समस्याका चाङ

कर्णाली प्रदेशका धेरैजसो सामुदायिक विद्यालयमा अझै पनि पर्याप्त विषयगत शिक्षक छैनन् । भौतिक संरचना र शैक्षिक सामग्रीको अभाव कायमै छ । जनशक्तिदेखि भौतिक संरचनाको अभावका कारण सरकारी विद्यालयलाई शैक्षिक गुणस्तर सुधारमा चुनौती भएको छ । विभिन्न अध्ययनहरूले अन्य प्रदेशको तुलनामा यहाँको शैक्षिक गुणस्तर र सिकाइ उपलब्धिसमेत कमजोर भएको देखाएका छन् । सार्वजनिक शिक्षामा आवश्यक लगानीसमेत हुन नसकेको सरोकारवालाहरू बताउँछन् । पर्याप्त त परको कुरा कतिपय विद्यालयमा अत्यावश्यक लगानीसमेत भएको पाइँदैन । सार्वजनिक शैक्षिक संस्थाहरूमा राज्यको लगानी कम भएकै कारण गुणस्तरीय शिक्षा दिन समस्या देखिएको छ ।

पूर्वी सुर्खेतको लेकवेशी नगरपालिका वडा नं. ७ लवनामा रहेको लक्ष्मी माध्यमिक विद्यालय यस्तै एक उदाहरण हो । यो विद्यालयमा पूर्वप्राथमिक (बालविकास) देखि माध्यमिक तहसम्म पढाइ हुन्छ । उक्त विद्यालयमा तीन सय १२ जना विद्यार्थी छन् । तर विद्यालयले वर्षौंदेखि शिक्षक अभाव बेहोर्दै आएको छ । भौतिक पूर्वाधारको पनि उस्तै बिजोग छ । पर्याप्त कक्षा कोठा, सिकाइ सामग्री र खेल मैदानजस्ता शैक्षिक पूर्वाधार छैनन् । दरबन्दीअनुसारको जनशक्ति नहुँदा पठनपाठनमा निकै समस्या भएको छ । माध्यमिक तहसम्म पढाइ सञ्चालन भइरहेको विद्यालयमा प्राथमिक तहमा मात्र स्थायी दरबन्दी कायम छ । निम्न माध्यमिक र माध्यमिक तहमा दरबन्दी नै कायम भएको छैन । दरबन्दी कायम नहुँदा विषयगत शिक्षकको अभाव हुने गरेको छ । निम्न माध्यमिक विद्यालय तहमा अंग्रेजी, विज्ञान र सामाजिक विषयका शिक्षक छैनन् । माध्यमिक तहमा सामाजिक र नेपाली विषयका शिक्षक छैनन् । शिक्षक अभावमा पठनपाठन प्रभावित भएको भन्दै विद्यालयले नगरपालिका गम्भीर बन्नुपर्ने जनाएको छ । यो त एउटा प्रतिनिधिमूलक सामुदायिक विद्यालय हो । कर्णालीका कैयन् सामुदायिक विद्यालयको हालत पनि यस्तै छ ।

विद्यालय भवन जीर्ण छन् । न शैक्षिक सामग्री छन् न त कक्षा कोठा नै व्यवस्थित छन् । विद्यालयमा समस्याका चाङ्ग छन् । शिक्षक र शैक्षिक वातावरणको अभावमा सिकाइ उपलब्धीसमेत अपेक्षित हुन सकेको छैन । विद्यालयमा शिक्षक र विद्यार्थीहरूको नियमितता समेत छैन । विद्यालयहरूमा अपाङ्गमैत्री संरचना छैनन्, सबैजसो विद्यालयमा खानेपानी, शौचालयजस्ता आधारभूत पूर्वाधारको कमी छ । खस्कदो शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न योजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने देखिन्छ । यसका लागि तीनवटै तहका सरकारले विशेष कार्यक्रम तयार पार्नु जरुरी छ । विद्यालयको भौतिक संरचनाहरूमा सुधारका साथसाथै शिक्षक दरबन्दीमा पनि ध्यान पु¥याउन आवश्यक छ । शिक्षक–विद्यार्थी अनुपात नमिल्दा पठनपाठन प्रभावकारी हुन सक्दैन । जसले शैक्षिक क्षेत्र सुधार हुन सक्दैन ।

प्रकाशित मितिः   ८ चैत्र २०८२, आईतवार ०५:०३