हेलिकप्टरबाट मतपेटिका ढुवानी

सुर्खेत: कर्णाली प्रदेशको हिमाली जिल्लाहरूमा मतपेटिका संकलनका लागि हेलिकप्टर प्रयोग गरिने भएको छ । हुम्ला, मुगु, डोल्पा र रूकुम पश्चिमका विभिन्न मतदानस्थलका मतपेटिका नेपाली सेनाको हेलिकप्टरद्वारा सदरमुकाम ल्याइने भएको हो ।
बिहीवार मतदान सम्पन्न भएपछि सहज यातायातको व्यवस्था नभएका मतदानस्थलबाट शुक्रवार हेलिकप्टरमार्फत मतपेटिका संकलन गरिने छ । सदरमुकाममै ल्याएर मतगणना गर्नुपर्ने भएकाले शुक्रवारबाट मात्रै गणना गरिने भएको हो । नेपाली सेनाको हेलिकप्टरद्वारा मतपेटिका शुक्रवार सदरमुकाम ल्याइनेछ । त्यसपछि मात्रै गणना हुनेछ ।
डोल्पाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाका २३ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ । भौगोलिक रूपमा विकट उपल्लो डोल्पामा मतपेटिका सुरक्षित रूपमा ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने भएको हो । प्रमुख जिल्ला अधिकारी जुनु हमालले हेलिकप्टर आइपुगेको भन्दै शुक्रवार बिहानैदेखि उपल्लो डोल्पाका सबै मतदान केन्द्रका मतपेटिका ढुवानी सुरु गरिने जानकारी दिइन् ।
स्थायी र अस्थायी गरेर कुल ७० वटा मतदान केन्द्र भएको डोल्पामा स्वच्छ, मर्यादित एवम् शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका अनुसार डोल्पामा कुल ६६.१६ प्रतिशत मत खसेको छ । १५ हजार नौ सय ५६ मत खसेको कार्यालयले जनाएको छ । कुल मतदाता २४ हजार एक सय १५ रहेको डोल्पामा आठ हजार एक सय ५९ मत भने खसेन ।
प्रकाशित मितिः २२ फाल्गुन २०८२, शुक्रबार ०५:०१
साझा बिसौनी ।