मतदानका लागि तयारी पूरा

सबै मतदानस्थलमा पुगे निर्वाचन सामग्री र कर्मचारी | सर्वदलीय बैठक  | भयरहित निर्वाचन गराउने प्रतिबद्धता

सुर्खेत: प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोली (बिहीवार) मतदान हुँदैछ । कर्णाली प्रदेशका सबै जिल्लाहरूमा मतदानका लागि तयारी पूरा भएको छ । मंगलवारसम्म सबै मतदानस्थलहरूमा निर्वाचन सामग्री पनि पुगिसकेको छ ।

प्रदेशका सबै मतदानस्थलमा निर्वाचन सामग्री र कर्मचारीहरू पुगिसकेको कर्णाली प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरूङले दिएको जानकारी अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृतसँगै अन्य कर्माचारी र सुरक्षाकर्मीहरू निर्वाचनको सामान लिएर आ–आफ्नो केन्द्रमा पुगिसकेका छन् ।

कार्यालयले निर्वाचन गराउन प्रत्यक मतदानस्थलमा ५१ प्रकारका सामग्रीहरू पठाएको छ । निर्वाचनमा खटिने कर्मचारीहरूले मतपत्र, मतपेटिका, स्वस्तिक छाप, स्ट्याम्प प्याड, रङ, डोरी, स्टेप्लर, लाहा, सिल गर्ने डोरीलगायतका ५१ प्रकारका सामग्रीहरू लिएर मतदास्थल गएका हुन् ।

आइतवार नै मतदान अधिकृतको टोलीले सबै सामान रुजु गरेका थिए । सोमवार बिहानदेखि सामग्रीहरू बुझेर कार्यक्षेत्रमा प्रस्थान गरेका हुन् । अधिकांश क्षेत्रमा सोमवार नै मनदानस्थलमा पुगिसकेका थिए, बाँकी मतदानस्थलहरूमा मंगलवार पुगेका छन् ।

कर्णालीका दुर्गम हिमाली क्षेत्रमा हेलिकोप्टरबाट मतदान सामग्री र कर्मचारीहरू पु¥याइएको छ । विशेष गरेर हुम्ला, डोल्पा र मुगुका उच्च हिमाली क्षेत्रमा स्थलमार्गबाट जान सम्भव नभएपछि हेलिकप्टर प्रयोग गरेर सामग्रीसहित कर्मचारी पनि पु¥याइएको छ । हिमपातले सडक अवरुद्ध भएपछि मतदान स्थलमा नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचन सामग्रीहरू र कर्मचारी पुर्‍याइएको हो ।

हिमपातले सडक अवरुद्ध बनेका हुम्लाका न्यालु लेक र नारा लेकमा आउजाउ बन्द भएपछि हेलिकप्टरबाट निर्वाचन सामग्री र कर्मचारीलाई पुर्‍याउनु परेको हो । त्यसैगरी नाम्खा गाउँपालिकाको हिमशिखर आधारभूत विद्यालय तिल, हिमाल आधारभूत विद्यालय चाला, भृकुटी आधारभूत विद्यालय जाङ्ग र सुनखानी आधारभूत विद्यालय हल्जीमा रहेका मतदानस्थलमा निर्वाचन सामग्री र कर्मचारी पु¥याइएको छ । हुम्लाका आठ मतदान केन्द्र, डोल्पाका २० मतदान केन्द्र र मुगुका तीन मतदान केन्द्रमा मतदान सामग्री र कर्मचारीहरूलाई हेलिकोप्टरबाट पठाइएको हो ।

आ–आफ्नो मतदान केन्द्रमा पुगेका कर्मचारीहरूले मतदानका लागि तयारी पनि अघि बढाइसकेका छन् । मंगलवार नै सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूसँग सर्वदलीय बैठक भएका छन् । निर्वाचनलाई भयरहित बनाउने र आचारसंहिताको पूर्ण पालनाको प्रतिबद्धता पनि गराइएको छ ।

१० वटा जिल्ला रहेको कर्णाली प्रदेशमा १२ वटा निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा प्रतिनिधिसभाका लागि दुई÷दुई वटा क्षेत्र छन् भने अन्य आठ वटा जिल्लामा एक/एक क्षेत्र छन् ।

प्रदेशभर नौ सय ४१ मतदान स्थलअन्तर्गत एक हजार चार सय ३७ मतदान केन्द्र छन्‌ । कूल मतदाता संख्या १० लाख ३७ हजार दुई सय ५० रहेको छ । जसले फागुन २१ गते मतदानमार्फत आफ्ना प्रतिनिधि चयन गर्नेछन् ।

यसैबीच निर्वाचनका लागि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ स्थित हिल्सा नाका बन्द भएको छ । निर्वाचनलाई लक्षित गरी चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाका आउजाउ बन्द गरिएको छ ।

सोमवारदेखि नै उत्तरी नाम्खा गाउँपालिका–५ स्थित हिल्सा नाका बन्द भएको जिल्ला प्रहरी कार्यालय हुम्ला जनाएको छ । निर्वाचनको मत परिमाण नआउञ्जेल हिल्सा नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खड्काले जानकारी दिए ।

सोमवार मध्यरातदेखि मौन अवधि पनि लागू भइसकेको छ । मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइँदैन । आचारसंहिताले यो अवधिमा कुनै पनि प्रकारले मत माग्न, पोस्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँड्डूललगायतका क्रियाकलाप गर्न रोक लगाएको छ । उल्लघंन गरेमा कारबाही हुने व्यवस्था छ ।

यदी मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजी मात्रै नभइ ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने गरी कारबाही हुन सक्दछ । निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने आयोगले स्पष्ट पारेको छ । मौन अवधिले स्वच्छ र स्वतन्त्र वातावरणमा विवकेपूर्ण ढङ्गले मतदान गर्न मतदातालाई अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । निर्वाचन व्यवस्थापन गर्ने निकायलाई सबै किसिमको बन्दोबस्त गरेर शान्ति, सुरक्षा र सुव्यवस्थासहित भयसहित वातावरणमा निर्वाचन गर्न मौन अवधि महŒवपूर्ण रहन्छ ।

प्रकाशित मितिः   २० फाल्गुन २०८२, बुधबार १०:२६