ऐतिहासिक दिनको पर्खाइ

प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत फागुन २१ गते देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । जहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरेर प्रत्यक्षतर्फ कूल तीन हजार चार सय पाँच जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनेछन् । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दै छन् । तीन हजार १७ जना पुरुष छन् भने तीन सय ८८ जना महिला र एक अन्य गरी तीन हजार चार सय पाँच जना उम्मेदवार छन् । त्यसैगरी समानुपातिकतर्फ मुलुकलाई नै एउटा निर्वाचन क्षेत्र मानेर एक सय १० जनाका लागि चुनाव हुँदैछ । यो चुनावले प्रत्यक्ष र समानुपातिकसहित कूल दुई सय ७५ जना सांसद चयन गर्नेछ ।

यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार तीन सय ५८ जना पुरुष, ९२ लाख ४० हजार एक सय ३१ जना महिला र दुई सय जना अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६ सय ८९ जना मतदाता छन् । निर्वाचनका लागि देशभर १० हजार नौ सय ६७ मतदान स्थलमा २३ हजार एक सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ । एक सय ४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार सात सय २७ नेपाली सेना, ७५ हजार सात सय ९७ नेपाल प्रहरी, ३४ हजार पाँच सय ६७ सशस्त्र प्रहरी बल, एक हजार नौ सय २१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् । दुई लाख १५ हजार कर्मचारी निर्वाचनमा खटिँदै छन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कूल चार करोड २२ लाख ५१ हजार दुई सय मतपत्र छपाइ गरिसकेको छ ।

फागुन २१ गते बिहान ७ बजेदेखि हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । भयरहित वातावरणमा चुनाव गराउन सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । सोमवार मध्यरातदेखि मौन अवधि सुरु भइसकेको छ । यो अवधिमा कुनै पनि प्रकारको चुनावी प्रचार प्रसार गर्न पाइदैन । मतदानअघि यो निर्वाचनको नतिजा कस्तो आउला भन्ने चासो सर्वत्र देखिएको छ । यो नियमित निर्वाचन नभएर अघिल्लो निर्वाचनको कार्यकाल नसकिदै संसद् विघटन भएपछि हुन लागेको निर्वाचन हो । गत भदौ २७ र २८ गते भएको जेन–जी आन्दोलनपछि बनेको अन्तरिम नागरिक सरकारले संसद् विघटन गरेर फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेको थियो । त्यसैले नियमित प्रक्रियाअनुसार २०८४ मा हुने चुनाव २०८२ मा हुँदैछ ।

प्रकाशित मितिः   २० फाल्गुन २०८२, बुधबार १०:२४