कर्णालीमा निर्वाचनः सल्यानमा त्रिपक्षीय प्रतिस्पर्धा

 

सुर्खेत: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सल्यानमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कम्युनिष्ट पार्टी, नेकपा (एमाले) र नेपाली कांग्रेसलाई प्रमुख प्रतिस्पर्धी मानिएको छ । यद्यपि, सल्यानमा पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो प्रभाव बढाएको छ ।

विगतका चुनावी नतिजा हेर्ने हो भने सल्यान कम्युनिष्ट गढ मानिने जिल्ला हो । २०६० को दशकअघि यहाँ एमाले बलियो मानिन्थ्यो । २०६४ पछि तत्कालीन माओवादीले बर्चश्व बनायो । नेपाली कांग्रेस सांगठनिक रूपमा कमजोर त छैन, तर चुनावी नतिजामा भने पछि पर्ने गरेको छ ।

पछिल्लो पटक भएका दुवै निर्वाचनमा प्रमुख दलहरूबीच नै गठबन्धन हुँदा नतिजा पनि गठबन्धन गर्नेकै पक्षमा गयो । तर यसपटक दलहरूबीच चुनावी गठबन्धन छैन । त्यसैले सल्यानको मुख्य राजनीतिक शक्ति को बन्छ भन्ने टुँगो निर्वाचनको नतिजाले लगाउनेछ ।

पछिल्लो पटक २०७९ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सल्यानबाट प्रकाश ज्वाला निर्वाचित भएका थिए । एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीका उम्मेदवार ज्वालालाई कांग्रेस र माओवादीसहितको गठबन्धनको साथ थियो । जसले गर्दा उनले सहजै जित हात पारे ।

ज्वालाले ३५ हजार सात सय सात मत पाएका थिए । उनको निकटम प्रतिस्पर्धामा थिए स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाह । कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएर १९ हजार सात सय ९२ मत पाएका थिए । एमाले भने तेस्रो भयो । एमालेले उक्त चुनावमा राप्रपाका नेता राजेन्द्रवीर रायलाई पार्टी प्रवेश गराएर चुनाव लडाएको थियो । तर रायले १३ हजार ३९ मत मात्रै पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका पवनराज देवकोटाले तीन हजार ६ सय ९५ मत पाएका थिए ।

अघिल्लो पटक चुनाव जितेका ज्वाला यसपटक उम्मेदवार छैनन् । नेपाली कम्युनिष्ट पार्टीले उनको स्थानमा रमेशकुमार मल्ललाई उम्मेदवार बनाएको छ । उनी पहिलो पटक संसदीय चुनावमा उम्मेदवार बनेका छन् ।

सल्यानमा यसपटक पनि नेकपा बलियो अवस्थामा छ । विगतमा माओवादी केन्द्र पनि बलियो थियो । त्यसमाथि अहिले माओवादीसँग एकीकृत समाजवादीसहितको एकीकरणले थप बलियो बनाएको छ । २०७९ को समानुपातिक मत हेर्दा माओवादी केन्द्रले २१ हजार तीन सय २५ मत पाएको थियो । अहिले माओवादीसँग एकता गरेको समाजवादीले त्यतिबेला पाँच हजार नौ सय ७० मत पाएको थियो । उनीहरू दुवैको मत जोड्दा अघिल्लो पटक समानुपातिकमा पहिलो भएको एमालेले पाएको भन्दा बढी हुन्छ । यसलाई नै नेकपाले आफ्नो जितको आधार मानेको देखिन्छ ।

यसैगरी एमालेबाट पार्टीका प्रदेश अध्यक्ष गुलावजंग शाह उम्मेदवार बनेका छन् । उनी २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए भने २०७९ मा पराजित भए । यसपटक एमालेले उनलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

सांगठनिक रूपमा एमाले अहिले पनि कमजोर भने छैन । २०७९ कै समानुपातिक मत हेर्ने हो भने सल्यानबाट सबैभन्दा धेरै मत एमालेले नै पाएको थियो । एमालेले समानुपातिकमा २२ हजार दुई सय ५६ मत पाएको थियो । जबकी सोही चुनावमा प्रत्यक्षतर्फ एमाले उम्मेदवार राजेन्द्रवीर रायले १३ हजार मत मात्रै पाएका थिए ।

नेपाली कांग्रेसबाट केशबहादुर विष्ट उम्मेदवार छन् । उनी जिल्ला समन्वय समितिका पूर्वप्रमुख हुन् । विष्ट पहिलो पटक संसदीय चुनाव लड्दैछन् । कांग्रेसले सल्यानबाट संघीय चुनाव जित्न नसकेको निकै लामो समय भइसक्यो । २०५१ यता कांग्रेसले चुनाव जितेको छैन । २०७९ मा समाजवादीलाई सघाएको कांग्रेस यसपटक आफै जित निकाल्ने योजनामा छ । गत चुनावमा समानुपातिकतर्फ कांग्रेस तेस्रो भएको थियो । उसले १९ हजार नौ सय ६६ मत पाउँदा दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले २१ हजार तीन सय २५ मत पाएको थियो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललित कुमार चन्द, राप्रपाबाट अनिशा नेपाली लगायत १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यद्यपि, अघिल्लो चुनावको नतिजा र मतदातामाझ भइरहेको चर्चा हेर्ने हो भने तीन ठुला दलहरूबिच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

प्रकाशित मितिः   १७ फाल्गुन २०८२, आईतवार १२:०१