एम्बुलेन्स तोडफोड गर्ने तीन जना पक्राउ

सुर्खेत: एम्बुलेन्स तोडफोडमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रूकुम–पश्चिमको चौरजहारीबाट बिरामी लिएर नेपालगञ्जतर्फ जाँदै गरेको सल्यानको कुमाख गाउँपालिकाको एम्बुलेन्समा शुक्रवार राति एक समूहले आक्रमण गरेको थियो । कुमाख गाउँपालिकाको कर्णाली प्रदेश ०२ ००१ झ ०१३८ नम्बरको एम्बुलेन्समा सुर्खेतको छिञ्चुनजिकै रामघाट बजारमा राति १० बजेतिर मदिरा सेवन गरेका युवाहरूले आक्रमण गरेका थिए । प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

उनीहरूमाथि सार्वजनिक सम्पत्ति तोडफोड तथा अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाइने भएको छ । आठ÷नौ जनाको समूहमा आएका युवाले एम्बुलेन्स तोडफोड गर्नुका साथै आफूलाई कुटपिट गरेको चालक वसन्त शर्माले बताए । ‘ज्यानको जोखिम भएपछि भागेर ज्यान बचाएँ,’ उनले भने । चालक भागेपछि आक्रमणकारीले एम्बुलेन्स तोडफोड गरेका थिए ।

मदिरा सेवन गरेका युवाले सडक अवरोध गरी एम्बुलेन्स रोकेर आक्रमण गरेको चालक शर्माले बताए । आक्रमणबाट एम्बुलेन्स पछाडिको भाग र बडीमा क्षति पुगेको उनले जानकारी गराए । उनका अनुसार आक्रमण गरेपछि प्रहरीलाई फोन गरेको र घटनास्थलमा प्रहरी आउन नपाउँदै आक्रमणकारी फरार भएका थिए । आफूलाई कुटपिट गर्नुका साथै एम्बुलेन्स तोडफोड गरे पनि बिरामीलाई सकुशल नेपालगञ्ज पु¥याएको उनले जानकारी गराए । बिरामी लिएर गइरहेका बेला आक्रमण गर्नेलाई कारबाहीका लागि उनले माग गरेका छन् ।

प्रकाशित मितिः   ८ चैत्र २०८२, आईतवार ०५:०१