अनुसन्धानमै लामो समय

सुर्खेत: इनिसा विक प्रकरणको अनुसन्धानमै लामो समय लागेको छ । फागुन २३ गते उनको मृत्यु भएको थियो । बलात्कारपछि हत्याको आशंकामा प्रहरीले दुई सातादेखि अनुसन्धान गरिरहेको छ । तर अनुसन्धान टुँगिएको छैन ।

१६ वर्षीया इनिसा वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई अस्पताल पु¥याउँदा मृत्यु भइसकेको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले चारजना युवकलाई नियन्त्रणमा लिएको छ । उनीहरूमाथि अनुसन्धान चलिरहेको छ । चारैजना १८ वर्षमूनिका छन् । उनीहरू इनिसासँगै एउटै विद्यालयमा पढ्ने सहपाठीहरू हुन् ।

उक्त घटनाबारे सुर्खेत प्रहरीले सुरुवातदेखि नै अनुसन्धान अघि बढाएको थियो । बलात्कारपछि हत्या गरिएको हुनसक्ने देखिएपछि थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पनि खटाइएको छ । तर घटना भएको दुई साता बित्दा पनि अनुसन्धानले पूर्णता पाएको छैन भने वास्तविकता बाहिर आउन सकेको छैन ।

प्रहरीले पक्राउ परेका युवकहरूसँग बयान लिइसकेको छ । उनीहरूले हत्यामा संलग्नता इन्कार गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार केही दिन भित्रैमा अनुन्धान सक्ने तयारी छ ।

तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि पर्याप्त रूपमा जनशक्ति परिचालन गरिएकाले छिटै घटनाको निष्कर्ष बाहिर आउने छ ।
दानबहादुर कार्की/प्रहरी महानिरीक्षक

 

तथ्य पत्ता लगाउन मृतक र आरोपितहरूका मोबाइलसहित भजाइनल स्वाबलगायत परीक्षण भइरहेको छ । केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टक्सिकोजिकल, बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको छ । उक्त रिपोर्टबाट वास्तविक तथ्य खुल्ने बताइएको छ ।

इनिसाका आफन्तहरू न्यायको माग गरिरहेका छन् । पीडितलाई न्याय र पीडकलाई कारबाहीको माग गर्दै सुर्खेतसहित काठमाडौंलगायत देशभरका विभिन्न स्थानमा प्रदर्शन पनि भइरहेका छन् । न्यायको अनुभूति नहुँदासम्म इनिसाका परिवारले उनको शव बुझ्न मानिरहेका छैनन् । जसले गर्दा दुई सातादेखि उनको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा छ । इनिसामाथि सामूहिक बलात्कारपछि हत्या भएको भन्दै उनीहरूले त्यसमा संलग्नहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा किटानी जाहेरी दर्ता गराएका छन् ।

यसैबीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले इनिशा विक हत्या प्रकरणमा तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय जाति तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सुर्खेतको उक्त घटनामा कानुनलाई अक्षरशः पालना गर्दै तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका हुन् ।

कार्कीले पीडित परिवारसँग निरन्तर सम्पर्क भइरहेको र दोषीलाई कारबाहीका साथै न्याय पाउनुपर्ने आवाजको सुनुवाइ हुने प्रतिबद्धता समेत जनाए । अनुसन्धानका लागि पर्याप्त रूपमा परिचालन गरिएकाले छिटै उक्त घटनाको निष्कर्ष बाहिर आउने उनको भनाइ छ ।

फागुन २३ गते बिहान ६ बजे इनिसा ट्युसन पढ्न भनेर घरबाट निस्किएकी थिइन् । तर त्यसको केही घण्टापछि उनी जंगलमा अचेत अवस्थामा फेला परिन् । अस्पताल पु¥याउँदा उनको मृत्यु भइसकेको थियो ।
पोस्टमार्टम रिपोर्टका अनुसार उनीमाथि बलात्कार भएको देखिएको छ । परिवारको जाहेरीपछि भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डाक्टर अर्विन शाक्यको टोलीले प्रदेश अस्पतालमा पुगेर इनिशाको शव परिक्षण गरेको थियो । त्यो परीक्षणबाट जबरजस्ती करणीका क्रममा संवेदनशील अंगमा गम्भीर चोट लागेर अत्यधिक रक्तश्राप भइ उनको मृत्यु भएको उल्लेख छ ।

प्रकाशित मितिः   ८ चैत्र २०८२, आईतवार ०५:०५