एउटा पतन यात्रा
पद, सत्ता र शक्तिले मैमत्त भइ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अकारण सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइदिए । बहाना जेसुकै भएपनि सामाजिक सञ्जालमा दिनप्रतिदिन ओलीको आलोचना बढ्दै जाँदा उनलाई असैह्य भैरहेको थियो । अहंकारले समयलाई छेक्ने दुस्साहस गर्दा जेन–जी आन्दोलनको आँधी थेग्न नसकी हतारमा राजीनामा दिएर ओली सेनाको हेलिकप्टरमा भागे । अन्तध्र्यान भएको हप्ता÷दस दिनपछि पीतवस्त्र धारण गरेर उनी भक्तपुरको गुणमा प्रकट भए ।
पोखरामा गर्ने भनेर प्रचारप्रसार गरिए पनि आन्दोलनको आलोकबाट बनेको सुशीला कार्की सरकारले ओलीलाई स्थानहद गरेको कारण हतार–हतारमा एमालेको ११औं महाधिवेशन भक्तपुरमा आयोजना गरियो । हतार किनभने विद्यादेवी भण्डारीकाविरुद्ध ओलीले आन्तरिक रूपमा पहिलादेखि नै तयारी गरिरहेका थिए । ऐन–मौकामा अनुकूल पार्नका लागि जिल्ला–जिल्लामा आफ्ना गुटका नेता–कार्यकर्तालाई महाधिवेशनका निम्ति भित्रभित्रै सुक्ष्मरूपमा व्यवस्थापन गरिरहेका थिए । आन्दोलनपछि बाहिरफेर मात्र होइन, उनको चर्को आलोचना पार्टी भित्र पनि बढ्दै जान थाल्यो । आलोचनाले आफ्नो गुट कतै तितरबितर हुन्छ कि भन्ने डर पलाउन थालेपछि नियम–कानुनलाई बेवास्ता गर्दै पार्टी अध्यक्षमा पुनः अनुमोदन हुनका लागि नै निर्धारित समय अगावै महाधिवेशन गरिएको कुरा सबैमा पूरापूर जानकारी नभए पनि यथार्थ त्यही हो ।
तानाबाना बुनेर ओली पार्टी अध्यक्षमा अनुमोदित भएपछि सरकारका विरुद्धमा आगो ओगल्न थाले । को हो तपाईं चुनाव गराउने ? कसले दियो आदेश ? यस्तो हाहुको सरकार हट्नु पर्दछ, हटाइने छ । सरकारका निकायलाई त्रसित पारेर कार्की सरकारलाई असफल पार्ने रणनीतिमा त्यस्तो हुंकार गरिरहेका थिए । तब त अख्तियार प्रहरी लगायतका संस्थाले सरकारको आदेश–निर्देशलाई अटेर गरिरहेका थिए । किनकि कार्की सरकार ढलेपछि सत्तामा फेरि ओलीहरूको ढलिमली चल्छ भन्ने मनोबिज्ञानले काम गरिरहेको थियो । जाँचबुझ आयोगलाई ‘बयान दिन्नँ, सक्छौ भने गोलि हान’ भन्ने आशयले सरकारलाई खुला चुनौती दिएका थिए । धरहरा, सुरुङमार्ग, भ्युटावरलगायत निर्माणको जस थाप्ने तर जेन–जी मारेको जिम्मेवारी किन पन्छाउने भन्ने सर्वत्र चासोमा ओलीको दम्भ थियो कि यो नेतृत्व माथिको आक्रमण हो यसलाई निस्तेज पार्नुपर्छ । ‘एमाले नेतृत्वलाई छोएका दिन देश ठप्प हुनुपर्दछ यो सरकार ढल्नु पर्दछ । ढालिने छ यो सरकारलाई’ ओली र ओलीको समर्थनमा एमालेका नेता महेश बस्नेतले कार्की सरकारलाई पालैपालो उछितो काढिरहेका थिए ।
