कर्णालीमा छैन जडिबुटी प्रशोधन केन्द्र

सुर्खेत: कर्णालीमा जडिबुटी प्रशोधन केन्द्र छैन । जडिबुटीको प्रचुर सम्भावना बोकेको प्रदेश त्यसको उपयोग गर्न नसक्दा विकासको हरेक दृष्टिबाट पछाडि धकेलिएको छ । संघीयता कार्यान्वयन भएको दशक पुग्न लागि सक्दासम्म पनि प्रदेश सरकारले जडिबुटी प्रशोधन केन्द्र निर्माण गर्न सकेको छैन । प्रदेशमै जडिबुटी प्रशोधन केन्द्र नहुँदा कौडीका भरमा जडिबुटी बिक्री हुनेगरेको छ ।

लागत साझेदारीमा जडिबुटी प्रशोधन केन्द्र निर्माण गर्ने प्रदेश सरकारले जनाएको छ । चालु आर्थिक वर्षमा समेत जडिबुटी प्रशोधन केन्द्र निर्माणका लागि बजेट छुट्याइएको थियो । साझेदारीमा प्रशोधन केन्द्र निर्माण गर्ने योजना बनाइएको भएपनि काम सुरु हुन नसकेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । जडिबुटी खेती प्रवद्र्धन गरेर कर्णालीमा उत्पादित जडिबुटीलाई व्यवस्थित रूपमा बिक्रीवितरण गर्न विभिन्न कार्यक्रम कार्यान्वयन भइरहेको मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले बताए । जडिबुटीबाटै कर्णालीको आर्थिक समृद्धि सम्भव रहेको भन्दै प्रशोधन केन्द्र निर्माण गरेर जडिबुटी संरक्षणका योजना राखिएको नेपालीले बताए । यो वर्ष काम सुरु नभएपनि आगामी आर्थिक वर्षमा कार्यान्वयन गर्नेगरी योजना अघि बढाइएको उनको भनाइ छ ।

अनेकौँ किसिमका जडिबुटी उत्पादन हुनेभएकाले कर्णाली प्रदेशलाई जडिबुटीको राजधानीका रूपमा चिनिन्छ । सरकारले कर्णालीलाई जडिबुटीको क्षेत्र भनेर केही वर्षअघि नै घोषणा गरिसकेको भएपनि त्यसको उपयोग गर्नेतर्फ ठोस काम हुन सकेको छैन । यद्यपि, जडिबुटीको पकेट क्षेत्र पहिचान, स्थायी नर्सरी निर्माण, जडिबुटी प्रजातिको प्राथमिकीकरण, जडिबुटी बिरुवा उत्पादन तथा खेती विस्तार गर्ने काम गरिएको मन्त्रालयले जनाएको छ । वनस्पति विज्ञहरूका अनुसार कर्णालीमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप कम भएकाले धेरै मात्रामा जडिबुटी उत्पादन हुने गरेका छन् । यहाँबाट ७९ प्रकारका जडिबुटी निर्यात गरिन्छ । कर्णालीमा एक सय ४७ जातको जडिबुटी पाइने अनुमान गरिए पनि प्रशोधन भण्डारणका लागि नेपालगञ्ज लैजानुपर्ने बाध्यता छ । प्रदेश सरकारले समयमा नै जडिबुटी प्रशोधन केन्द्र निर्माण गर्न सकेको छैन ।

कर्णालीका अधिकांश जडिबुटी बाह्य देशमा निर्यात हुँदै आएको छ । सरकारी तथ्यांकअनुसार वार्षिक रूपमा करिब १२ हजार मेट्रिक टन जडिबुटी कर्णालीबाट निर्यात हुँदै आएको छ । ती सबै जडिबुटी प्रशोधनविना नै कच्चापदार्थका रूपमा निर्यात हुने गरेको कर्णाली प्रदेश वन निर्देशनालयले जनाएको छ । कच्चापदार्थका रूपमा मात्र बहुमूल्य जडिबुटी प्रदेशबाट बाहिर निर्यात हुँदा यसबाट जति लाभ लिन सक्नुपर्ने हो त्यसको निकै थोरै मात्र प्राप्त भएको जनाइएको छ । प्रदेशमै कच्चापदार्थको प्रशोधन गरी तयारी सामग्री अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी मूल्यमा मात्र निर्यात गर्नसके आम्दानीको थप स्रोतसमेत प्राप्त हुन सक्दछ ।

 

दर्जनभन्दा बढी प्रशोधन केन्द्र अलपत्र

प्रदेश सरकारले आफ्नै लगानीमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरेको छैन । निजी क्षेत्रको लगानीमा निर्माण गरिएका प्रशोधन केन्द्रपनि प्रभावकारी रूपमा सञ्चालनमा छैनन् । कर्णालीका विभिन्न जिल्लामा निर्माण गरिएका दर्जनभन्दा बढी प्रशोधन केन्द्र अलपत्र अवस्थामा छन् । धेरै जसो निजी क्षेत्रको लगानीमा प्रशोधन केन्द्र निर्माण भएका थिए । वीरेन्द्रनगर नगरपालिका–९, काँक्रेविहारमा बर्सौं अघि निर्माण गरिएको जडिबुटी संकलन तथा प्रशोधन केन्द्र अलपत्र परेको छ । कर्णाली प्रदेशका १० जिल्लामा पाइने जडिबुटी संकलन गर्न २०६८ सालमा सुर्खेत उद्योग वाणिज्य संघले केन्द्रको भवन निर्माणको काम सुरु गरिएको थियो । जडिबुटी संकलन केन्द्रको पूर्वाधार निर्माणका लागि निजी–साझेदारी मोडेलमा काम सुरु गरिएको थियो । अहिले उक्त प्रशोधन केन्द्र अलपत्र अवस्थामा छ ।

डोल्पा जिल्लाको त्रिपुराकोटमा रहेको जडिबुटी प्रशोधन केन्द्रसमेत अलपत्र परेको छ । जिल्लामा पाइने जटामसी, भुल्ते, सोत्तर र बोझोलगायतका एक सयभन्दा धेरै जडिबुटी जिल्लामै प्रशोधन गरी बिक्रीवितरण गर्ने उद्देश्यले स्थापना गरिएको सो प्रशोधन केन्द्र प्रयोगविहीन बनेको हो । डिभिजन वन कार्यालय डोल्पाले अलपत्र अवस्थामा रहेका प्रशोधन केन्द्रको सञ्चालन र संरक्षण गर्ने जनाएको छ ।

कर्णालीमा एक सय ४७ जडिबुटी पाइन्छन् तर संकलन र प्रशोधन केन्द्र नहुँदा ती जडिबुटीको सदुपयोग हुन सकेको छैन । बजारीकरणमा पनि सरकारले बेवास्ता गरिरहेको छ । हिमाली जिल्लाबाट संकलन गरेर ल्याएको जडिबुटी स्थानीय सस्तोमै बिक्री गर्न बाध्य छन् । हिमाली जिल्लाबाट चर्को हवाई भाडा तिरेर जडिबुटी नेपालगञ्ज र सुर्खेत ल्याउनुपर्ने बाध्यता भएको कृषक बताउँछन् । जडिबुटी संकलन तथा भण्डारण केन्द्र नहुँदा संकलन गरेर ल्याएको जडिबुटी सड्ने र गुणस्तर कायम गर्न निकै चुनौती हुने व्यवसायीको गुनासो छ ।

प्रकाशित मितिः   ३० बैशाख २०८३, बुधबार १४:५३