिः   ३ जेष्ठ २०८३, आईतवार १३:२३