नागरिक दायित्व

प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन अब एक साताभन्दा पनि कम समय बाँकी छ । जेन–जी आन्दोलनपछि जब पूर्वप्रधानान्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम नागरिक सरकार बन्यो, त्यतिबेला मुलुक अन्योलपूर्ण अवस्थामा थियो । अब के हुन्छ भन्ने अन्योलताले सबैमा एककिसिमको डर पैदा गराएको थियो । त्यसमाथि संसद् विघटन र ६ महिनाभित्र नयाँ चुनावको घोषणा सहज थिएन । यद्यपि, अन्तरिम सरकारले चुनावलाई नै आफ्नो मुख्य प्राथमिकता बनाएर तयारीका काम अघि बढायो । अनेक शंका र संशयकैबीच मतदान हुन अब केही दिन मात्रै बाँकी छ । अब निर्वाचनलाई लिएर धेरै शंका गर्नुपर्ने ठाउँ छैन । सुरुवातमा शंका गरिरहेका र चुनाव हुनै सक्दैन भनिरहेका राजनीतिक दलहरू नै अहिले चुनावमा केन्द्रित भइसकेका छन् ।

निर्वाचनबाट मुलुकले नयाँ जनादेश पाउँछ । नागरिकले आफ्नो मतमार्फत प्रतिनिधिसभाका सदस्य छान्छन् । जसले नयाँ सरकार बनाउँछन् र आवश्यक ऐन–कानुन निर्माण गर्दछन् । अहिलेको राजनीतिक संकटले पार पाउँछ । मुलुक संवैधानिक प्रक्रियाबाट अघि बढ्छ । अहिलेको अन्योलता चिर्न तोकिएको समयमा निर्वाचन हुनु अपरिहार्य छ । अब निर्वाचन हुने कुरामा शंका रहेन । तर निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने चुनौती भने बाँकी नै छ । निर्वाचन सुरक्षालाई लिएर अझै पनि केही शंका व्यक्त भइरहेका छन् । खास गरेर जेन–जी आन्दोलनका क्रममा प्रहरीको मनोबल गिर्ने गरी भएका आक्रमणले शान्ति सुरक्षा कायम गर्ने भूमिकामा प्रहरी कति सक्षम रहन्छ भन्ने प्रश्न उठिरहेको छ । तर सम्बन्धित सुरक्षा निकाय र सरकारले पनि पूर्णरूपमा सुरक्षित वातावरणमा चुनाव गराउन तयार रहेको प्रतिबद्धता जनाइरहेका छन् । शान्ति सुरक्षाको वातावरण नबनेसम्म सबै नागरिक मतदानमा सहभागी हुने अवस्था बन्दैन । अधिकतम नागरिकको सहभागिताविना निर्वाचन सफल हुन सक्दैन । आमजनताको समर्थन वा सहभागिताविना कुनै पनि निर्वाचनले अपेक्षित परिणाम दिनै सक्दैन । त्यसैले जतिसक्दो धेरै नागरिक मतदानमा सहभागी हुने वातावरण निर्माण गर्नुपर्नेछ ।

लोकतन्त्र संस्थागत गर्ने मुख्य आधार नै निर्वाचन हो । यो नागरिकमा रहेको सार्वभौम अधिकार अभिव्यक्त गर्ने माध्यम हो । नागरिकहरूले आफ्नो मताधिकारको प्रयोग गरी आफूले चुनेको प्रतिनिधिद्वारा शासित हुन पाउने अधिकारको सुनिश्चितता नै लोकतन्त्र हो । त्यसैले पनि अहिलेको परिस्थितिमा निर्वाचन गराउनु जति महङ्खवपूर्ण छ, भयरहित वातावरण निर्माण गरेर अधिकतम नागरिकलाई मतदानमा सहभागी गराउनु उत्तिकै महङ्खवपूर्ण छ । यसका लागि सरकारले आफ्नोतर्फबाट सुरक्षित वातावरण निर्माणमा ध्यान दिनुपर्दछ भने राजनीतिक दलहरूले पनि सरकारलाई सहयोग गर्नुपर्दछ । यसमा नागरिकको दायित्व पनि रहन्छ ।

प्रकाशित मितिः   १७ फाल्गुन २०८२, आईतवार ०५:०३