पीडितलाई न्याय, पीडकलाई सजाय
फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ को जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिका बेहोस अवस्थामा भेटिइन् । उनलाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भएको घोषणा गरे । यो घटनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । ट्युसन पढ्न भनेर घरबाट हिँडेकी इनिसा बिकको मृत्युको घटना जघन्य अपराधतर्फ सोझिएको छ । बलात्कारपछि हत्या गरिएको हुनसक्नेतर्फ प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले चारजना युवकलाई पक्राउ पनि गरिसकेको छ । पक्राउ पर्नेहरू सबै १८ वर्षमुनिका युवकहरू छन् । त्यसकारण उनीहरूको नाम भने खुलाइएको छैन । नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
घटना फागुन २३ गते बिहानको हो । वीरेन्द्रनगर नगरपालिका–४ को जनजागरण सामुदायिक वनमा बिहान ९ बजेतिर मर्निङवाक गर्न गएकाहरूले किशोरी बेहोस अवस्थामा फेला परेको भन्दै प्रहरीलाई फोन गरेका थिए । त्यसपछि घटनास्थल पुगेको प्रहरीले सोधपुछका क्रममा उनी गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीय इनिसा विक भएको पत्ता लाग्यो । त्यसपछि उपचारका लागि प्रदेश अस्पताल पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । घटनामा संलग्न भएको आशंकामा सोही दिन प्रहरीले घटनास्थल नजिकैबाट १६ वर्षीय एक बालकलाई पक्राउ गरेको थियो । त्यसपछि मृतकका आफन्तले फागुन २४ गते दिएको प्रहरीमा उजुरीसमेत दिए । सोही उजुरीका आधारमा प्रहरीले थप तीनजनालाई पनि पक्राउ गरेको छ । जसमा १५, १६ र १७ वर्षीय युवकहरू रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृतक बालिका वीरेन्द्रनगरको एक निजी स्कुलमा कक्षा ११ मा अध्ययनरत थिइन् । प्रहरीलाई आफन्तहरूले भने अनुसार, इनिसा २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । तर उनी पढ्ने विद्यालय र इनिसा बेहोस अवस्थामा भेटिएको स्थान निकै टाढा छ । स्कुलभन्दा उत्तरतर्फ करिब १० किलोमिटर दुरीमा पर्ने उक्त जंगलमा इनिसा रक्ताम्य अवस्थामा भेटिएकी थिइन् ।
मृतकका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै दोषीहरूलाई कारबाहीको माग गरेका छन् । नेपाली समाज बालिकाहरूका लागि सुरक्षित हुन सकिरहेको छैन । जघन्य अपराधका सिकार भइरहेका छन् । विभिन्न समयमा बलात्कार र हत्याका घटना भएका छन् । अझ यस्ता घटनाहरू पीडितका आफन्त, साथीभाइ वा नजिकका व्यक्तिहरूबाट भइरहेका छन् । जसले नेपाली समाजका हिंस्रक र आपराधिक प्रवृत्तिलाई देखाउँछ । बलात्कार होस् र बलात्कारपछिको हत्या यस्ता घटनाहरूको छानविनमा सम्बन्धित निकायहरूले पनि विशेष संवेदनशीलता देखाउन जरुरी हुन्छ । पीडितले न्याय पाउने र पीडकहरू कानुनी दायरामा आउने कुराको सुनिश्चितता अपरिहार्य छ ।
प्रकाशित मितिः २८ फाल्गुन २०८२, बिहीबार ११:३७
सम्पादकीय ।