‘ग्रेटर घण्टाघर’ योजनाः खुला पार्कदेखि मण्डलासम्म

सुर्खेत: ‘ग्रेटर घण्टाघर’ योजनाअन्तर्गत धमाधम संरचना निर्माणको काम भइरहेका छन् । घण्टाघर पार्क र पार्कभन्दा बाहिरको क्षेत्रलाई समेत समेटेर व्यवस्थित गर्न लागिएको हो । कर्णालीका दश जिल्लाको सांस्कृतिक तथा पर्यटकीयस्थलको झल्को दिने गरी वीरेन्द्रनगर नगरपालिकाले ‘ग्रेटर घण्टाघर’ योजना अघि सारेको हो । त्यसका लागि घण्टाघर क्षेत्र आसपासदेखि नगर कार्यपालिका कार्यालय क्षेत्रसम्म विभिन्न संरचना निर्माण गर्ने जनाएको छ ।

वीरेन्द्रनगरको मुख्य क्षेत्र २०४५ सालमा निर्मित संरचनालाई पुनर्निर्माण गरेर ‘ग्रेटर घण्टाघर’ बनाउन लागिएको छ । ‘ग्रेटर घण्टाघर’ बनाउन व्यवस्थित पार्क, फोरलेन सडक, पार्टी र अन्य कार्यका लागि सभाहल, पारिवारिक रूपमा बस्न पार्कलाई व्यवस्थापन गर्ने लक्ष्य राखेको छ । ‘घण्टाघरलाई आकर्षक र सुरक्षितस्थल बनाउन वीरेन्द्रनगर नगरपालिकाले विभिन्न प्याकेजमा काम गरिरहेको छ,’ नगरप्रमुख मोहनमाया ढकालले भनिन्, ‘नगरपालिकाले ग्रेटर घण्टाघर बनाउन आर्थिक वर्ष २०७८÷०७९ देखि काम आरम्भ गरेको हो ।’

घण्टाघर पार्कभित्र पनि आकर्षक संरचना बनाइने छ । पश्चिमतर्फको खाली भागमा खुल्ला पार्क बनायएको छ । त्यसबाहेकका अन्य काम पनि धमाधम भइरहेको नगरपालिकाका इन्जिनियर रचिता शाहीले बताइन् । नेकपा (एमाले) सुर्खेतको पार्टी कार्यालयदेखि उत्तर–पूर्वमा यसअघि नगरपालिकाले खाली गराएको क्षेत्रमा मण्डलासहितको पार्क निर्माण गर्न लागिएको छ । घण्टाघर पार्कलाई नगरपालिकाले संरक्षण र पर्यटकीयस्थल बनाउने उद्देश्यले प्राथमिकतामा राखेर अघि बढाएको योजना आर्थिक वर्ष २०७९÷०८० मा घण्टाघरको पुरानो पर्खाल हटाएर नयाँ पर्खाल निर्माण गरिएको थियो । दुई चरणमा ठेक्का व्यवस्थापन गरेर निर्माण थालिएको घण्टाघरको उत्तर, पश्चिम र दक्षिणतर्फको काम ४० लाख ४७ हजार आठ सय १९ रूपैयाँ लागतमा अघिल्लो वर्ष सकिएको थियो । नगरपालिकाले विभिन्न आर्थिक वर्षमा ‘ग्रेटर घण्टाघर’ बनाउन बजेट विनियोजन गर्ने गरेको छ ।

घण्टाघर पार्कभित्र पब्लिक प्लाजा, विमोचनस्थल, योगा क्षेत्र, बाल उद्यान लगायतका संरचना निर्माण गर्न लागिएको छ । घण्टाघरदेखि पश्चिममा रहेको खुला स्थानमा हाल नगरपालिकाले खुला पार्क बनाइसकेको छ । सबै नागरिक सहज रूपमा प्रवेश गरेर बस्न मिल्ने बेञ्च र खुला रूपमा सार्वजनिक कार्यक्रम गर्न मिल्नेगरी संरचना निर्माण गरेको छ । खुला पार्क निर्माणमा ९६ लाख बजेट खर्च भएको नगरपालिकाले जनाएको छ । खुला पार्कमा एउटै थलोमा देउडा, मनोरञ्जन कार्यक्रम, सम्मेलन, बहस र पैरवी गर्न सहज भएको छ । पार्कभित्र व्यापार क्षेत्र, घुमघाम क्षेत्र, मल्टिपल हल निर्माण गर्ने लक्ष्य राखिएको नगर प्रमुख मोहनमाया ढकालले बताइन् । ‘खुला पार्कमा आकर्षक बत्ती र सीसीटिभी क्यामरा जडान गरेर सुरक्षितस्थल बनाइने लक्ष्य नगरपालिकाको छ,’ उनले भनिन्, ‘घण्टाघरदेखि नगरपालिका कार्यालय अगाडीसम्म फुटफाथलाई व्यवस्थित गर्न लागिएको छ ।’

चालु आर्थिक वर्षमा पार्क निर्माणका लागि नगरपालिकाले एक करोड २६ लाख बजेट विनियोजन गरेको छ । आवश्यकताका आधारमा संरचना निर्माण गरेर पार्कलाई व्यवस्थित गर्न लागिएको नगरपालिकाले जनाएको छ । घण्टाघर खुला पार्कमा अहिले विभिन्न पार्टीका सभा सम्मेलन हुने गरेका छन् । पार्कलाई थप व्यवस्थित गरेर सुविधासम्पन्न बनाउने योजना नगरपालिकाको छ । दैनिक सयौ नागरिकले घण्टाघरको अवलोकन गर्ने गरेका छन् । फोटो खिच्ने, टिकटक बनाउने, जन्मदिन मनाउने लगायतका उत्सवका काम हुनेगरेको छ । नागरिकको रोजाइमा परेको घण्टाघरलाई नगरपालिकाले थप व्यवस्थित गर्न लागेको जनाएको छ । शौचालय, बगैचा, गार्ड हाउस, टिकट काउन्टरसमेत निर्माण गरिरहेको छ । सबै व्यवस्थित गरेर शूल्क निर्धारण गरी पार्क सञ्चालन गरिने जनाइएको छ ।

नगरपालिकाले २०८२ असार १९ गते एस.के.एस बील्डर्स एण्ड अडर सप्लायर्स कालीकोटसँग ठेक्का सम्झौता गरेर पार्क निर्माणको काम थालिएको थियो । २०८२ माघ २८ गतेसम्ममा पार्क निर्माणको काम सक्नेगरी सम्झौता भएको थियो । अहिले म्याद थप गरेर पार्क निर्माणको काम धमाधम अघि बढाइएको इन्जिनियर शाहीले जानकारी दिइन् ।

८९ लाख १३ हजारमा पार्क निर्माण गर्नेगरी नगरपालिकाले निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको हो । अहिले २०८३ असारसम्म सक्नेगरी काम अघि बढाइएको छ । पार्क निर्माणको ६० प्रतिशत काम सकिएको छ । अब ४० प्रतिशत काम बाँकी छ ।

प्रकाशित मितिः   २८ फाल्गुन २०८२, बिहीबार ११:४३