कर्णालीबाट कांग्रेसको २१ बुँदे संकल्प

सुर्खेत: २१ बुँदे कर्णाली संकल्प पारित गर्दै नेपाली कांग्रेसको प्रदेशस्तरीय भेला सम्पन्न भएको छ । सोमवारदेखि वीरेन्द्रनगरमा सुरु भएको भेला मंगलवार २१ बुँदे कर्णाली संकल्प पारित गर्दै सम्पन्न भएको हो ।
भेलाले संविधानप्रदत्त नागरिकको स्वतन्त्रता र अधिकारलाई संरक्षण गर्दै नागरिकमुखी नीतिमार्फत उत्तरदायी र जवाफदेही सरकारको रूपमा थप प्रभावकारी ढंगले कार्य गर्ने पहिलो संकल्प गरेको छ । विगतमा कांग्रेसको नेतृत्वमा संघ, प्रदेश र स्थानीय तहमा सुरु भएका आर्थिक, सामाजिक, भौतिक विकास र सुधारका काम र नवीन सिर्जनात्मक अभियानहरूलाई सूचीबद्ध गरेर नागरिक पंक्तिमा पु¥याउने पनि कर्णाली संकल्पमा उल्लेख छ ।
संघीयता र संविधानको मर्मबमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको ‘तीन स’ अनुरूप समुन्नतिको मार्गमा अगाडि बढ्न संघीय सरकारलाई अपिल गर्दै आफू पनि समर्पित रहने संकल्प गरेको छ । ‘कर्णाली प्रदेशको विकासलाई विशेष प्राथमिकतामा राखी भौगोलिक विकटता र मानवीय विकासलाई समेत आधार मानी समन्यायिक ढंगबाट बजेट विनियोजन गर्न नेपाल सरकारलाई आग्रह गर्ने,’ संकल्पमा भनिएको छ ।
पार्टीको संगठन सुदृढीकरण गर्न र डिजिटल अभिलेखमार्फत सदस्यको योगदानलाई लिपिबद्ध गर्न र पार्टी अभियानमा आम सदस्यलाई सिधै जोड्न ‘जरा अभियान’ अन्तर्गत चलिरहेको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा सक्रिय रहन पार्टी पंक्तिलाई प्रेरित गर्ने र आवश्यक सहजीकरण गर्ने पनि संकल्पले संकल्प गरेको छ ।
प्रकाशित मितिः ३० बैशाख २०८३, बुधबार १४:५६
साझा बिसौनी ।