उम्मेदवारका ५ एजेन्डा

सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट नेपाल मजदुर किसान पार्टीले गजबहादुर खप्तडी मगरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । ‘उम्मेदवारका पाँच एजेन्डा’ श्रृंखलाअन्तर्गत हामीले उनलाई विभिन्न पाँचवटा विषयमा केन्द्रित योजना र प्राथमिकता के छन् भनेर सोधका छौँ । प्रस्तुत छ, मगरको जवाफ जस्ताको त्यस्तैः


 

 

 

  • पूर्वाधार विकासमा तपाईंको एजेन्डा र प्राथमिकता के–के हुन् ?

सडक पूर्वाधारलाई मैले प्राथमिकतामा राखेको छु । अझै पनि ग्रामीण भेगमा सडक पुगिसकेको छैन । आवश्यकता हेरेर सडक निर्माण गर्ने योजना मैले निर्माण गरेको छु । राजमार्ग अन्तर्गतका सहायक सडक निर्माणको काम पनि अगाडि बढाउनेछु । मोटेरेवल पुल निर्माणको काम गर्नेछु । विद्युतीकरणको योजनालाई पनि प्राथमिकतामा राखेको छु । अहिलेसम्म पनि कतिपय बस्तीमा नागरिकहरू अंध्यारोमा बस्न बाध्य छन् । कृषि क्षेत्रमा पनि यान्त्रिकीकरणको योजना बनाएको छु ।

पूर्वी सुर्खेत सम्भावना नै सम्भावनको खानी भएको क्षेत्र हो । देखिएका समस्या पहिचान गरेर काम गर्नेछु । शैक्षिक तथा स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणमा पनि ध्यान दिनेछु ।

 

  • शिक्षा र स्वास्थ्यको क्षेत्रमा के–के गर्नुहुन्छ ?

शैक्षिक गुणस्तर वृद्धिका लागि नीति निर्माणमा पहल गर्नेछु । निःशुल्क र गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि सहज नीति निर्माणका लागि आवाज उठाउनेछु । दरबन्दी मिलानदेखि विद्यालय समायोजनाको योजना कार्यान्वयनमा पहल रहनेछ । बालबालिकाको सिकाइ अभिवृद्धिका लागि पोषणा सुधारको कामसमेत गर्नेछु ।

स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन् । नीतिगत व्यवस्था गरेर ती समस्या समाधान गर्नु नै मेरो ध्यान हुनेछ । स्वास्थ्य क्षेत्रमा देखिएको कर्मचारी अभाव र औषधीको अभावलगायतका समस्यालाई समाधान गर्नेछु ।

 

  • रोजगारी र आर्थिक अवसर सिर्जनाका लागि कस्ता योजना बनाउनुभएको छ ?

ठूला उद्योग स्थापना गर्न मेरो विशेष पहल रहनेछ । कृषि क्षेत्रलाई थप व्यवस्थित बनाउँदै प्रविधिमा जोड दिने योजना बनाएको छु । कृषि क्षेत्रले रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने भएकाले यसको विकास र विस्तार गर्नुपर्ने हुन्छ ।

साना तथा मझौला उद्योग स्थापनामा राज्यले विशेष नीति बनाउनुपने हुन्छ, त्यसमा मेरो जोड हुनेछ । महिला उद्यमी तथा युवा उद्यमी प्रोत्साहनका कार्यक्रम कार्यान्वयन गर्नेछु । लक्षित वर्ग विशेश कार्यक्रम कार्यान्वयन गर्नेछु । जसको माध्यमबाट स्थानीयस्तरमा रोजगारीको सिर्जना हुनेछ । आमनागरिकको अनुकूल रहनेगरी उद्यम विकासका क्षेत्र विस्तार गर्ने, ठूला उद्योग स्थापनाका क्षेत्र पहिचान गरेर सञ्चालनका लागि पहल गर्नेछु ।

 

  • सार्वजनिक सेवा सुधार र सुशासनका लागि तपाईंको भूमिका के रहन्छ ?

भष्ट्राचार न्यूनीकरण गर्नु मेरो पहिलो काम हुनेछ । नीतिगत भष्ट्राचार न्यूनीकरण गर्न प्रशासनिक सेवा सुधारको योजना बनाएको छु । नागरिकमूखि कार्यक्रम कार्यान्वयन गर्नेछु । सार्वजनिक सेवालाई अझै पारदर्शी बनाउन डिजिटल प्रणाली विकासमा योगदान दिनेछु ।

 

  • नागरिक जीवनस्तर सुधारका लागि राज्यले गर्नैपर्ने मुख्य कामहरू के–के हुन् ?

शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीका क्षेत्रमा प्रभावकारी काम गर्नुपर्छ । जनताको हितमा हुनेगरी काम गर्नुपर्छ । जनतालाई रोजगारीको ग्यारेन्टी हुनेगरी नीति निर्माणको योजना बनाउनुपर्छ । भूगोल अनुसारको नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्ने हुन्छ ।

प्रकाशित मितिः   १७ फाल्गुन २०८२, आईतवार ११:४५