सरकारलाई धन्यवाद
अनेक शंका र संशयकाबीच प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको छ । बिहीवार देशभरका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा मतदान भएको छ । मतदानमा नागरिकहरूको उत्साहपूर्ण सहभागिता देखिएको छ । भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनपछि मुलुक कठिन अवस्थामा पुगेको थियो । एकातिर आन्दोलनले ध्वंशको रूप लिँदा राजनीतिक संकट मात्रै पैदा भएको थिएन, मुलुकको भविष्यलाई नै लिएर अनेक कठिनाइ देखा परेका थिए । दुईतिहाई हाराहारीको सरकार नै अपदस्थ हुनुपर्ने अवस्था कसैले कल्पना पनि गरेको थिएन । यस्तो अवस्थामा पूर्वप्रधानन्यायाधीश सुशीका कार्कीको नेतृत्वमा अन्तरिम नागरिक सरकार गठन भयो ।
आन्दोलनरत पक्षको मागअनुसार कार्की सरकारले संसद् विघटन ग¥यो र ६ महिनाभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने घोषणा ग¥यो । यो घोषणा गर्दा निर्धारित समयमा निर्वाचन हुनेमा धेरैले शंका गरेका थिए । राजनीतिक दलहरू नै चुनावलाई लिएर विश्वस्त थिएनन् । नागरिक तहमा पनि आशंकाहरू देखा परेका थिए । यस्तो अवस्थामा सरकारलाई निर्धारित समयमा निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यता थियो । किनभने मुलुकलाई लोकतन्त्रकै बाटोमा फर्काउनु थियो । बिहीवार सम्पन्न मतदानसँगै मुलुक एउटा संवैधानिक संकटबाट निस्किएर लोकतन्त्रकै बाटोमा फर्किएको छ । निर्वाचन लोकतान्त्रिक प्रक्रियाको आधार हो । फागुन २१ मा चुनाव गराउने जिम्मेवारी लिएर प्रधानमन्त्री बनेकी सुशीला कार्कीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकी छिन् । यो नागरिक सरकारको ठूलो सफलता हो । उनी सहज र सजिलो अवस्थामा देशको नेतृत्वमा पुगेकी होइनन् । जेन–जी विद्रोहको रापतापमा मुलुक अब कता जान्छ भन्ने अन्योलताकाबीच नेतृत्व हाक्न अघि सरेकी थिइन् । प्रधानन्यायाधीश बनेर न्यायालयको नेतृत्व गरिसकेको अनुभवले पनि उनलाई मुलुकको नेतृत्व गर्न सघाउ पुर्यायो । एक्कासी आइपरेको राजनीतिक र संवैधानिक संकटलाई निर्वाचन सम्पन्न गराएर तोकिएको ६ महिनामै पुनः संवैधानिक प्रक्रियाको बाटोमा प्रवेश गराउनुले प्रधानमन्त्री सुशीला कार्की र उनको सरकार धन्यवादको हकदार बनेको छ ।
मुलुक संकटमा परेका बेला यो सरकारले जुन भूमिका निर्वाह गर्यो त्यो अतुलनीय छ । त्यसमाथि चुनाव हुन नदिन वा सार्नका लागि भएका अनेक प्रयासलाई चिर्दै मुलुकलाई लोकतन्त्रको बाटोमा हिँडाउने कर्तव्य पूरा गरेकोमा कार्की सरकारलाई आम नागरिकले पनि धन्यवाद भन्नपर्छ । अब निर्वाचनको मतपरिणाम आएपछि प्रतिनिधिसभा ब्यूतनेछ । त्यसले नयाँ सरकार बनाउनेछ । र, मुलुकलाई सही दिशामा हिँडाउने बाँकी जिम्मेवारी नयाँ सरकारको हुनेछ । नयाँ जनादेशबाट आएको सरकारको जिम्मेवारी मुलुकलाई विकास र समृद्धिको बाटोमा हिँडाउनु हुनेछ । सुशासनको प्रत्याभूति दिलाउनुपर्नेछ । सुशासनको माग गर्दै नागरिकहरू फेरि सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेछ ।
प्रकाशित मितिः २२ फाल्गुन २०८२, शुक्रबार ०५:०३
सम्पादकीय ।