चुनाव रोक्न कार्की सरकारलाई असफल पार्न र फेरि सत्ता कब्जा गर्न ओलीले अनेकन दाउपेच गरिरहेका थिए । ती मध्यको एउटा दाउपेच हो संसद् पुनर्गठनका लागि अदालतमा मुद्दा दायर गर्नु । संसद् पुनर्गठनका लागि जसले जसरी मुद्दा हाले पनि त्यहाँ ओलीकै गन्ध आउँथ्यो । किनभने त्यो उनको हित र स्वार्थमा मेल खान्थ्यो । अदालतले दरपीठ गर्न सकेन कि चाहेन तर मुद्दा फागुन २१ अर्थात चुनाव पछाडि धकेलिदियो । जेन–जी आन्दोलनबाट लखेटिएका ओलीले सरकारका विरुद्ध आन्दोलन गर्ने कुनै बहाना र ठोस आधार नपाएको अवस्थामा रास्वपाका सभापति रवि लामिछाने अदालतबाट धरौटीमा छुटेपछि उनलाई चुनावमा नगइ नहुने बाध्यकारी अवस्था सिर्जना भयो । दोस्रोपटक तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटघाट गरे । मिलेर चुनाव लड्ने, २०७९ को मत परिणाम अनुसार कांग्रेसले जितेको क्षेत्रमा एमालेले उम्मेदवारी नदिने त्यस्तैगरी एमालेले जितेको क्षेत्रमा कांग्रेसले उम्मेदवारी नै नदिने र बाँकी अन्य क्षेत्रमा बाँडफाँट गरेर हिसाब मिलाउने अरु पार्टीलाई कतै पर्न–खान नदिने त्यस्तो षड्यन्त्र थियो त्यो गोप्यताभित्र । तब चुनावको विरोध गरिरहेका ओली पछिल्लोपटक मत्थर हुँदै गए ।
देउवा ओलीको भेद जानेका तत्कालीन कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस विशेष महाधिवेशनको माग मात्र गरि रहेका थिएनन्, कांग्रेसले चुनाव अगाडि कसैसँग गठबन्धन गर्दैन पनि भनिरहेका थिए । कांग्रेसको विशेष महाधिवेशनले थापालाई सभापति बनाएर देउवा–ओलीको गोप्य सहमति पनि चकनाचुर पारिदियो । यसमा देउवाभन्दा ज्याद ओली नै चिन्तित थिए, सडकबाट नेतृत्व फेर्न पाइन्न भन्ने उनको आसयले त्यसलाई पुष्टि गर्दछ । यसैबीचमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले झापा–५ बाट उम्मेदवारी दिनसक्ने भन्ने राजनीतिक वृत्तमा एउटा चर्चा चल्यो । यसलाई ‘खुखुरा, बाख्रा र स्यालको एकता’ भनी खिसिट्युरीमा उडाए पनि उनी निकै झस्केका थिए, किनकि बालेन शाह तिनै व्यक्ति हुन्, जसले स्थानीय चुनावमा केशव स्थापितलाई चुपचाप धूलो चटाएका थिए ।
बालेनप्रति जनताको समर्थन र उभार ओलीले देखिसकेका थिए । त्यसकारण बालेनलाई झापामा निषेध गर्न उनले गुण्डुबाट कडा निर्देशन दिए । सोही अनुरूप सडक ढाक्ने ब्यानरसहित झापा–५ बाट उम्मेदवारी नदिन विरोध जुलुस निकालियो । यही एउटा घटनाले पुष्टि गर्छ ओलीको मनोदशा । संविधानले दिएको कुरा कसैको निषेधले बालेन रोकिएनन् झापा क्षेत्र नं. ५ बाट उम्मेद्बारी दिए । किन कि ओलीलाई बालुवाटार सिंहदरबार र संसद भवनमा विधिवत निषेध गरिदिनु थियो । किनकि दम्भ र अहंकारमा चिसो पानी खन्याइदिनु थियो । किनकि भोलि कतै मुख देखाउन नसक्ने गरि दाह्रा नङ्ग्रा भाँचिदिनु पनि थियो । उम्मेदवारी दिएर बालेन देश दौडाहा गरिरहँदा ओली झापामै खुम्चिन पुगे । ‘अण्डा दुई प्रकारका हुन्छन्, एउटा बतासे र अर्को साँच्चैको अण्डा, कोही ठुटे सिङ लिएर मेरो क्षेत्रमा चुनाव लड्न कस्सिएका छन्’ भन्दै सार्वजनिक मञ्चबाट बालेनलाई कटाक्ष गरे पनि त्यसको क्षति आफ्नै टाउकोमा थुप्रदै गएको समेत उनको प्रवृतिले चाल पाएन, किनकि सम्भावित पराजयबाट उनी अत्यन्त भयभीत थिए ।
