कर्णालीमा शान्तिपूर्ण मतदान

५५ प्रतिशत मत खस्यो, शुक्रवारदेखि मतगणना

सुर्खेत: कर्णाली प्रदेशका दशवटै जिल्लामा शान्तिपूर्णरूपमा मतदान भएको छ । बिहीवार भएको मतदानमा कर्णालीका ५५ प्रतिशतभन्दा बढी मतदाताले सहभागिता जनाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार अस्थायी मतदातासहित १० लाख ४८ हजार एक सय ३८ जना मतदाता रहेकोमा पाँच लाख ७७ हजार पाँच सय ८२ जनाले मतदान गरेका छन् । तीन लाख १२ हजार आठ सय ४५ जना महिला र दुई लाख ६४ हजार सात सय ९५ जना पुरुषले मतदान गरेका छन् ।

प्रतिनिधिसभाका दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतको क्षेत्र नं. १ मा ७० हजार एक सय ६७ र क्षेत्र नं. २ मा ७३ हजार तीन सय ५६ जनाले मतदान गरेका छन् । त्यसैगरी दैलेखको निर्वाचन क्षेत्र नं. १ मा ४१ हजार ६९ तथा क्षेत्र नं. २ मा ३९ हजार तीन सय २१ जनाले मतदान गरेका हुन् ।

सल्यानमा ५२ प्रतिशत मत खसेको छ । जिल्लाका दुई सय आठ मतदान केन्द्रमा झन्डै ५२ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले जानकारी गराए । प्रतिनिधिसभाको लागि एक मात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा एक लाख ६२ हजार चार सय ४९ जना मतदाता रहेका छन् । जसमध्ये ८४ हजारले मतदान गरेका छन् ।

यस्तै जाजरकोटका सबै स्थानमा निर्धारित समयमै शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । जिल्लाभर एक अस्थायीसहित ८९ मतदानस्थलका एक सय ४७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो । मतदानका क्रममा कुनै पनि ठूलो अवाञ्छित घटना नभएको र सुरक्षा व्यवस्था प्रभावकारी रहेको जिल्ला प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

जाजरकोटमा एक लाख सात हजार ९१ मतदाता रहेकोमा समानुपातिकसहित ६१ हजार ६ सय ६७ मत खसेको मुख्य निर्वाचन कार्यालयले जानकरी दिएको छ । जसमा पुरूष २९ हजार नौ सय ८१ महिला ३१ हजार ६ सय ८४ र अन्य २ गरी उक्त मत खसेको हो । कुल मतदाताको ५७.५८% मत खसेको कार्यालयले जनाएको छ ।

जुम्लामा ५३ दशमलव ९९ प्रतिशत मत खसेको छ । कुल ७१ हजार सात सय ३९ मतदाता रहेको जुम्लामा ३९ हजार एक सय १२ अर्थात ५३.९९ प्रतिशत मत खसेको हो । सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार जिल्लाको एक सय १० मतदान केन्द्रमा मतदान एकैसाथ सुरु भएको थियो । महिला २० हजार ४५ र पुरुष १९ हजार ६७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । ३२ हजार ६ सय २७ मतदाता निर्वाचनमा सहभागी भएनन् । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान कार्य सकिएको छ ।

डोल्पामा पनि शान्तिपूर्ण रूपमा मतदान भएको छ । स्थायी र अस्थायी गरेर कुल ७० वटा मतदान केन्द्र भएको डोल्पामा स्वच्छ, मर्यादित एवम् शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । डोल्पामा कुल ६६.१६ प्रतिशत मत खसेको छ । १५ हजार नौ सय ५६ मत खसेको कार्यालयले जनाएको छ । कुल मतदाता २४ हजार एक सय १५ रहेको डोल्पामा आठ हजार एक सय ५९ मत भने खसेन ।

हुम्लामा २२ हजार तीन सय २८ अर्थात् कुल मतदाताको ६४.९५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार कुल खसेको मतमध्ये महिला १० हजार नौ सय ८९ र पुरुष ११ हजार तीन सय ३९ रहेका छन् । हुम्लामा ३४ हजार तीन सय ७२ मतदाता छन् ।

रूकुम–पश्चिममा ५९ प्रतिशत मात्रै मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार एक लाख ६ हजार ६ सय ६० कुल मतदाता संख्या रहेकोमा ६२ हजार नौ सय ६८ मत मात्रै खसेको हो । जसमा २८ हजार तीन सय ६४ पुरुष मतदाता ३४ हजार ६ सय चार जना महिला मतदाता रहेका छन् । यसैगरी मुगुमा ६० प्रतिशत अर्थात् २२ हजार एक सय ६८ जनाले मतदात गरेका छन् भने कालीकोटमा ५० प्रतिशत अर्थात् ४२ हजार पाँच सय २३ जनाले मतदान गरेका छन् ।

 

देशभर ६० प्रतिशत मतदान

छिटपुट घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान बिहीवार देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो ।

आयोगका अनुसार कुनै पनि मतदान केन्द्रको मतदान औपचारिक रूपमा स्थगनको घोषणा भएको छैन । दोलखा, सर्लाही र रौतहटमा केही विवाद देखिए पनि समाधान गरेर मतदान गरिएको छ । देशभरबाट ६० प्रतिशत मत खसेको जानकारी निर्वाचन आयोगले दिएको छ ।

मतदान सकिएसँगै बिहीवार नै निर्वाचन स्थलहरूबाट मतपेटिकाहरू संकलन सुरु गरिएको छ । कतिपय क्षेत्रमा बिहीवार रातिबाटै मतगणना पनि सुरु भएको छ भने बाँकी स्थानहरूमा शुक्रवार बिहानबाट गणना सुरु हुने आयोगले जनाएको छ ।

देशभरबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, तीन सय ८८ महिला र एक अन्य गरी तीन हजार चार सय ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार तीन सय ६३ पुरुष र एक हजार सात सय ७२ महिला गरी तीन हजार एक सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ एक सय १० स्थानका लागि निर्वाचन भएको हो ।

निर्वाचनमा ९६ लाख ६३ हजार तीन सय ५८ जना पुरुष, ९२ लाख ४० हजार एक सय ३१ जना महिला र दुई सयजना अन्य गरी एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदातामध्ये ६० प्रतिशतले मतदान गरेका हुन् ।

प्रकाशित मितिः   २२ फाल्गुन २०८२, शुक्रबार ०५:०५