सकेसम्म चुनाव पन्छाउन, नभए सार्नका लागि ओली निकै लागिपरेका थिए । जेन–जी आन्दोलनको आलो घाउसँग भिड्न चुनावमा जाँदा जनताले बाँकी राख्दैनन् भन्ने कुरा उनले बुझिसकेका थिए । कहिले ललितपुरको हात्तीवनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग गोप्य खुसामत गर्ने कहिले बालुवाटारमा दुई घण्टासम्म प्रधानमन्त्रीलाई गाँजेर चुनाव सार्न अनुनय र विनय गर्ने गतिविधिले उनको मनोदशा प्रष्ट परिरहेको थियो । कुनै उपाय नभेटिएपछि सामाजिक सञ्जालमा आफ्ना कार्यकर्तालाई सक्रिय रहन निर्देशन गर्दै समय अभावका बाबजुद पनि उनलाई चुनाव स्वीकार्नु अपरिहार्य हुन गयो ।
अब चुनावी माहोलका लागि देश दौडाहा गर्नुपर्नेमा आफ्नो अस्तित्व जोगाउन रक्षात्मक बनेका ओलीलाई जनताको घरदैलो गर्नुपर्ने एउटा बाध्यकारी अवस्था आइलाग्यो । जो कसैलाई ओंठेजवाफ फर्काउन माहिर ओली जनताका तिखा प्रश्न टाउको हल्लाउँदै चुपचाप सुन्ने धैर्यता राखे । कतै–कतै झुटको सहारामा जनतालाई फेरि मूर्ख बनाउन खोजे । जस्तैः शेरबहादुर देउवाको घरमा जलेको भनिएको पैसा सक्कली होइन एआइले पो बनाइ दिएको हो । जस्तैः सुकुम्बासीलाई जग्गाधनी पूर्जा बाँडदै गर्दा सरकार ढालियो । खास सरकार ढलेको जग्गाधनी पूर्जा बाँड्दै गर्दा हो कि जेनजी आन्दोलनमा मान्छे मारिदै गर्दा हो ? उनका कुरा सहजै पत्याइदिन्छन् कसैले ? चुनाव जित्नका लागि झुठ बोलेको कुरा मतदाताले थाहा नपाउने कुरै भएन । तब त तात्तिए जनता खोइ रेल ? खोइ त खोइ पानीजहाज ? त्यसको जवाफमा ओली फेरि बोले, ‘म प्रधानमन्त्री भएँ भने ६ महिना भित्र घर–घरमा ग्यास पु¥याइदिन्छु ।’ कतैबाट चुनाव जित्ने लक्षण नदेखिएपछि ऊनी अत्तालिंदै केही मनगढन्ते कुरा कथेर आधार बनाउन खोजिरहेका थिए ।
देश जलाउने र देश बनाउने बीचको चुनाव भनी जनतालाई दिग्भ्रममा पार्न खोजिए पनि सचेत झापाले यतिखेर ओलीलाई फेरि कहिल्यै उठ्न नसक्नेगरि धूलामा पछारिदियो । बालेनले ६८ हजार तीन सय ४८ मतबाट विजय प्राप्त गर्दा वर्षौंदेखि चुनाव लड्दै आएको आफ्नो गढमा ओलीले १८ हजार सात सय ३४ मतबाट सर्मनाक हार व्यहोर्नु प¥यो । उनकै कारण ७० जिल्लामा एमालेको कन्तविजोक मात्र भएन कतिपय उमेदवारको धरौटी जफत पनि भयो । २०७९ सालमा ७९ सिट जितेको एमाले खराब नेतृत्वको कारण यतिखेर २५ सिट्मा मात्र सिमित हुन पुग्ने अवस्थामा छ । विषेशगरि ठुला तीन पार्टीको नेतृत्व प्रति के रहेछ जनताको धारण भन्ने मुल प्रश्नको जवाफ पनि हो, यसपटकको चुनावी परिणाम । सत्ताको उन्मादले पतन यात्रामा हिँडेका ओलीले पार्टीलाई पनि रसातलमा पु¥याए । पार्टी भित्र पनि उनको विकल्पमा सबै एकमत हुँदै गएको खबर मिडियामा आइरहेको छ । अब पार्टी नेतृत्वबाट अलग भएर मात्र ओलीले पार पाउन मुस्किल छ । धेरै कुराको जवाफ नदिएर अथवा कानुनको खिल्ली उडाएर सायद उनले धर पाउन सक्दैनन् । जीवनको उत्तरार्धमा समयले ओलीलाई एउटा खुंखार खलनायकको रूपमा चित्रण गर्न खोजिरहेको देखिन्छ ।
-उमालाल आचार्य
प्रकाशित मितिः २८ फाल्गुन २०८२, बिहीबार ११:३७

उमालाल आचार्य ।